Comments Add Comment

पत्रिका समाचारः एमाले–माओवादी एकता गर्न सहमत तर घोषणा कहिले ?

प्रदेशमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने तयारी


८ फागुन, काठमाडौं । आज मंगलबार, राजधानीबाट प्रकाशित सबै राष्ट्रिय दैनिक पत्रिकाहरुले एमाले–माओवादी केन्द्र एकता गर्न सहमत भएको विषयलाई मुख्य समाचार बनाएका छन् । पार्टी एकता गर्न सहमत भएका एमाले–माओवादीबीच सातबुँदे सहमति भए पनि केही दैनिक पत्रिकाहरुले पार्टी एकता नै भइसकेको लेखेका छन् । अन्नपूर्ण पोस्ट दैनिकले ‘कम्युनिस्ट राजनीतिमा ब्रेक थ्रू’ शीर्षक दिएर मुख्य समाचार लेखे पनि अन्य प्रमुख राष्ट्रिय दैनिक पत्रिकाहरुले एकताका लागि दुई दल सहमत भएको मात्रै लेखेका छन् ।

एमाले–माओवादी एकताका समाचारलाई लेखेका आजका पत्रपत्रिकाहरुले संघीय संसद्को बैठक फागुन २१ गतेका लागि बोलाइएकोलाई पनि विभिन्न शीर्षकमा लेखेका लेखेका छन् ।

नयाँ पत्रिका दैनिकले प्रदेशमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने तयारी सरकारले गरेको लेखेको छ भने कान्तिपुर दैनिकले प्रधानन्यायाधीश गोपाल पराजुलीको पाँचौं जन्ममितिको समाचारलाई एंकर बनाएको छ ।

कार्यदलको गृहकार्यपछि पार्टी एकताको मिति घोषणा

नयाँ पत्रिका दैनिकले कार्यदलको गृहकार्यपछि एमाले–माओवादी एकताको घोषणा हुने लेखेको छ ।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने सातबुँदे समझदारीका आधारमा अन्तरिम राजनीतिक प्रतिवेदन तयार पार्ने सैद्दान्तिक–वैचारिक कार्यदल र संगठनात्मक एकीकरणका लागि संगठनात्मक कार्यदल बनाउने सहमति भएको समाचारमा उल्लेख छ ।

एकीकरणका प्रारम्भिक आधारमा सहमति

एमाले–माओवादीबीच पार्टीको नाम र निर्देशक सिद्धान्तमा सहमति जुटेको छ । नयाँ पत्रिकाका अनुसार पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी हुनेछ भने माक्र्सवाद–लेनिनवादलाई निर्देशक सिद्धान्त मान्न दुई पार्टी सहमत भएका छन् ।

बहुदलीय प्रतिस्पर्धा – नेकपा (एमाले)ले अपनाउँदै आएको ‘जनताको बहुदलीय जनवाद’अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत श्रेष्ठता स्थापित गर्नेलगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा (माओवादी केन्द्र)को पनि शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्पmत आफ्नो श्रेष्ठता स्थापित गर्नेलगायतका मान्यतामा समान धारणा रहेको तथ्यमा दुवै पार्टी स्पष्ट सहमत छन् ।

नेकपा (एमाले)ले अवलम्बन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र नेकपा (माओवादी केन्द्र)ले अवलम्बन गरिआएको ‘माओवाद र एक्काइसौँ शताब्दीमा जनवाद’सम्बन्धी विषयमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिने दुई पार्टीको मत छ ।

प्रदेशमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने तयारी

सरकारले प्रदेशमा ६० प्रतिशत कर्मचारी पठाए पनि कार्यस्थलमा भने १५ प्रतिशत मात्रै कर्मचारी पुगेका छन् । खटाएको स्थानमा कर्मचारी जान नमानेपछि सरकारले उनीहरुलाई बर्खास्त गर्ने तयारी गरेको समाचार नयाँ पत्रिका दैनिकमा छ ।

समाचार अनुसार, सरकारले प्रदेशको कामकाजका लागि अहिलेसम्म एक हजार कर्मचारी खटाइसकेको छ । जसमध्ये एक सयको हाराहारीमा मात्रै कार्यस्थल पुगेका छन् । बाँकी कर्मचारी प्रदेशमा जान अटेर गरेर बसेका छन् । धेरैजसो बीचबाटोबाटै हराएका छन् ।

कर्मचारीहरू आफ्नो कार्यक्षेत्रमा नजाँदा प्रादेशिक कार्यालयका काम प्रभावित बनेका छन् । सचिवदेखि कार्यालय सहयोगीसमेतका कर्मचारी खटाएको ठाउँमा नगएपछि सरकार आक्रामक रूपमा प्रस्तुत भएको छ । खटाएका प्रदेश कार्यालयमा नजाने निजामती कर्मचारीलाई सरकारले कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशमा खटाइएका कर्मचारीलाई तत्काल रमाना दिन सम्बन्धित कार्यालय प्रमुखलाई पटक–पटक ताकेता गरिरहेको जनाएको छ । तर, खटाएका कर्मचारीले विभिन्न शक्तिकेन्द्र प्रयोग गरेर सरुवा रद्द गर्न दबाब दिन लागेको र खटाएको ठाउँमा नगएपछि उनीहरूमाथि आवश्यक कारबाही गर्नुपर्ने स्थितिमा पुगेको प्रधानमन्त्री कार्यालयलाई उद्धृत गर्दै नयाँ पत्रिका दैनिकले समाचार लेखेको छ ।

समाचारअनुसार, प्रदेशमा खटाइएका कर्मचारीहरू विभिन्न बहाना बनाएर राजधानीमै बसेपछि प्रधानमन्त्री कार्यालय र सामान्य प्रशासन मन्त्रालय आक्रामक बनेको हो । सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले मंगलबारसम्म पनि खटाएको कार्यालयमा नपुग्ने कर्मचारीविरुद्ध कारबाही प्रक्रिया अघि बढाउने तयारीमा मन्त्रालय रहेको जानकारी दिए । उनले निजामती सेवा ऐन २०४९ को दफा ६१ को ‘च’ अनुसार कारबाही हुने बताए ।

निजामती सेवा ऐन २०४९ को दफा ६१ मा कर्मचारीलाई सेवाबाट हटाउने वा बर्खास्त गर्न सक्नेसम्बन्धी व्यवस्था छ ।

प्रहरीले ‘खोजिरहेका’ सिलवाल प्रधानमन्त्री निवासमा

कार्यसम्पादन मूल्यांकन कीर्ते मुद्दामा प्रहरीले व्यापक खोजी गरिरहेका पूर्वडीआईजी एवं एमाले सांसद् नवराज सिलवाल केपी ओली प्रधानमन्त्री बनेलगत्तै सार्वजनिक स्थानमा देखिएका छन् । कान्तिपुर दैनिकका अनुसार उनी सोमबार साँझ एमाले नेता माधवकुमार नेपालसँग प्रधानमन्त्री ओलीलाई भेट्न उनको सरकारी निवास बालुवाटार पुगेका थिए ।

सरकारी छाप दस्तखत कीर्ते मुद्दामा सर्वोच्च अदालतको आदेशपछि प्रहरीले सिलवालको व्यापक खोजी जारी राखेको छ । पुस दोस्रो साता मात्रै महानगरीय प्रहरी परिसर, काठमाडौंले सिलवालाई बयानका लागि उपस्थित गराउन भन्दै प्रहरी परिसर, ललितपुरलाई पत्रचार गरेको थियो । सिलवाल फेला नपरेपछि प्रहरी प्रधान कार्यालयले सातै प्रदेशका प्रहरी कार्यालयलाई पत्राचार गर्दै खोजी जारी राख्न सर्कुलर गरेको थियो । यति गर्दा पनि फेला नपरेपछि प्रहरी प्रधान कार्यालयले सिलवालका नाममा इन्टरपोलमार्फत डिफ्युजन नोटिस समेत जारी गरिसकेको छ । यहीबीचमा सिलावल प्रधानमन्त्री निवास बालुवाटार पुगेको कान्तिपुर दैनिकको समाचारमा उल्लेख छ ।

फेरि भेटियो पराजुलीको अर्को जन्ममिति !

जन्ममिति विवादमा आएका प्रधानन्यायाधीश गोपाल पराजुलीको पाँचौ जन्ममिति खुलेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

‘पराजुलीको पाँचौ जन्ममिति’ शीर्षकको समाचारमा कान्तिपुरले लेखेको छ– चितवनको शारदानगरस्थित श्री शारदा माविबाट लिएको स्थानान्तरण प्रमाणपत्र (ट्रान्सफर सर्टिफिकेट) को विवरणअनुसार उनको जन्ममिति २००९ साल चैत १५ गते देखिन्छ । प्रधानन्यायाधीश पराजुलीको शैक्षिक प्रमाणपत्र र नागरिकता फरक–फरक जन्ममिति भेटिएपछि उत्पन्न विवाद अझै निरुपण हुन सकेको छैन ।’

समाचार अनुसार ट्रान्सफर सर्टिफिकेटमा प्रधानन्यायाधीश पराजुलीको त्यतिबेलाको उमेर १८ वर्ष २ महिना १० दिन उल्लेख छ । यसअघि पराजुलीको फरक फरक जन्ममिति भएको ४ वटा डकुमेन्ट फेला परेकोमा पाँचौ जन्ममिति उल्लेख सर्टिफिकेट भेटिएको हो ।

लुकाइए देउवा सरकारका २५० बढी निर्णय


अघिल्लो सरकारले साढे दुई महिनायता गरेका २५० भन्दा बढी निर्णय प्रधानमन्त्री कार्यालयले अहिलेसम्म गुपचुप राखेको छ। कर्मचारीकै आडमा ती निर्णय लुकाइएको हो।

शेरबहादुर देउवा नेतृत्वको सरकारले त्यस अवधिमा १५ पटकसम्म मन्त्रिपरिषद् बैठक राखेर गरेका निर्णय अहिलेसम्म कार्यालयको वेबसाइटमा राखिएको छैन। तीमध्ये १०–१५ वटा निर्णय मात्रै सार्वजनिक गरिएको समाचारलाई अन्नपूर्ण पोस्ट दैनिकले भित्री पृष्ठमा स्थान दिएर लेखेको छ ।

प्रधानमन्त्री कार्यालयका बैठक र सूचना शाखाका अधिकारीको गैरजिम्मेवारी र बेवास्ताका कारण राज्यका निर्णय जनताको पहुँचसम्म पुग्न नसकेको हो।

हुम्लाको दुःखः हेलिकोप्टरबाट गाडी, खच्चडबाट इन्धन

हुम्लामा हेलिकोप्टरबाट ढवानी भएका गाडी चलाउन खच्चडबाट इन्धन ढवानी गर्ने गरिएको छ । गाडी मालिकहरुले छिमेकी जिल्ला मुगेको गमगडीबाट इन्धन खरिद गरेर खच्चडबाट ढुवानी गर्न थालेको समाचार राजन रावतले गोरखापत्र दैनिकमा लेखेका छन् ।

हेलिकोप्टरबाट इन्धन ढुवानी गर्दा झनै महँगो पर्ने भएपछि गाडी मालिकहरुले मुगुबाट केही सस्तो हुने भएपछि खच्चडबाट इन्धन ढुवानी गर्न थालेको समाचारमा उल्लेख छ ।

हेलिकोप्टरबाट दइन्धन ढुवानी गर्दा प्रतिलिटर ३८० रुपैयाँ पर्ने तर मुगुबाट खच्चडमा ढुवानी गर्दा २५० मा आउने भएपछि गाडी व्यवसायी यसतर्फ लाग्न थालेको खार्पनाथ यातायात प्रालिका अध्यक्ष सरोज रावतले गोरखापत्रसँग बताएका छन् ।

र, यो पनि–जहाँ धाराबाट आउँछ दूध


सामान्यता धाराबाट पानी आउँछ । तर ललितपुरमा एउटा यस्तो धारा छ, जहाँबाट पानी होइन, दूध आउँछ ।

नागरिक दैनिकका अनुसार, ललितपुरको इकुडोलको धाराबाट पानी नभएर दूध आउने गरेको हो । किसानको घरबाट दूध संकलन केन्द्रसम्म दैनिक धाउनुपर्ने बाध्यता अन्त्य गर्न यस्तो तरिका अपनाइएको हो ।

इकुडोलबासीले दूध संकलनका लागि यो उपाय अपनाएको १० वर्ष भइसकेको समाचारमा उल्लेख छ । ०६४ वैशाख १ गते इकुडोलका व्यवसायी भीमसेन आचार्यले दूध संकलनका लागि यो तरिका अपनाएका थिए । सडकको सहज पहुँच नभएका ग्रामीण क्षेत्रबाट दूध संकलन गर्न कठिनाइ भएपछि यस्तो प्रविधि सुरु गरेको आचार्य बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment