Comments Add Comment

पूर्वराज्यमन्त्रीको गिरफ्तारीमा प्रदेशका गृहमन्त्री बेखबर !

८ फागुन, काठमाडौं । प्रदेश १ को मन्त्रिपरिषदमा हिक्मत कार्कीले आन्तरिक मामिला अर्थात गृहमन्त्रालय सम्हालेका छन् । कार्कीको प्रदेशमा विप्लव माओवादीका नेता एवं पूर्वराज्यमन्त्री पदम राई र शुदर्शन ओलीलाई प्रहरीले पक्राउ गरेको छ । र, यही गिरफ्तारीविरुद्ध मंगलबार विप्लव माओवादीले नेपाल बन्द गरेको छ ।

राष्ट्रिय सम्मेलनमा सहभागी आफ्ना नेतालाई रिहा नगरिए प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाउनेसम्मको कार्यक्रम नेकपाका महासचिव विप्लवले घोषणा गरेका छन् ।

केन्द्रमा केपी ओली नेतृत्वको वाम सरकार छ । प्रदेशमा १ मा पनि वाम सरकार नै छ । तर, बिराटनगरको गुद्रीबजारमा विप्लव माओवादीको युवा संगठनले आयोजना गरेको राष्ट्रिय सम्मेलनमा प्रहरीले हस्तक्षेप गरेर नेताहरुलाई पक्राउ गर्दा वाम सरकार बेखबर छ ।

आखिर, कसको आदेशले मोरङ प्रहरीले विप्लव समूहका नेताहरुलाई सम्मेलन स्थलबाट गिरफ्तार गर्‍यो ? उनीहरुलाई किन सार्वजनिक अपराधको मुद्दा चलाइयो ? यसबारेमा प्रदेश १ का गृहमन्त्री हिक्मत कार्की बेखबर छन् ।

अनलाइनखबरलाई प्राप्त जानकारीअनुसार जिल्ला प्रशासन कार्यालयमा अधिकारीहरुसमेत शान्तिपूर्ण कार्यक्रममा सहभागी पूर्वराज्यमन्त्री राई र नेता शुदर्शन वलीलाई रिहा गर्नुपर्ने पक्षमा छन् । जिल्लाका सरकारी अधिकारीले यसबारे प्रदेशका गृहमन्त्री काकीसँग पनि यसबारे कुरा गरेका छन् । तर, मन्त्री कार्कीले ‘माथि कुरा गर्छु’ भन्ने जवाफ दिएको स्रोतले बतायो ।

स्रोतका अनुसार केपी ओली सरकारविरुद्ध विप्लव माओवादीलाई उत्तेजित पार्नका लागि केही प्रहरी अधिकारीहरु र गृहसचिव मोहनकृष्ण सापकोटाको अगुवाइमा विप्लव माओवादीका नेताहरु थुनिएका हुन् ।

त्यसो त जिल्ला प्रशासन कार्यालय मोरङका कर्मचारीले बिराटनगरको गिरफ्तारी काण्डबारे प्रधानमन्त्री ओलीलाई सूचना दिन खोजेको तर, सम्पर्क हुन नसकेको गुनासो अनलाइनखबरकर्मीसँग गरे ।

यसबारे सिडिओ कार्यालयका कर्मचारीले एमाले नेता विनोद ढकाललाई समेत सम्पर्क गरेर प्रधानमन्त्रीलाई परिस्थितिबारे जानकारी गराइदिन भनेको स्रोतले अनलाइनखबरलाई बतायो ।

पूर्वराज्यमन्त्री राईको गिरफ्तारीको विषयमा बुझ्न पटक-पटक टेलिफोन गर्दा पनि आन्तरिक मामिलामन्त्री हिक्मत कार्कीको फोन उठेन ।

यो पनि पढ्नुहोस्

विप्लवलाई के गर्ने ? ओली र प्रचण्ड बिलखबन्दमा 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment