Comments Add Comment

गैंडाकोटमा विश्वविद्यालय स्थापना गर्न पहल

६, फागुन, चितवन । नवलपुरको गैंडाकोटमा विश्वविद्यालय स्थापनाका लागि पहल अघि बढाइएको छ ।

गैंडाकोट नगरपालिकाको नेतृत्वमा नगरपालिकाको वडा नः ३ र १८ मा पर्ने रतनपुर भन्ने स्थानमा विश्वविद्यालय स्थापनाको लागि सम्भाव्यता अध्ययन थालिएको छ ।

नगरपालिकाले विश्वविद्यालय स्थापनाका लागि शैक्षिक क्षेत्र एवम् पूर्वाधार क्षेत्रका विज्ञहरुसँग छलफलसमेत गरेको छ ।

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपतिसमेत रहेका प्रा. डा. केदारभक्त माथेमाले गैंडाकोटमा गुणस्तरीय शिक्षा प्रदान गर्ने विश्वविद्यालयको खाँचो रहेको बताए ।

युवाहरुलाई विश्वविद्यालयको पहुँचसम्म ल्याउनका लागि प्राविधिक जनशक्ति उत्पादन गर्ने विश्वविद्यालयको आवश्यकता रहेको डा. माथेमाको भनाइ छ ।

नेपालमा १६ देखि १७ प्रतिशत मात्रैं यूवा विश्वविद्यालय जाने गरेका छन् । १९ देखि २५ वर्षको उमेर समूहलाई विश्वविद्यालय जाने युवा उमेर भनिन्छ ।

‘दक्षिण कोरीयामा ७० देखि ८० प्रतिशत युवा विश्वविद्यालय जाने गरेका छन्, हाम्रोमा मुस्किलले १६ प्रतिशत पुग्छन्,व्यवहारीक र प्राविधिक जनशक्ति ठूलो संख्यामा उत्पादन गर्न यस्ता विश्वविद्यालय आवश्यक छ ।’ प्रा.डा. माथेमाले भने ।

नगरपालिकाले विश्वविद्यालय स्थापना र पहलका लागि डा. प्रमोद ढकालको संयोजकत्वमा ६ सदस्यीय एक कार्यदलसमेत गठन गरेको छ ।

नगरपालिकाका मेयर छत्रराज पौडेलले गैंडाकोट भौंगोलिक रुपमा र यातायातको सुगमताको हिसाबले विश्वविद्यालय स्थापनाका लागि उपयुक्त भएकाले नगरपालिकाले सक्रियतापूर्वक प्रकृया अघि बढाएको बताए ।

मेयर पौडेललका अनुसार स्थापना गर्न लागिएको विश्वविद्यालयमा विश्वका विभिन्न देशबाटसमेत प्राविधिक शिक्षा पढ्न विद्यार्थीहरु आउँछन् । ‘अहिलेको नेपालको शिक्षा देशकाल र आवश्यकता अनुसारको हुन सकेन’ मेयर पौडेलले भने, ‘अहिलेको शिक्षा र जनशक्तिबाट देशको विकास सम्भव छैन ।’

केन्द्र सरकार र प्रदेश सरकारले गर्नुपर्ने काम गरिदिए स्थानीय सरकारको तर्फबाट उच्च महत्वका साथ काम अघि बढाउने मेयर पौडेलेले बताए ।

नेपालमा पढ्ने उमेरको विद्यार्थी मध्ये जम्मा १५ प्रतिशतले मात्रैं प्राविधिक शिक्षा लिने रहेको विज्ञहरुले बताए ।

देशमा १५ प्रतिशतले प्राविधिक, ३० प्रतिशतले शिक्षा र ४० प्रतिशतले व्यवस्थापन विषय लिएर पढ्ने गरेको पाइएको छ ।

चीनमा ७० प्रतिशतभन्दा बढिले प्राविधिक शिक्षा पढ्ने गरेको विज्ञ केदारभक्त माथेमाले जानकारी दिए ।

नवलपुर क्षेत्र नः १ का सांसद एवम् कांग्रेस महामन्त्री शंशाक कोइरालाले गैंडाकोटमा विश्वविद्यालय स्थापनाका लागि नगरपालिकाले गरेको पहललाई सार्थकता प्रदान गर्न सहयोग गर्ने प्रतिवद्धता जनाए ।

नागरिक अगुवा एवम् पूर्वअर्थमन्त्री देवेन्द्रराज पाण्डेले नयाँ स्थापना गर्ने विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप मुक्त हुने बताए ।

पाण्डेकै भनाइलाई पूर्वअर्थसचिव रामेश्वर खनालले सर्मथन गर्दै समुदायसँग नजोडिएका कारणले जनताले विश्वविद्यालयप्रति अपनत्व अनुभव गर्न नपाएको बताए ।

अहिले भैरहेका विश्वविद्यालयभन्दा पृथक विश्वविद्यालय बनाउनुपर्ने खनालको सुझाव छ ।

डा. भगवान कोइराला, डा. चैतन्य मिश्र, डा. केदारभक्त माथेमा, डा. अर्जुन कार्कीसहितका नगरपालिकाका पदाधिकारीहरुले विश्वविद्यालयस्थापना गर्ने स्थानको अवलोकन भ्रमणसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment