Comments Add Comment

अष्ट्रेलियाको बहुसाँस्कृतिक मेलामा जब नेपाली संगीत र संस्कृति जिज्ञासा बन्यो

क्यानवेरा/ ‘सय थरि बाजा एउटै ताल सय थरि गोडा एउटै चाल” बोलको नेपाली धुन जब क्यानवेरामा आयोजित राष्ट्रिय बहुसाँस्कृतिक मेलाको स्टेज नम्बर एक गुन्जयमान हुन्छ तब दर्शक दीर्घामा कौतुहलता अनि जिज्ञासा पलाउन थाल्छ l

स्थानीय एबीसी रेडियोकी कार्यक्रम निर्मात्री अनि प्रस्तोता लिश फेजर यो जिज्ञासाको उत्तर खोतल्छिन ‘के यो नेपाली संगीत हो ?’ कार्यक्रम प्रस्तोता हिमांशु प्रधान नेपाली पहिरनमा ठाटिएर स्टेजमा प्रवेश हुन्छन र बिस्तारै उक्त नेपाली संगीतको भाव खोतल्दै जान्छन ।

फेशन शो ¥याम्पको शैलीमा अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा आफ्नै शेर्पा पहिरनमा स्थानीय नेपाली कलाकारहरुको साथमा स्टेजमा उत्रदा नेपाली दर्शक दीर्घाबाट आएको तालीको गड्गडाहटले अस्ट्रेलियन दर्शकमा जिज्ञासा थपिन्छ । त्यतिनै बेला कार्यक्रम प्रस्तोता हिमांशु प्रधानले नेपालीहरुको पहिचान अनि सांस्कृतिक बिबिधता क्यानवेरामा आयोजित राष्ट्रिय बहुसांस्कृतिक मेलासँग मेलखाने कुरा स्पष्ट पर्छन ।

नेपाली संगीतमा आ-आफ्नै शैलीमा कम्मर मर्काएर हात हल्लाए पनि साँस्कृतिक विविधता झल्कने उक्त प्रस्तुतिले शुरुमै सबैको मन छोयो ।

स्थानीय ग्यारी रोस भन्छन-‘नेपालको बारेमा अलिअलि थाहा पाएको त थिए तर यतिका सांस्कृतिक बिबिधता छ भन्ने कुरा आज मात्रै थाहा पाए ।’

अस्ट्रेलियाको सबैभन्दा ठूलो र विविधता झल्कने महोत्सवहरु मध्येको एक मानिने क्यानवेरा बहुसाँस्कृतिक मेलामा क्यानवेराका स्थानीय नेपाली कलाकारहरुले यस वर्षको राष्ट्रिय बहुसांस्कृतिक मेलामा शानदार प्रस्तुति दिएका छन् ।

फेब्रुवरी १६ शुक्रवार देखि १८ आइतबारसम्म क्यानवेराको मुटु सिविकमा आयोजित मेलामा क्यानवेरा स्थित नेपाली दूतावासको सहकार्यमा स्थानीय नेपाली संस्था अस्ट्रेलिया नेपाल फ्रेन्डसिप सोसाइटीका कलाकारहरुले सहभागिता जनाएका थिए l

शुक्रवार र सनिवार आधा-आधा घण्टाको समयावधिमा नेपाली नृत्यद्वारा स्थानीय नेपाली कलाकारहरु सबैको मन जित्न सफल भएका छन् ।

कार्यक्रमको आरम्भमा नेपालको तराई, पहाड र हिमालको विविधता झल्कने नेपाली पहिरनमा पाँच मिनेटको फेशन परेड प्रस्तुत गरिएको थियो भने बाँकी समय ५ वटा एकल र सामूहिक नृत्यहरु प्रस्तुत गरिएको थियो ।
नेपाली प्रस्तुतिको बीचमा राजदूत शेर्पा द्वारा उपस्थित दर्शकहरुलाई नेपालको बारेमा दूतावासका तर्फबाट जानकारी गराउँदै नेपाल भ्रमणका निम्ति आग्रह गरिएको थियो l

सरकारी तवरबाट आयोजित बहुसाँस्कृतिक मेलाले अस्ट्रेलियामा सांस्कृतिक बिबिधता बचाए राख्न मद्दत हुने र नेपाल जस्तो पर्यटकीय मुलुकहरुका निम्ति पर्यटन प्रबर्धन गर्न समेत मेला लाभदायक हुने कुरा अनलाइनखबरसँगको कुराकानीमा राजदूत शेर्पाले बताइन् ।

२२ वर्ष पुरानो इतिहास बोकेको बहुसांस्कृतिक मेला क्यानवेरामा यस पटक आठ वटा मञ्चबाट ३०० भन्दा बढी कलाकारहरुको प्रस्तुति थियो भने खानाको स्टलहरु पनि राखिएका थिए ।

अस्ट्रेलियाका लागि नेपाली दूतावासद्वारा पनि आफ्नो स्टल मार्फत नेपाल र नेपाली कला संस्कृतिको बारेमा मेलामा सर्बसाधारणलाई सूचना प्रदान गरिएको थियो l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment