Comments Add Comment

काठमाडौं र ललितपुरमा भएका दुर्घटनामा २ जनाको मृत्यु


९ फागुन, काठमाडौं । काठमाडौं र ललितपुरमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ललितपुरको बालकुमारीमा भएको दुर्घटनामा चितवन कठार घर भई हाल काठमाडौंको काँडाघारी बस्ने ३२ वर्षीय सुस्मा लामाको मृत्यु भएको हो ।

पैदल हिँडिरहेकी उनलाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएर भागेको र ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी काठमाडौंको नेपालटारमा बससँग ठोक्किएर मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । मृत्यु हुनेमा नुवाकोटका २६ वर्षीय चन्द्रप्रकाश मोक्तान रहेका छन् ।

गुडिरहेको बसको पछाडि ठोक्किएर मोक्तानको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा खोटाङका मिलन परियार घाइते भएका छन् । उनको उपचार ट्रमा सेन्टरमा भइरहेको छ ।

विरोधमा विद्यार्थीको प्रदर्शन

यसैबीच, घटनाको विरोधमा बुधबार बिहान विद्यार्थीहरुले नेपालटारमा प्रदर्शन गरेका छन् । नेपालटारका दुई कलेज ग्रामीण आदर्श र एनआरका विद्यार्थीले प्रदर्शन गरेका हुन् ।

विद्यार्थीहरुले बस चालकको लापरबाहीका कारण दुर्घटना भएको भन्दै दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति तथा उपचारको व्यवस्था गर्न माग गरेका थिए । प्रदर्शनका कारण केहीबेर यो क्षेत्रको सवारी आवागमन प्रभावित बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment