Comments Add Comment

एमाले-माओवादी सहमतिमा चिनियाँ उपमन्त्रीको चासो, पार्टी एकीकरणको स्वागत

भेटका अवसरमा प्रचण्डलाई चिनियाँ राष्ट्रपतिले लेखेको पुस्तक उपहार दिँदै चिनियाँ उपमन्त्री येझाऊ । तस्वीर: प्रचण्डको सचिवालय

८ फागुन, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री येझाऊले एमाले र माओवादी बीच भएको सात बुँदे सहमतिमा चासो देखाएका छन् । सहमति भएको भोलिपल्टै माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर येझाऊले ७ बुँदेमा चासो व्यक्त गरेका हुन् ।

सोमबार राति बालुवाटारमा एमाले र माओवादीबीच पार्टी एकताका सात आधारमा हस्ताक्षर भएको थियो । सहमति भएको २४ घण्टा नबित्दै येझाऊ माओवादी अध्यक्ष प्रचण्डको निवास खुमलटार पुगेका थिए ।

भेटवार्तामा सात बुँदे सहमतिपछिको राजनीतिक घटनाक्रम तथा चीन र नेपाल बीच आपसी सहयोगबारे छलफल भएको थियो । अध्यक्ष प्रचण्डले नेपालमा राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि पार्टी एकता गर्ने निर्णयमा दुबै पार्टी पुगेको जानकारी गराएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ । प्रचण्डले सहमतिलाई नेपाली इतिहासको दूरगामी परिघटना भएको बताए ।

आर्थिक विकास गरेर समाजवादको लामो यात्रामा जाने उद्देश्यका साथ सुरु भएको एकताले नेपाली विशेषता अनुरुपको समाजवादको सैद्धान्तिक कार्यदिशा निर्माण गर्ने समेत बताएका थिए ।

चिनियाँ उपमन्त्रीले दुई पार्टीको एकीकरणको स्वागत गर्दै चीन सरकारसँग यसअघि भएका सम्झौताहरु व्यवहारमा रुपान्तरण हुने विश्वास व्यक्त गरेका थिए । यो एकताले राजनीतिक स्थायित्व र विकासका निम्ति धेरै ठूलो काम गर्ने उनको भनाइ थियो । उनले एकीकृत पार्टीलाई चीनको तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता समेत व्यक्त गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

नेपालको स्थायित्व, समृद्धि र विकासका लागि चीन सरकारले नेपाल सरकारलाई विगतदेखि पुर्याउँदै आएको सहयोगलाई निरन्तरता दिँदै भविष्यमा झन् ठूलो सहयोग गर्नेसमेत उनले बताएका थिए ।

भेटका अवसरमा उपमन्त्री येझाऊले अध्यक्ष प्रचण्डलाई चिनियाँ राष्ट्रपती शी जिनपिङले लेखेको पुस्तक ‘द गभर्नेन्स अफ चाइना-२’ हस्तान्तरण पनि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment