Comments Add Comment

एमालेमा जबजको च्याप्टरः दक्ष प्रजापतिको टाउकै गायव

सीपी गुटको दुःखान्तदेखि शीतलनिवासको नयाँ गुटसम्म

७ फागुन, काठमाडौं । माओवादी र एमालेवीच जतिबेलादेखि पार्टी एकताको गृहकार्य सुरु भयो, त्यहीबेला धेरै मानिसलाई लागेको थियो, एमालेको जबज र माओवादीको एक्काइशौं शताब्दीको जनवाद अनि ‘माओवाद’वीच कसरी तादाम्य होला ?

पार्टी एकताको छलफल अघि बढिरहेकै बेला एमाले उपमहासचिव घनश्याम भुसालले अनलाइनखबरसँगको भिडियो अन्तरवार्तामा जबजको ‘च्याप्टर क्लोज’ भएको बताउँदै अब नयाँ विचारका साथ पार्टी एकता गरेर अगाडि जानुपर्ने प्रस्ताव गरे । अहिले यस विषयमा दुबै पार्टीका नेताहरु आगामी महाधिवेशनसम्म बहस चलाउन सहमत देखिएका छन् ।

एमाले नेता भुसालको जबजसम्बन्धी संश्लेषणले माओवादी नेताहरुलाई तरंगित बनाउने अनुमान स्वाभाविकै थियो । तर, यसबारे माओवादीमा हैन, एमालेभित्रै हल्लीखल्ली मच्चियो । जबजबारे माओवादी नेताहरु चुपचाप बसे । एमालेमा चाहिँ जबज चाहिन्छ र चाहिँदैन भन्ने विषयमा भनाभन सुरु भयो । र, यसले सतहमा के देखायो भने एमालेभित्रै जबज मान्य सिद्धान्त बनिसकेको रहेनछ ।

सतहमा हेर्दा यस्तो देखिए पनि एमालेभित्रको आन्तरिक झगडाका लागि जबज एउटा बाहना मात्रै हो । अन्तर्यमा चाहिँ एमालेभित्र टाक्सिएर रहेको पुरानो गुटगत झगडा नै यसको मुख्य कारक हो ।

एमालेभित्रको गुटगत झगडा कहिले जबजका नाममा चल्छ, कहिले ‘परिमार्जित नौलो जनवाद’ का नाममा चल्छ । कहिले ‘पार्टी स्वतन्त्रता’ कि ‘राजनीतिक स्वतन्त्रता’ भन्ने बाहनामा झगडा चल्छ त कहिले ‘झापाली गुट’ र ‘गैर झापाली गुट’ का नाममा चल्छ ।

अनि, कहिले माले-मार्क्सवादी गुटका नाममा त कहिले ‘माओवादी परस्त’ र कहिले ‘महाकाली नदी’ को ईस्युमा समेत एमालेभित्र भगडा मच्चिने गरेको छ । अहिले ‘जबज’को च्याप्टरका नाममा चलिरहेको ‘राम रमाइलो’ को अन्तर्यमा विचार र सिद्धान्तले भन्दा बढी पुरानो तुषले काम गरेको छ ।

एमालेको आन्तरिक जीवनको विश्लेषण गर्दा हामीले यो पनि बिर्सन हुँदैन कि त्यहाँभित्र ‘देखिने गुट’ हरुमात्रै हुँदैनन्, नदेखिने गुटहरु पनि सक्रिय हुने गरेका छन् ।

सीपी गुटको दुःखान्त

एमालेको पाँचौं महाधिवेशनमा तत्कालीन महासचिव मदन भण्डारीले जनताको बहुदलीय जनवाद अर्थात जबज सम्बन्धी राजनीतिक प्रतिवेदन पेश गरे । तथापि बहुदलीय जनवादको भ्रुण चौथो महाधिवेशमै रोपिएको एमाले नेताहरु दाबी गर्छन्, जतिबेला एमाले (तत्कालीन माले) ले आफ्नो दस्तावेजबाट ‘माओ विचारधारा’ औपचारिकरुपमै हटाउने निर्णय गरिसकेको थियो ।

बहुदल आइसकेपछि ०४९ सालमा आयोजित पाँचौं महाधिवेशनमा जबजबारे बहस भइरहँदा एमालेमा दुईवटा गुटहरु बलिया भए- एउटा सीपी मैनालीको ‘परिमार्जित नौलो जनवादी गुट’ र अर्को मदन भण्डारीको ‘जबज’ वाला गुट ।

सीपी, केपी र मदन भण्डारी

पार्टी स्थापना कालदेखि नै सीपी मैनालीको देवत्वकरण हुँदै आएकाले पाँचौं महाधिवेशनमा पनि उनकै लाइनले जित्ने धेरैले अनुमान लगाएका थिए । तर, महाधिवेशनमा लौह नेता सीपी मैनालीको लाइन परास्त भयो र नवोदित नेता मदन भण्डारीको बहुदलीय जनवादी लाइनले जित्यो ।

पाँचौं महाधिवेशनसम्म एमालेका धेरै नेताहरु सीपी मैनालीका भक्त थिए । हुन त सीपी मैनाली आफैं पनि नौलो जनवादमा परिमार्जन गरिनुपर्छ भन्थे, तर ‘जुँगाको समस्या’ ले गर्दा मदन भण्डारीसँग फरक देखिनकै लागि उनले जबजलाई स्वीकार गरेनन् र ‘परिमार्जित नौलो जनवादी’ लाइनका नाममा एमालेभित्र बलियो गुट उभ्याए ।

त्यस समय एमालेको टोल कमिटीसम्मै सीपी गुट र मदन गुटका नाममा सामानान्तर धारहरु विकसित भएका थिए ।

एमालेमा त्यसबेला के भन्ने गरिन्थ्यो भने सीपी मैनालीको ‘देखिने गुट’ हुन्छ, तर केपी ओलीको चाहिँ ‘नदेखिने गुट’ हुन्छ । केपी ओली पनि पार्टीभित्र गुट त खेलाउँथे, तर नदेखिने गरी । मदन भण्डारी र सीपी मैनालीका दुई गुटहरु मौलाइरहेका बेला केपी ओलीको पनि गुट थियो, तर बाहिरबाट देखिँदैनथ्यो ।

केपी ओली व्यक्तिगत रुपमा पनि सीपी मैनालीको लाइन भन्दा पनि मदन भण्डारीको बहुदलीय जनवादतिरै नजिक थिए । र, ओलीको त्यही ‘नदेखिने गुटले’ पाँचौं महाधिवेशनमा जबजको लाइनलाई जिताइदियो ।

पाँचौं महाधिवेशनका बेला एमाले नेता झलनाथ खनालको प्रस्तुती निकै नै रोचक रह्यो । उनले जबजलाई ‘दक्ष प्रजापतिको टाउको’को संज्ञा दिए । पौराणिक पात्र दक्ष प्रजापतिको शरीरमा बोकाको टाउको जोडिएजस्तै जबजलाई निन्दा गरेका झलनाथ खनालले अहिलेसम्म आइपुग्दा आफूलाई जबजको भाष्यकारकै रुपमा प्रस्तुत गर्न थालिसकेको एमाले नेताहरु बताउँछन् ।

यद्यपि झलनाथ खनाललाई वैचारिक नेता मान्ने युवापुस्ताका एमाले नेताहरु अहिले झलनाथको अनुहारमा सीपी मैनालीको ‘परिमार्जित लाइन’ खोजिरहेका छन् ।

त्यसो त वामदेव गौतम पनि विगतमा जबजको विकल्पमा आफूले नयाँ विचार प्रस्तुत गरेको बताउँछन् । भर्खरै प्रकाशित कितावको भूमिकामा पनि उनले यो कुरा लेखेका छन् । तर, उनी आफ्नो यो लाइनबाट अहिले धेरै परसम्म चिप्लिइसकेका छन् ।

मदन भण्डारीको निधनको एकाध वर्षपछि नै माधव नेपाल र केपी ओलीसँगको रीसले गर्दा वामदेव गौतम परिमार्जित नौलो जनवादी नेता सीपी मैनालीको काखमा बस्न पुगे । गौतमले मैनालीसँग मिलेर नेकपा माले पुनर्गठन गरे ।

तर, वामदेव वैचारिकरुपमा यति अस्थिर देखिए पनि अहिलेसम्म आइपुग्दा उनले जबजलाई नेपालमा मात्रै नभएर ब्रह्माण्डमा समेत लागु गर्न सकिने तर्क अघि सारेका छन् । वामदेवको यस्तो तर्क सुनेर शायद स्वर्गमा रहेका मदन भण्डारी पनि मुसुमुसु हाँस्दा हुन् ।

यसरी झलनाथ र वामदेवको वैचारिक ‘उतार’सँगै अहिले एमालेभित्र ‘दक्ष प्रजापतिको टाउको’ गायव भएको छ । र, जबजलाई परिमार्जन गर्नुपर्छर् भन्ने समूहलाई भरपर्दो नेताको अभाव खड्किएको छ ।

जबजका समालोचकहरु कुनैबेला झलनाथलाई नेता मान्न खोज्छन् । तर, प्रथमतः झलनाथ राष्ट्रपति बन्नका लागि केपी ओलीलाई नचिढ्याउने लाइनमा छन् । दोस्रो- खनालको शारीरिक अवस्थाले पनि धेरै सक्रिय हुने स्थितिमा छैनन् । तेस्रो- एमालेभित्र भलनाथको गुट निरीह अवस्थामा छ । गुटै छैन भन्दा पनि हुन्छ ।

विगतमा सीपी गुट हुँदै नेकपा माले पुनर्गठन गरेर एमालेमा फर्केका ‘परिमार्जित नौलोजनवादी’ नेताहरुको टीमले माधव नेपाललाई नेता मानेर साथ दियो । तर, अहिले माधव नेपालले पनि केपी ओलीसँग मिलेर उनीहरुलाई धोका दिइसकेका छन् ।

जसरी वामदेवले जबजलाई ब्रह्माण्डमा लागू गर्न सकिन्छ भनेका छन्, त्यसैगरी माधव नेपालले जबज ०३९ सालमै आएको हो भन्दै जबजका आलोचकलाई झपडा हानेका छन् । र, यसै साताबाट माधव नेपाल पार्टी अध्यक्ष केपी ओलीमा विलय भएको महसुस एमालेभित्र गर्न थालिएको छ ।

जबजको आलोकमा एमालेभित्र सिर्जना भएका दुई गुटको यो लडाइँलाई ‘सीपी गुटको दुःखान्त’ का रुपमा बुझ्दा फरक नपर्ला ।

किनभने, जबजको विपक्षमा सीपी गुट एमालेमा जबर्जस्तरुपमा उभिएको थियो । सीपी आफैं एमालेबाट पाखा लागेपछि एमालेभित्रका जवजका आलोचकहरु रानो मरेको माहुरीजस्तै भएका छन् । शायद सीपी मैनाली पनि वामदेवसँगै एमालेमा फर्केका भए कर्मी माहुरीहरुले रानो पाउने थिए कि ? त्यो सम्भव भए ।

सीपीको अभावमा एमालेभित्र बिजालिएका पुरानो गुटका नेताहरुले कहिले झलनाथलाई त कहिले माधव नेपाललाई साथ दिने प्रयास गरे । कहिले उनीहरुले वामदेव गौतमसँग भर गर्न खोजे । तर, एमालेभित्र सीपी मैनालीले बनाएर टुहुरो अवस्थामा छाडेको गुट अहिलेसम्म माथि उठ्न सकेको छैन । एमालेमा यो गुटका नेता कार्यकर्ताहरु सेक्सपियरको दुःखान्त नाटकका पात्रझैं प्रतीत हुन्छन् ।

ओलीको ‘नदेखिने गुट’ नै संस्थापक !

पाँचौं महाधिवशेनसम्म केपी ओलीको गुटलाई एमालेभित्रको नदेखिने गुट भनिन्थ्यो । तर, अहिले त्यही नदेखिने गुट एमालेको संस्थापन पक्ष बनेको छ । संस्थापन पक्षमात्रै बनेको छैन, अन्य गुटहरुलाई समन गरेर एमालेमा एकछत्र शक्तिसमेत आर्जन गर्न सफल भएको छ ।
पार्टीमा केपी ओली गुटले एकछत्र शक्ति आर्जन गर्नुका पछाडि केही ऐतिहासिक अवसर र केही ‘ट्याक्टिस’ ले पनि काम गरेको देखिन्छ । यसका साथै झलनाथ, सीपी, वामदेव र माधव नेपालहरुको असक्षमताले पनि ओलीलाई अगाडि आउन अवसर दिएको देखिन्छ ।

पाँचौं महाधिवेशनमा केपी ओलीले मदन भण्डारीलाई सघाए । मदन भण्डारीको ‘कभर’मा बसेर ओलीले सीपी मैनालीको बलियो गुटलाई सिध्याए ।

वीचैमा मदन भण्डारीको दासढुंगामा निधन भयो । त्यसपछि पनि केपी ओली पार्टीको प्रमुख पदमा आएनन् र ‘नदेखिने गुटमै’ सक्रिय भइरहे । ओली गुटले त्यसबेला मदन भण्डारीको विकल्पमा माधव नेपाललाई महासचिव बनाएर सहयोग गर्‍यो ।

यहीवीचमा एमालेको पहिलो ९ महिने सरकार गठन भयो । मनमोहना नेतृत्वको सरकारमा केपी ओली गृहमन्त्री र माधव नेपाल परराष्ट्र मन्त्री बने । गृहमन्त्रालय सम्हालेपछि ओली पार्टीभित्र अझ बढी शक्तिशाली भए । तैपनि उनको गुट सामान्यतः ‘नदेखिने गुट’कै अभ्यासमै रह्यो ।

यहीवीचमा एमाले फुटाउने दुस्साहस वामदेव गौतमले गरे । गौतमको दुस्साहसलाई एमालेभित्रको शक्तिशाली मानिएको सीपी मैनाली गुटले साथ दियो । र, महाधिवेशनबाट पराजित बनेको मैनाली गुट मालेतिर लाग्यो । मैनाली गुटमा रहेका केही नेताहरु एमालेमै रहे ।

सीपी मैनाली र वामदेव गौतमले एमाले छाडेपछि पार्टीभित्र केपी ओली झनै शक्तिशाली भए । सुरुमा माधव नेपालको सहयोगी जस्तै देखिने गरेका ओलीले विस्तारै माधव नेपालसँग सिङ जुधाउन थाले ।

पहिलो संविधानसभामा चुनावी पराजयका कारण माधव नेपाल राजीनामा दिनुपर्ने अवस्थामा पुगे । तर, यसवीचमा पनि केपी ओली समूह नेतृत्व हत्याउने स्थितिमा पुगेन । बरु यसवीचमा झलनाथ गुटको पुनरोदय भयो । पञ्चायतकालको उत्तरार्धमा पार्टी चलाउन नसकेर हटाइएका झलनाथ फेरि उदाए । उनी यही मौकाको सदुपयोग गर्दै पार्टी अध्यक्ष र प्रधानमन्त्रीसम्म बने ।

झलनाथलाई शक्तिमा पुर्‍याउनका लागि एमालेभित्रको पूर्व सीपी मैनाली गुट र मदन भण्डारीको निधनपछि विकसित भएको माधव नेपाल गुटको साथ थियो । यही कारण बुटवल महाधिवेशनमा झलनाथ खनालसँग केपी ओली पार्टी पराजित भए ।

एमालेमा सिमेन्टेड भइरहेको ओली गुटलाई परास्त गर्न बुटवल महाधिवेशनमा माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र पुरानो सीपी मैनाली गुटको अवशेष सबै एकत्रित बनेका थिए ।

तर, दशौं महाधिवेशनसम्म आइपुग्दा एमालेभित्र एमालेभित्रका झलनाथ, माधव र पूर्व सीपी मैनाली गुटहरु कमजोर भए । केपी ओलीका अगाडि कसैको केही लागेन । वामदेव गौतम पनि केपी ओलीको उधारो आश्वासनमा फसे । माधव नेपाल थोरै मतान्तरले केपी ओलीसँग पार्टी अध्यक्षमा हारे । झलनाथ खनाल संसदीय दलको नेतामा ओलीसँग पछारिए ।

संविधान निर्माण पश्चात ओली पहिलोपटक प्रधानमन्त्री बने । भारतले लगाएको नाकाबन्दीको प्रतिरोधमा उनको राष्ट्रवादी छवि निर्माण भयो । र, चुनावमा एमालेको लोकपि्रयता बढ्यो । यससँगै ओलीको ‘नदेखिने गुट’ सबैतिरबाट छर्लङ्ग देखिने बलियो संस्थापन पक्ष बन्न पुग्यो । एमालेभित्रका प्रतिपक्षहरु कमजोर एवं निरीह बन्न पुगे ।

अर्को ‘नदेखिने गुट’को जन्म

धेरै मानिसहरुलाई पत्यार नलाग्न सक्छ, तर नेकपा एमालेभित्र अहिले अर्को ‘नदेखिने गुट’ को जन्म भइसकेको छ । र, त्यो नदेखिने गुट माधव नेपाल, झलनाथ वा वामदेव गौतमले नभएर राष्ट्रपति विद्यादेवी भण्डारीले चलाउने गरेकी छिन् ।

एमालेमा यतिबेला केपी ओली पक्ष, माधव नेपाल पक्ष र ‘जबजविरोधी तेस्रो धार’ समेत गरी मुख्यतः तीनवटा देखिने गुट छन् । यसमध्ये माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमका गुटहरु बन्दै र भत्कँदै गर्ने गरेका छन् । तीनै नेताको अस्थिरताबाट केपी ओलीले प्रशस्त लाभ लिइरहेका छन् ।

तर, विगतमा केपी ओली गुटकै महत्वपूर्ण पात्र मानिएकी तत्कालीन पार्टी उपाध्यक्ष एवं वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेभित्र आफ्नै शक्ति आर्जन गरेकी छिन् । राष्ट्रपति पदमै रहँदा पनि उनले पार्टीभित्र केपी ओली समूहलाई लगाम लगाउने हैसियत बनाएकी छिन् ।

र, यही ‘नदेखिने गुट’ को तागतमा टेकेर विद्याले आफ्नो मान्छेलाई सांसद, मन्त्री र मुख्यमन्त्री बनाउने गरेकी छिन् ।

बाहिरबाट हेर्दाखेरि विगतदेखि नै केपी र विद्याका फरक-फरक गुट थिएनन् । मदन भण्डारीको लिगेसीलाई प्रयोग गरेर पार्टीमा विद्याले आफूलाई स्थापित गरिन् । ओली गुटले जबजको प्राधिकारका लागि विद्यालाई बलियो साथ दियो ।

तर, अहिले उनै विद्याले ओली समूहसँग बार्गेनिङ पावर बढाएकी छिन् । राष्ट्रपति पदमा रहुन् या नरहुन्, अब विद्या भण्डारी एमालेको बलियो शक्तिकेन्द्र हुन् । विद्याको जति शक्ति झलनाथ र माधव नेपालसँग छैन । भएदेखि झलनाथ खनाल तेस्रो राष्ट्रपति बन्ने सम्भावना रहन्थ्यो ।

माओवादी र एमालेलाई एकता गराउने र चुनावी गठबन्धन बनाउनेमा विद्या भण्डारीको नदेखिने, तर सक्रिय भूमिका छ । अब पार्टी एकता भयो भने प्रचण्डले समेत विद्या भण्डारीलाई ‘ट्रष्ट’ गर्ने र अविभावक मान्ने परिस्थिति बनेको छ । र, विद्याले यही बलमा पुनः राष्ट्रपति पाउने सम्भावना प्रचुर बनेको छ । यो स्थितिले अब एमालेभित्र विस्तारै दुईवटा शक्तिकेन्द्र सतहमा आउने देखिन्छ, एउटा- विद्या भण्डारीको र अर्को केपी ओलीको ।

ओली र विद्या दुबैले एक अर्कालाई प्रयोग गर्ने र आफ्नो स्वार्थ पूरा गर्ने नीति लिन सक्ने देखिन्छ । र, दुबैको सहकार्यले पार्टीभित्रका अरु गुटहरु थप निकम्बा बन्ने देखिन्छ ।

अब केपी ओली र प्रचण्डवीच दरार देखिएका अब विद्या भण्डारीले नै उनीहरुवीच ‘स्पिड कन्ट्रोल’को भूमिका खेल्नेछिन्, यो काम एमाले- माओवादीका अरु नेताहरुले सक्ने छैनन् ।

राष्ट्रपति वा पूर्वराष्ट्रपति भइसकेको व्यक्ति फेरि पार्टीको नेता बन्ने स्थिति रहँदैन, तर ‘नदेखिने गुट चलाउन’ र एउटा शक्ति केन्द्रका रहिराख्नका लागि विद्या भण्डारीलाई शीतलनिवासको बसाइले रोक्दैन भन्ने कुरा उनको सक्रियताले स्पष्ट देखाइसकेको छ । केपी ओलीलाई दोस्रोपटक प्रधानमन्त्रीको सपथ ग्रहण गराइरहँदा मन्त्रीको नाममा विद्याले दिएको चासो माइकबाट पोखिएको थियो ।

फेरि पनि जबज नै !

एमालेको पित्तमा गुटरुपी जण्डिसले घर गरेको भएता पनि विवादको निमित्त कारकचाहिँ जबजको च्याप्टर क्लोज भएको छ या खुलेको छ भन्ने नै हो । पार्टीको संस्थापन पक्ष आफना आलोचकहरुलाई ‘जबज विरोधी’ सावित गर्न र ठुंग्न चाहन्छ । गैरसंस्थापनपक्ष चाहिँ चिलको पञ्जामुनि परेर लुगलुग काँपिरहेको निरीह चल्लोजस्तै देखिएको छ ।

र, एमालेमा चलिरहेको यस्तो घरझगडाकै बेला माओवादीका नेताहरु ‘जोगीका घरमा सन्यासी पाहुना’ भनेजसरी पार्टी एकता प्रक्रियामा आउँदैछन् । सन्यासी पाहुनाका काँधमा ‘माओवाद’ र एक्काइशौं शताब्दीको जनवाद’ नामका बेग्लै ‘कुम्ला’हरु छन् ।

एमाले र माओवादीका नेताहरुवीच पद प्रतिष्ठाको भागवण्डा मिल्यो भने पार्टी एकतालाई जबज र माओवादले छेक्दैन । दुबै पार्टीले अवको यात्रा समाजवाद हुने र त्यो शान्तिपूर्ण हुने भनिसकेका छन् ।

तर, पद-प्रतिष्ठामा नेताहरुवीच कुरो मिलेन र पुराना गुटहरुको कालो जण्डिस बौरियो भने आगामी महाधिवेशनमा फेरि जबजमाथि एकचोटि भोटिङसम्म हुन सक्छ । अन्यथा, जबज समात्ने र छाड्ने कुरो एउटा बाहना मात्रै हो । कम्युनिष्टहरुलाई झगडा गर्नका लागि सधैंभरि एउटा राजनीतिक-वैचारिक बाहना चाहिन्छ ।

एमालेमा प्रतिस्पर्धीविहीन शक्ति आर्जन गरेको केपी ओली नेतृत्वले अब राष्ट्रपतिको नदेखिने गुटसँग मिलेर राम्रो काम गर्‍यो भने देश र जनताको मुहारमा पक्कै पनि खुशी आउला । तर, जबजलाई गुटबन्दीको हतियार बनाउने काम भयो भने थाहा छैन, यसले पार्टी, देश र जनतालाई कहाँ पुर्‍याउँछ । जबज भन्दैमा मुक्ति सम्भव हुँदैन । किनभने, हिटलर पनि समाजवादकै नाममा सत्तामा पुगेका थिए ।

जनतामा शंकाभन्दा आशा बढी

उपर्युक्त टिप्पणी केपी ओली नेतृत्वको सरकारका चुनौती र सम्भावनाहरुका विषयमा केन्द्रित छैन । यसमा खालि जबजको जलपमा हुने गरेको गुटगत झगडाबारे मात्र चर्चा गर्न खोजिएको हो । तर, यहाँ केपी ओलीका बारेमा एउटा रोचक सन्दर्भ उल्लेख गरेर बिट मारौं:

केपी ओली प्रधानमन्त्री भएका दिन यस पंक्तिकारले आफ्नो टि्वटर ह्याण्डिलमा एउटा प्रश्न राखेको थियो- ‘प्रधानमन्त्री केपी ओलीबाट तपाई कति आशावादी हुनुहुन्छ ?’

यसमा २६३ जनाले आफ्नो मत दिएका छन् । जसमध्ये ५२ प्रतिशतले ‘आशावादी छु’ भनेका छन् । ३० प्रतिशतले ‘काम हेरौं, अनि भनौंला’ भन्ने प्रतिक्रिया दिएका छन् । बाँकी १८ प्रतिशतले प्रधानमन्त्री ओलीसँग आशा र विश्वास नरहेको प्रतिक्रिया दिएका छन् ।

यसको मतलव, करिब ८२ प्रतिशत मानिसहरु प्रधानमन्त्री ओलीप्रति कुनै न कुनै रुपमा आशावादी नै देखिन्छन् ।  उनका लागि यो भन्दा राम्रो अवसर अरु के हुन सक्छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment