Comments Add Comment

प्रचण्डको ब्रिफिङः सरकारलाई फ्लोरबाट मात्रै समर्थन गर्ने सम्भावना टर्‍यो

'वान टु वान' पछि आजै एकता संयोजन समितिको बैठक बस्ने

फाइल फोटो

७ फागुन, काठमाडौं । जुम्लामा उत्पादित रातो चामलको भात खाँदै केपी ओलीसँग ५ घण्टा वार्ता गरेपछि माओवादी अध्यक्ष प्रचण्ड सरकारमा सहभागिता हुन सहमत भएका छन् ।

प्रचण्ड ‘कन्भिन्स’ भएसँगै अब माओवादी केन्द्र सरकारलाई फ्लोरबाट मात्रै समर्थन गर्ने पूर्वअडानबाट पछि हटेको छ ।

गत बुधबार पार्टी एकताबारे सहमति हुन नसकेपछि माओवादीले सरकारमा आफ्नो दलबाट मन्त्रीहरु पठाएको छैन । एकता टुंगोमा नपुगे सरकारलाई बाहिरैबाट समर्थन गर्ने विकल्पबारे माओवादीमा छलफल चलेको थियो ।

र, यही कारण ओली सरकारको पहिलो क्याबिनेट माओवादीविहीन भयो ।

तर, आइतबार एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग झण्डै पाँच घन्टा भएको ‘वान टु वान’ वार्ता सकारात्मक रहेको माओवादी अध्यक्ष प्रचण्डले पार्टी नेताहरुलाई बि्रफिङ गरेका छन् । र, अब सरकार बाहिरै बस्ने परिस्थिति टरेको प्रचण्डले पार्टी नेताहरुलाई बताएका छन् ।

एमाले नेताहरुले पनि पहिलो क्याबिनेट विस्तारमा माओवादी सहभागी नहुनु सुखद नभएको बताएका छन् । एमालेका एक नेताले अनलाइनखबरसँग भने- ‘पार्टी एकतासम्बन्धी विषयहरु सुल्झाएर पहिलो क्यामबिनेटमै माओवादीसमेत सहभागी भएको भए राष्ट्रिय र अन्तरराष्ट्रियरुपमै राम्रो सन्देश जाने थियो, त्यसमा हामी अलिकति चुकेकै हौं ।’

सोमबार बिहान पार्टी नेताहरुसँग भएको आन्तरिक छलफलमा प्रचण्डले आजै ओलीसँग ‘वान टु वान’ वार्ता हुने र त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बसेर पार्टी एकताबारे ठोस सहमति हुने ‘ब्रिफिङ’ गरेका छन् ।

माओवादीका एक नेताले भने, ‘अस्ति कुरा नमिलेपछि फ्लोरबाट समर्थन मात्र गर्नेसम्मको कुरा भएको थियो । तर, अध्यक्षले सकारात्मक कुरा भएको छ, आजैं टुंगिन्छ भन्नुभएको छ ।’

दुबै नेताहरुले आज फागुन ७ को अवसर पारेर एकताको सन्देश दिने प्रयास गरिरहेको स्रोतले बतायो ।

प्रचण्डलाई उधृत गर्दै माओवादी नेताले दिएको जानकारी अनुसार जनताको बहुदलीय जनवाद, २१ औं शताब्दीको जनवाद, माओवाद लगायतका बैचारिक-राजनीतिक विषयमा आगामी महाधिवेशनसम्म छलफल गर्दै जान केपी ओली सहमत भएका छन् ।

यद्यपि एमालेका कतिपय नेताहरुले भने जबजका विषयमा नभएर पदीय भागवण्डामा विवाद भएको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment