Comments Add Comment

विदेशी कालो धनलाई सेतो बनाउने माध्यम बन्दै अष्ट्रेलियाको रियल स्टेट

७ फागुन, क्यानबरा । बिगत केही वर्षयता थुप्रै सम्मानित अन्तर्राष्ट्रिय निकायहरुले सम्पत्ति शुद्धीकरणविरुद्धको कानूनलाई रियल स्टेटमा कार्यान्वयन गर्न अष्ट्रेलिया असफल भएको भनेर खिसी गरिरहेका छन् । संघीय सरकारले एक दशक अगाडि नै यसको कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको थियो ।

उदाहरणका लागि सन् २०१५ मा पेरिसस्थित सम्पत्ति शुद्धीकरणको विश्वव्यापी नियमक निकाय फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)ले आफ्नो पारस्परिक मूल्यांकन प्रतिवेदन (एफएटीएफ) प्रकाशित गरेको थियो, जसमा कालो धन (विशेषत चीनका)का लागि अष्ट्रेलियन रियलस्टेट स्वर्ग जस्तै भएको उल्लेख थियो ।

गत वर्षको मार्चमा ट्रान्सपरेन्सी इन्टरनेसनलले अष्ट्रेलियालाई सबैभन्दा कमजोर सम्पत्ति शुद्धीकरण कानून भएको देशको रुपमा सूचीकृत गरेको थियो । १० वटै प्राथमिकताका क्षेत्रमा यो असफल भएको थियो । गत जूनमा एफएटिएफले अष्ट्रेलियालाई सम्पत्ति शुद्धीकरण र आतंकवादमाथि लगानीविरुद्ध कडा नीति अख्तियार गर्न नसकेको भनेर ‘वाच लिस्ट’ मा राखेको थियो ।

अहिले, ट्याक्स जस्टिस नेटवर्कले यसको ‘२०१८ का लागि वित्तीय गोपनीयता सूचक’ प्रकाशित गरेको छ, जसले हाउजिङ बजारमा अन्तर्राष्ट्रिय कालोधनको बहाबलाई रोक्न असफल भएको भनेर अष्ट्रेलियाको खिल्ली उडाइएको छ ।

रियल स्टेटलाई पनि समेट्ने गरी सम्पत्ति शुद्धीकरण विरुद्धको विधेयकको दोस्रो अंश कार्यान्वयन गर्ने विषयमा क्यानबेरामा एक दशकदेखि बहस भइरहेको छ । रियल स्टेट व्यवसायी, कानून व्यवसायी लेखापाल र अन्य रियल स्टेटसँग जोडिएका व्यक्तिहरुलाई अहिलेको सम्पत्ति शुद्धीकरणविरुद्धको कानूनले छुँदैन । यसबाट विदेशी खरिदकर्ताहरुलाई आफ्नो कालो धन अष्ट्रेलियन घर-जग्गामा लगानी गर्न सजिलो भएको छ ।

अष्ट्रेलियन सरकारले अहिले फेरि सम्पत्ति शुद्धीकरणविरुद्धको कानूनको दोस्रो अंश कार्यान्वयन गर्ने विषयमा परामर्श थालेको छ, र  गत वर्षको अन्त्यसम्ममा नयाँ कानूनलाई अन्तिम रुप दिइसक्ने भनिएको थियो । यद्यपि, सरकारले यसअघि सन् २००८, २०१०, २०१२ र २०१४ का लागि तोकेको समयसीमा असफल भएको थियो, र, यो फेरि एकपटक असफल भएको छ ।

एक दशकअघि नै सम्पत्ति शुद्धीकरण विरुद्धको कानूनको दोस्रो अंश पारित गर्न चुकेर अष्ट्रेलियन सरकारले देशभित्र ओइरिइरहेको विदेशी कालो धनप्रति मौनता धारण गरेको छ र युवा अष्ट्रेलियनहरुको हातबाट घरजग्गा खोसिरहेको छ ।

हालै सार्वजनिक गरिएको वित्तीय गोपनीयता सूचकमा अष्ट्रेलिया सम्भावित १०० स्कोरमध्ये ५१ स्कोरका साथ तल्लो मध्यक्रममा रहेको थियो । कम स्कोरका बाबजुद केही घटनाहरुले देखाउँछन् कि अष्ट्रेलियामा देशबाहिरबाट उल्लेखनीय परिमाणमा कालोधन भित्रिइरहेको छ ।

गत जून २०१५ मा ‘ग्लोबल विटनेस’ ले केही सञ्चारमाध्यमको सहकार्यमा अष्ट्रेलियन कानुून व्यवसायीहरुले कसरी पपुवा न्यूगिनीबाट आएको पैसाको शुद्धीकरण र घुसखोरीलाई सहजीकरण गरेका थिए भनेर खुलासा गरेको थियो । यसैगरी २०१५ कै जुलाईमा अष्ट्रेलियन घरजग्गा खरिदमार्फत सम्पत्ति शुद्धीकरणमा कसरी मलेसियाका वरिष्ठ सरकारी अधिकारी र व्यापारीहरु संलग्न भए भनेर मिडियाले समाचार सम्प्रेषण गरेका थिए ।

सुडानको जनमुक्ति सेना (एसपीएलए) को चिफ अफ स्टाफका रुपमा २००९ मे देखि १०१४ अपि्रलसम्म काम गरेका जनरल जेम्स होथ माई गोउथका छोराले मेलबर्नमा १५ करोड डलरको घरजग्गा खरिद गरेको सन् २०१६ को सेप्टेम्बरमा खुलासा भएको थियो, जबकि जनरल होथको तलब कहिल्यै पनि प्रतिवर्ष ४५ हजार डलरभन्दा बढी थिएन ।

अवैध विदेशी धनको सुरक्षित अवतरणका लागि अष्ट्रेलिया स्वर्ग झैं बन्नुको एउटा कारण भनेको यस देशको सम्पत्ति शुद्धीकरणविरुद्धको कानूनमा रहेका कमजोरीहरु हुन् । संघीय सरकारले यस कानूनलाई घरजग्गाको खरिद बिक्रीमा पनि लागू गर्ने भनेर २००७ मै विधेयकको मस्यौदा ल्याएको भए पनि पारित हुन सकेको छैन ।

सन् २०१६ मा महान्यायधिवक्ताको कार्यालयले अष्ट्रेलियाको सम्पत्ति शुद्धीकरण विरुद्धको कानूनका सम्व्न्धमा परामर्श सुरु गरेको थियो । तर, सो परामर्शको नतिजा अहिलेसम्म बाहिर आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment