Comments Add Comment

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने


७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् ।

आईपीएलमा आफ्नो नाममा बोली लाग्दा उनी डिभिजन टूको तयारीका लगि दुबईमा थिए । त्यहीँबाट नामबिया पुगे र नेपाललाई विश्वकप छनोटमा स्थान पक्का गराएर शनिबार मात्र स्वदेश फर्किएका छन् ।

सोमबार गृहनगर चितवनमा ओर्लिँदा समर्थक र सुभेच्छुकबाट घेरिएका सन्दिपले एउटा अनपेक्षित प्रश्नको सामना गर्नुपर्‍यो । प्रश्न थियो, प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा र गायक उदितनारायण झा चर्चित बनेसँगै भारत भाँसिए । सन्दिपले भोलि त्यो गर्दैन भन्ने के छ र ?

१७ वर्षे सन्दिप झस्किए । केही नर्भस जस्तो देखिए । तर, प्रष्ट शब्दमा भने, ‘मेरो लागि देशभन्दा ठूलो केही छैन । म त्यो परिकल्पना गर्न पनि सक्दिन ।’

उनले अघि भने, ‘यदि नेपालबाट नखेलेको भए म यहाँसम्म नपुग्न सक्थेँ । किनभने नेपालका लागि खेलेँ र सबैले चिने । त्यसैले म आफ्नो बेस कहिल्यै बिर्सन्न ।’

स्याङ्जामा जन्मिएका बाल्यकालमै बाबुसँग भारत पुगेका सन्दिपले त्यहीँ क्रिकेटको सामान्य ज्ञान लिएका थिए । १२/१३ बर्षको उमेरमा नेपाल आएर चितवन क्रिकेट एकेडेमीमा आवद्ध भएका उनी नेपालको तत्कालीन प्रशिक्षक पुवुदु दशानायकेको नजरमा परेपछि पछि फर्कनुपरेको छैन ।

राष्ट्रिय टोलीमा डेब्यू गरेसँगै अष्ट्रेलियन क्रिकेटर माइकल क्लार्कको साथ पाए । आफ्नो प्रदर्शनलाई तिखार्दै लगेका उनी आईपीएल टिमदिल्ली डेयरडेभिल्समा अवद्ध भएका छन् । आईपीएलमा पुग्ने उनी पहिलो नेपाली क्रिकेटर हुन् ।

प्लेइङ लिष्टमा पर्नेमा आशावादी छु

सन्दिपले आईपीएलमा दिल्ली डेयर डेभियर्सका तर्फबाट प्लेइङ लिष्टमा पर्नेमा आशावादी रहेका बताए । डिभिजन टूमा ‘प्लेयर अफ द टुर्नामेन्ट’ बनेका सन्दिपको प्रदर्शनलाई आईपीएल टिमले लगातार पछ्याइरहेको छ ।

‘हरेक टिमले आफूले खेल जितोस् भन्ने चाहन्छ । कसलाई खेलाउँदा जितिन्छ भन्ने आधारमा प्लेइङ सूची तयार हुन्छ’ सञ्चारकमीृहरुसँग कुरा गर्दै सन्दिपले अघि भने, ‘दिल्लीको प्लेइङ सूचीमा म पनि पर्छु होला ।’

एकदिन आइपिएल खेल्छु भन्ने लागेको भए पनि यति छिट्टै हुन्छ जस्तो नलागेको उनले सुनाए ।

छनोट चरण पार गर्दैै नेपाल विश्वकपमा पुग्ने विश्वास आफूलाई रहेको सन्दिपले बताए । आगामी शनिबार नेपाली टोली छनौट प्रतियोगिता खेल्न जिम्बावे जाँदैछ । नेपालको पहिलो खेल आयोजक जिम्बावेसँगै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment