Comments Add Comment

यहीँबाट सुरु भयो भारतीय ‘माइक्रो म्यानेजमेन्ट’

७ फागुन, काठमाडौं । भर्खरै ००७ सालको जनक्रान्ति सम्पन्न भएको थियो । राजा त्रिभुवन राणा प्रधानमन्त्री मोहनसमशेरसँग लामो समय काम गर्ने मनस्थितिमा थिएनन् । उनी जनक्रान्तिबाटै आएका नेतालाई प्रधानमन्त्रीका रुपमा देख्न चाहन्थे ।

राजा त्रिभुवनको मनस्थिति राम्रोसँग बुझेका भारतीय राजदूत चन्द्रेश्वरप्रसाद नारायण (सीपीएन) सिंह एकाएक सक्रिय भूमिकामा प्रकट भए । र, कांग्रेस सभापति मात्रिकाप्रसाद कोइरालालाई आफूपरस्त मानेर प्रधानमन्त्रीको पगरी गुथाउन भूमिका निर्वाह गरे ।

त्यसो त, राणा शासनविरोधी सशस्त्र आन्दोलन चर्किंदै गर्दा काठमाडौंमा एक प्रमुख ‘एक्टर’ थिए उनी । राजा त्रिभुवनलाई नारायणहिटीबाट निकालेर पाल्पा पुर्‍याउने कांग्रेसको योजना तुहिएपछि सिंहकै सुझावमा उनी भारतीय दूतावासमा शरण लिँदै नयाँदिल्ली पुगेको स्वर्गीय बीपी कोइरालाले आफ्नो पुस्तक ‘मेरो जीवन असफल भएन’मा उल्लेख गरेका छन् ।

२००७ सालको क्रान्तिको सफलतापछि नयाँदिल्लीले राजा त्रिभुवनका सेक्रेटरीका रुपमा गोविन्द नारायणलाई साथ लगाएर पठायो । राजदूत सिंह त्यसपछि झनै शक्तिशाली बनेका थिए ।

भन्ने गरिन्छ, हरेक राजदूतले आफ्नो राष्ट्रिय स्वार्थका लागि झुट बोल्छ । सिंहले पनि त्यही मान्यता अनुसरण गरे ।

कांग्रेसका तर्फबाट मोहनसमशेरको सरकारमा गृहमन्त्री रहेका बीपी कोइरालाको हत्या गर्ने उद्देश्यले भरतसमशेरको नेतृत्वमा खुकुरी दल काण्ड भयो । बीपीले चलाएको गोलीबाट भरतसमशेरका समर्थक चिनियाँकाजी मारिए ।

बीपीले नैतिकताका आधारमा गृहमन्त्रीबाट राजीनामा गरे र सरकार ढल्यो । नयाँ सरकारको नेतृत्व कांग्रेसले गरोस् भन्ने चाहना थियो, त्रिभुवनको । भारतीय राजदूत सिंहले बीचमै खेलिदिए । र, कांग्रेसको आधिकारिक निर्णयका बावजुद बीपी प्रधानमन्त्री बन्न पाएनन् ।

राजदूत सिंहले ‘मातृकाबाबु पार्टी सभापति पनि छन्, बीपीका दाजु पनि हुन् । मैले भरखरै दिल्लीको सन्देश पाएको छु । नेहरु सा’बलाई मातृकाबाबु नै मन पर्छ रे’ भनिदिए त्रिभुवनलाई ।

राजदूत सिंहले हतार-हतार मातृकाप्रसादलाई भेटेर राजालाई भन्नुपर्ने विषय सिकाए । र, आफैंलाई दाबेदार बनाउन सुझाए । भारतीय राजदूतको चलखेलमा नेपाली राजनीति लिक बाहिर पुगेको त्यही विन्दुबाट हो । र, त्यही विन्दुबाट सुक्ष्म व्यवस्थापनमा पनि हात हाल्यो, भारतले ।

पदको लोभमा मातृकाले पार्टी पद्दति उल्लंघन गर्दै राजासँग आफैंलाई प्रधानमन्त्री बनाउन आग्रह गरे । सोही विन्दुबाट कांग्रेसमा भित्रिएको कलह मातृका, महेन्द्रविक्रम शाह, नारदमुनि थुलुङ र महावीर समशेरलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासनको अवस्थासम्म पुग्यो ।

१६ वैशाख ०१० मा राष्ट्रिय प्रजा पार्टी गठन गरेका मातृकाप्रसाद त्यसपछि मूलधारको राजनीतिबाटै बाहिरिए । उनको आशक्तिले त्रिभुवनकै पालामा दोस्रो पटक प्रधानमन्त्री बन्दै विस्तारै राजनीतिक ‘करिअर’ धुमिल पारिदियो ।

राजदूत सिंह भने सन् १९५० को सन्धि गर्न तयार भएका राणाहरुको वर्चश्व कायमै रहोस् भन्ने चाहन्थे । र, एक भारतका ‘पपेट’ प्रधानमन्त्री नेपालमा नियुक्त हुन् भन्ने चाहन्थे ।

सिंहले नै राजा त्रिभुवनलाई सहमत गराएर सन् १९५२ मा तत्कालीन शाही नेपाली सेनालाई तालिम दिने बहानामा भारतीय सैनिक मिसन नेपाल भित्र्याएका थिए ।

वरिष्ठ राजनीतिज्ञ स्वर्गीय श्रीभद्र शर्माले आफ्नो पुस्तक ‘बीपीसँगका केही सम्झना’मा भारतीय राजदूत सीपीएन सिंहको गैरकुटनीतिक हर्कतबारे उल्लेख गरेका छन्ः ‘बीपीले एकाबिहान मलाई भेट्न बोलाउनुभयो । हामी ब्रेकफास्ट खाँदै थियौं, सिंह हाम्रो टेबुलको सामुन्ने ठिङ्ङ उभिन आइपुगे, न कुनै पूर्व सूचना न कुनै अनुमति । आउनासाथ ठाडठाडै भने, देखिए कोइराला साहब, हमको आपसे कुछ जरुरी बातें करनी थी । उनको त्यस्तो अप्रत्याशित आगमनले बीपी क्रुद्ध भइसक्नुभएको थियो । उहाँले पनि उनकै जस्तो ठाडो शैलीमा भन्नुभयो, आपको यहाँतक आना किसने दिया ? न कोइ सूचना, न कोइ अनुमति । जाइए, अभी नीचे बैठक मे बैठिए, अभी मै यिनसे बहुत जरुरी बात कर रहाँ हुँ ।’

शर्माको पुस्तकमा उल्लेख भएअनुसार सिंह आफूलाई केवल राजदूत मात्र ठान्दैनथे, आफूलाई नेपालको सर्वेसर्वा र यहाँका मन्त्रीहरुलाई पनि आफ्ना मातहतका कर्मचारीसरह ठान्थे ।

खासगरी, मोहनसमशेरले सन् १९५० को सन्धि गरेकामा त्रिभुवनमा चर्को असन्तुष्टी थियो । नेपाल र भारतबीच सम्पन्न उक्त असमान सन्धिमा राणा प्रधानमन्त्री मोहनसमशेर र भारतीय राजदूत सिंहले नै हस्ताक्षर गरेका छन् । राणा शासन टिकाउने उद्देश्यले भएको उक्त सन्धिलाई परिवर्तन गर्ने नेपालको प्रयास अद्यापि कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment