Comments Add Comment

प्रदेशसभामा सत्तापक्षको हालिमुहाली हुन दिन्न : सभामुख भण्डारी

प्रदेशसभा १ का सभामुख प्रदीप भण्डारीका लागि संसदीय अभ्यास जति नौलो हो, त्यत्ति नै हो नौलो प्रदेशसभा सञ्चालन पनि ।

पहिलो पटक भएको प्रदेशसभा निर्वाचनबाट उनी प्रदेश सांसद चयन भए र पछि सभामुख नै बन्न सफल भए । प्रदेशसभाले विभिन्न ऐन, कानुन निर्माण गर्नुपर्नेछ । त्यसका लागि भण्डारीले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेछ । यसै सन्दर्भमा अनलाइनखबरका लागि विराट अनुपमले सभामुख भण्डारीसँग कुराकानी गरेका छन् । 

शिक्षक र सक्रिय एमाले नेता हुँदै तपाईं सभामुख बन्नुभयो, के फरक हुँदोरहेछ ?

राजनीतिक रुपमा पहिले म सक्रिय पदमा रहँदा पार्टीको लाइनबाट बोल्न जति सहज छ आज प्रदेशसभाको सभामुखको रुपमा रहँदा केही फरक अनुभूति पक्कै छ । अब म एमाले वा अरु कुनै दलको रहिन । कुनै पनि सक्रिय राजनीतिक पदमा पनि रहिन । प्रदेशसभाको सभामुखको भूमिका नै मेरो सम्पूर्ण जिम्मेवारी हो ।

प्रदेशसभा बैठक आगामी फागुन १४ गते बस्दैछ । के के छन् विजनेस ?

अबको प्रदेशसभा बैठकमा मुलतः हामीहरु कार्यव्यवस्था परामर्श समिति र नियमावली मस्यौदा समिति बनाउने छौं । कार्यव्यवस्था परामर्श समितिमा बढीमा ११ जना हुने गरी सबै दलीय प्रतिनिधिहरु अटाउनुहुनेछ ।

प्रदेश सभाको पहिलो अभ्यास भएको हुनाले धेरै ऐन कानुनहरु बनाउनुपर्नेछ, कसरी काम अगाडि बढाउनुहुन्छ ?

प्रदेशसभालाई अब सरकारले, -खासगरी कानुन मन्त्रालय) ले बिजनेस दिने हो । सरकारले दिएका बिजनेसको आधारमा हामीले सक्रिय संसद सञ्चालन गर्छौ । सरकारले हामीलाई बिधेयकहरु दिन्छ । विषयगत समितिहरु बन्छन् ।

अनि क्रमशः प्रदेशका ऐन, कानुन आदि बन्दै जान्छन् । मुलतः प्रदेशसभा नै कानुनहरु बनाउने थलो भएकोले प्रदेशको हित हुने कानुन बनाउने काममा प्रदेशसभा आगामी पाँच वर्षसम्मै सक्रिय हुनेछ ।

प्रदेशको नाम के रहन्छ र राजधानी कहाँ तोकिन्छ भन्ने विषयमा आम चासो छ, यी कुराहरु कहिले सम्बोधन हुन्छन् ?
अब नामाङ्कन र राजधानीका कुरामा सबैको सहमति र सहकार्यमा संसदीय कामहरु अगाडि बढ्छन् । विराटनगरमा रहेको अस्थायी मुकामलाई स्थायी बनाउने वा नयाँ स्थानमा प्रदेश मुकाम ताक्ने विषय दुई तिहाई माननीयको मतका आधारमा हुन्छ । सभामुखको हैसियतमा यसमा व्यक्तिगत मतले केही अर्थ राख्दैन ।

तपाईं आफै धरानलाई प्रदेशको राजधानी बनाउनुपर्छ भन्ने अभियानमा हुनुहुन्थ्यो नि !

पहिले सक्रिय राजनीतिक भूमिकामा हुँदा गरिएको काम र अब सभामुख भएपछि गर्ने भूमिका भिन्न हुन्छ । संसदमा मेरो मत केही हैन । दुई तिहाई माननीयको मत मुख्य कुरा हो ।

प्रदेशसभाका ९३ सांसदमा वामपन्थीको दुई तिहाई ६७ छ । यस्तो अवस्थामा २१ सिट भएको विपक्षी दल नेपाली कांग्रेसदेखि १ सिट मात्रै भएको लिम्बुवान मञ्चसम्मका आवाजहरुलाई कसरी संबोधन गर्नुहुन्छ ?

संसद भनेको सत्तापक्षको हालिमुहाली हुने ठाउँ हैन । त्यहाँ विपक्षी दलहरुको उपस्थिति र अस्तित्व झनै महत्वपूर्ण हुन्छ । बलियो र रचनात्मक विपक्षी सधैं आवश्यक हुन्छ ।

प्रदेशसभामा सहमति, सहकार्य र सहअस्तित्व ख्याल गर्दै सबैको प्रतिनिधित्व हुने गरी संसदीय कामहरु अगाडि बढ्छन् । यसो गरेमा मात्रै संसदीय मर्यादा बढेर जान्छ । यो कुरामा सचेत र सक्रिय हुनेछु । कसैलाई काखा र कसैलाई पाखा हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment