Comments Add Comment

बैशाखदेखि शिक्षण अस्पतालमै कलेजो प्रत्यारोपण !

टिचिङको 'स्टार्डम' फर्काउने चिकित्सकको धोको

९ फागुन, काठमाडौं । जतिबेला डा. रमेशसिंह भण्डारी त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपणको योजना बुनिरहेका थिए, धेरैले नाक खुम्च्याउँदै शंसय व्यक्त गर्थे- नेपालमै ? त्यो पनि सरकारी अस्पतालमा ?

नेपालका सरकारी अस्पताल र त्यहाँ पाइने सेवा सुविधाबारे आम मानिसहरुले प्रश्न उठाइरहेका बेला त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण गर्ने योजना पत्यार नलाग्नु स्वभाविकै थियो । तर, करिव ३ वर्षको प्रयासपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल कलेजो प्रत्यारोपणको अन्तिम तयारीमा जुटेको छ ।

कुनै अवरोध भएन भने आउँदो बैशाखबाट शिक्षण अस्पतालमै कलेजो प्रत्यारोपण सुरु हुनेछ ।

तयार भयो टिम

डा. भण्डारी आफैं नेपालमा सबैभन्दा धेरै लिभर सर्जरी गर्ने डाक्टरमध्ये एक हुन् । उनकै अगुवाईमा कलेजो प्रत्यारोपण सुरु गर्न शिक्षण अस्पतालमा डाक्टरहरुको टिम नै तयार भएको छ ।

एनेस्थेसियामा डा. अमित शर्मा भट्टराई र हिपाटोलोजीमा डा. राहुल पाठक छन् । डा. पाठकले हालै मात्र एक महिना अमेरिकामा प्रत्यारोपणबारे अध्ययन गरेर आएका हुन् । क्रिटिकल केयरमा डा. सुवास आचार्य र डा. प्रमेशसुन्दर श्रेष्ठ छन् ।

प्रत्यारोपण सुरु गर्न आचार्यले क्यानडा र श्रेष्ठले अमेरिका पुगेर अध्ययन गरेका थिए । सर्जरीमा जयन शाह र  इन्टरभेन्सनल रेडियोलोजीमा दिनेश चटौत र अजित थापा छन् । पिडियाट्रिक ट्रान्सप्लान्टमा डा. सूर्यबहादुर थापा छन् । पिडियाट्रिक ट्रान्सप्लान्टमा अध्ययन गर्न भारत पुगेका उनी केही समयमै नेपाल आइपुग्नेछन् ।

दक्षिण एशियामै नाम चलेको शिक्षण अस्पतालको स्टार्डम अबको ५/६ वर्षमा फर्काउनुपर्छ । त्यो फर्काउने एउटै माध्यम प्रत्यारोपण हो- भण्डारी

प्याथोलोजीमा अनिलदेव पन्त छन् । डा. भण्डारीले भने, ‘लगभग टिम तयार भएको छ ।’

भण्डारीले सन् २००९ मा छात्रवृत्ति पाएर अष्ट्रेलिया लिभर सर्जरीको अध्ययन गर्ने मौका पाएका थिए, त्यही बेला उनलाई लाग्यो कि नेपालमा पनि सम्भव छ ।

तर, उनी एक्लैलाई लागेर केही हुनेवाला थिएन । न उनी आफैंसँग पर्याप्त अनुभव थियो न टिम । तर, उनले हार मानेनन्, बरु आफूले अध्ययन गरेको कलेजसँग कुराकानी मिलाए र प्रत्यारोपणबारे अध्ययन गर्न २०१४ मा फेरि अष्ट्रेलिया पुगे ।

एक वर्ष अध्ययन गरेर फर्किएपछि ‘म एक्लैले हुँदैन, बलियो टिम चाहिन्छ’ भन्ने लाग्यो ।

शिक्षण अस्पतालमा डाक्टरहरु त एकसेएक थिए तर, प्रत्यारोपणको अध्ययन पनि चाहियो । त्यसैले उनले त्यहीँ कार्यरत चिकित्सकहरुलाई कन्भिस गरे, कतिलाई त अनुनयविनय नै गरे । उनीहरुले विभिन्न देश पुगेर प्रत्यारोपणबारे अध्ययन गरेका छन् । डा. भण्डारी भन्छन्, ‘म एकदमै खुसी छु, टिम तयार भएको छ ।’

टिम त तयार भयो । तर, उनलाई अर्को प्रश्न आउन थालेको छ, कति टिकाइराख्न सक्छौं ?

उनी आफैं पनि यो ठूलो चुनौती भएको मान्छन् । मान्छेको मन कहिले परिर्वतन हुन्छ भन्न सकिन्न । तर, आफ्नो टिममा भएका सबैमाथि विश्वास छ ।

साथै निजी अस्पतालहरुले अहिले नै कलेजो प्रत्यारोपणमा हात हाल्ने सम्भावना पनि उनले देखेका छैनन् । किनकी यसमा ठूलो खर्च हुन्छ, जुन बिरामीबाट लिएर मात्र सम्भव छैन । अरु उपचारमा भएको नाफा यसमा खर्च गर्नुपर्छ ।

डा. भण्डारी भन्छन्, ‘अपरेशन गरे मात्र सकिँदैन, त्यसपछि थुप्रै प्रक्रिया हुन्छ । विरामीहरुको त्यो भिड म्याजेन गर्न यस्तै डेडिकेटेड अस्पतालले मात्र सक्छ ।’

अष्ट्रेलियन टिम सघाउन तयार छ

कलेजो प्रत्यारोपणका लागि शिक्षण अस्पतालको टिमलाई सघाउन विदेशी टोली पनि तयार भएको छ ।

डा. भण्डारीले सुरुमा अध्ययन गरेको युनिभर्सिटीको टोली बेेलाबेला नेपाल आएर सघाइरहेको छ र प्रत्यारोपण सुरु हुँदा एक महिनासम्म आएर सघाउन तयार छ । भन्छन्, सुरुका ४/५ वटा प्रत्यरोपण हामी आफैं गर्छौ तर, उहाँहरुलाई पनि सँगै राख्छौं ।’

अपेक्षा छ कि यो सफल हुन्छ । तर, जटिल प्रत्यरोपण भएकाले सम्भावित सबै परिणामका लागि टिम तयार छ । यदि कुनै केश सफल भएन भने अथ अध्ययन गर्ने र शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सफल पार्ने यो टिमको अठोट छ ।

महिनामा कम्तिमा ३/४ वटा र वर्षमा ४०/५० वटा कलेजो प्रत्यारोपण गर्ने योजना छ ।

कुनै यकिन तथ्यांक त छैन तर, कलेजो प्रत्यारोपण गर्न नेपालबाट बाषिर्क ४०/५० जना बिरामीहरु भारत जाने गरेको अनुमान छ । यो धेरै हदसम्म रोक्न सक्ने टिमको अपेक्षा छ ।

‘गगन मेरै लागि मन्त्री भएजस्तो भयो’

टिम त बनिरहेको थियो तर, प्रत्यारोपण सुरु गर्नलाई शिक्षण अस्पतालमा भएकै संरचना र उपकरण प्रर्याप्त थिएन । एनेस्थेसिया र सर्जिकलका उपकरणहरुसँगै आईसीयूमा डेडिकेटेड बेड चहियो । अस्पताल आफैंले खर्च गर्ने अवस्था छैन ।

प्रचण्ड सरकारमा गगन थापा स्वास्थ्यमन्त्री बने । डा. भण्डारीको टिम मन्त्रालय पुग्यो र आफ्नो योजना सुनायो । डा. भण्डारी भन्छन्, ‘गगन मेरै लागि मन्त्री भए जस्तो भयो । उहाँले तपाईहरु गर्न सक्नुहुन्छ भने म सहयोग गर्छु भन्नुभयो ।’

सरकारले १५ करोड उपलब्ध गरायो । त्यही रकमले अहिले शिक्षण अस्पतालको आईसीयूमा चारवटा बेड तयार भइरहेको छ । ५ करोडको त सर्जिकल सामान मात्र खरिद हुँदैछ भने सर्जरीका लागि अत्यावश्यक सामान पनि मगाइएको छ ।

आईसीयूको बेड तयार भएपछि शिक्षण अस्पतालमा पहिलो कलेजो प्रत्यारोपणको मिति तय हुन्छ । सम्भव भएसम्म आगामी अपि्रलमा सुरु गर्ने योजना छ ।

स्टार्डम फर्काउने धोको

त्रित्रि शिक्षण अस्पतालमा एक समय शिक्षण अस्पताल दक्षिण एशियाकै उत्कृष्ट अस्पतालमध्ये एक हो । पहिले पनि विदेशबाट विद्याथीहरु अध्ययन गर्न आउँछन् । तर, पछिल्लो समय शिक्षण अस्पताल अनसनले मात्र चिनिएको छ ।

अब प्रत्यारोपणबाट शिक्षण अस्पतालको पुरानो छवि फर्काउने डा. भण्डारीको टिमको योजना छ । डा. भण्डारी भन्छन्, ‘दक्षिण एशियामै नाम चलेको शिक्षण अस्पतालको स्टार्डम अबको ५/६ वर्षमा फर्काउनुपर्छ । त्यो फर्काउने एउटै माध्यम प्रत्यारोपण हो ।’

उनले अघि भने, ‘मैले बुझेसम्म प्रत्यारोपणका लागि मल्टी स्पेसालिटी सर्भिस भएको, सबै गर्न सक्ने र अनुभव पनि भएको शिक्षण अस्पताल नै आइडल ठाउँ हो ।’

बैतडीमा जन्मिएका भण्डारीले काठमाडौंमा शिक्षादिक्षा पाए र धरानबाट एमबीबीएस गरे । शिक्षण अस्पताल एमएस र एमसीएस गरेपछि उनी त्यही डेरा जमाएका छन् ।

समय परिस्थितिले डाक्टर बनेको बताउने उनी आफूलाई एकेडेमिसियन बनाउन चाहन्छन्, यसका लागि शिक्षण अस्पताल भन्दा अरु ठाउँ छैन भन्ने लाग्छ ।

‘जसरी मानिसहरुले हावर्ड युनिभर्सिटी पढेको भन्छन्, हामी टिचिङमा पढेकाहरुलाई यहाँ काम गर्न पाउनु त्यस्तै गौरबको विषय हुन्छ’ कुराकानीको बिट मार्दै डा. रमेशसिंह भण्डारीले भने, यहाँ एमबीबीएस, एमएस सबैलाई पढाउँछु, त्यहीअनुसार छवि छ । पैसा भनेको त सबैले कमाउँछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
राजकुमार श्रेष्ठ

राजकुमार श्रेष्ठ अनलाइनखबर डटकमका समाचार संयोजक हुन् । राजनीतिक ब्युरोमा कार्यरत श्रेष्ठले मधेस र जनजाति राजनीतिमा दख्खल राख्छन् ।

ट्रेन्डिङ

Advertisment