Comments Add Comment

एक वर्ष छिप्पिए ‘बले’, जापान बस्ने युवतीसँग छन् अफेयरमा

चर्चित हास्यटेलिश्रृंखला ‘भद्रगोल’ मा बलेको भूमिका निर्वाह गरेर चर्चामा आएका सागर लम्साल आजबाट २८ पुरा भएर २९ वर्षमा लागेका छन् । दिउँसो अनलाइनखबरले फोन गर्दा उनी भद्रगोलको सुटिङमा व्यस्त थिए ।

‘कस्तो बोर भयो, नी’, उनी भन्दै थिए, ‘जन्मदिनमा पनि सुटिङ गर्न आउनुपर्‍यो ।’

यद्यपि, भद्रगोलका सहकर्मीले केक काटेर जन्मदिन मनाइदिएको सागरले सुनाए ।

०००

स्याङ्जेली ठिटो सागर प्लस टु पास गरेपछि विदेशिने चक्करमा थिए । यूरोपका लागि भिसा अप्लाई गरेका पनि हुन्, तर एम्बेसीले भिसा दिएन । त्यसपछि उनी सीए पढ्ने भनेर भारत लागे ।

‘बहाना सिए पढ्ने थियो, तर, मेरो उद्देश्य त्यहाँ गएर एक्टिङ सिक्ने र संघर्ष गर्ने थियो,’ उनी भन्छन् ।

तर, सागर आफ्नो उद्देश्यमा सफल भएनन् । न सिए पढे न अभिनय सिके । बरु एक वर्षमै नेपाल फर्केर बीबीएस ज्वाइन गरे । र, यहीँ विरेन्द्र हमालकहाँ एक्टिङ कोर्स थाले ।

अभिनय सिकेको ६ वर्षपछि बल्ल उनले एउटा फिल्ममा चान्स पाए । आदित्यविक्रम लम्सालद्वारा निर्देशित फिल्म ‘लोफर’ मा उनलाई ‘बले’ नामको एउटा लठेप्रो चरित्रमा अभिनय गर्ने प्रस्ताव आयो । सो क्यारेक्टर हिट भयो ।

लोफर हेर्न पुगेका अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’ ले सागरको अभिनय र भूमिका मन पराए । र, यही भूमिकालाई ‘भद्रगोल’ मा भित्र्याउने प्रस्ताव सागरसित गरे । सागर खुशीसाथ तयार भए ।

यद्यपि फिल्ममा गरेको रोल सिरियलमा गर्दा चल्ला त भन्ने डर उनलाई थियो । तर, पहिलो एपिसोडमै उनलाई दर्शकहरुले मन पराए । फलस्वरुप यो चरित्र अहिलेसम्म निरन्तर छ । ‘ब्रो’लाई ‘बोरो’ भन्ने उनको शैली निकै रुचाइएको छ ।

यसबीचमा उनले अर्को एउटा हिट फिल्म ‘लज्जा’ मा काम गरे । उनले अभिनय गरेको तेस्रो फिल्म प्रदर्शनको क्रममा रहेको छ ।

०००

सरल र स्वभाविक अभिनयका लागि चिनिन्छन् सागर । देश र विदेशका स्टेजमा अहिले उनको राम्रै डिमान्ड छ । स्टेजमा उनी हरी निरौला ‘कक्रोच’ सँग जोडी बाँधेर प्रस्तुति दिने गर्छन् ।

छोटो समयमै उनले अष्ट्रेलिया, अमेरिका, हङकङ, कोरियादेखि बेलायतसम्म भ्रमण गर्न भ्याइसके । एउटा देशको भ्रमण गर्दा २ देखि ६ लाखसम्म कमाई हुने गरेको उनले सुनाए । देशभित्रका स्टेज कार्यक्रम गर्दाको ‘रेट’ भने खुलाउन चाहेनन् ।

‘अहिलेसम्मको कलाकारीता यात्राबाट आर्थिक रुपमा पनि सन्तुष्ट छु,’ उनी भन्छन्, ‘तर, भविष्य सुरक्षित गर्नका लागि चाँडै अन्य साइड विजनेस पनि सुरु गर्ने योजना छ ।’

यद्यपि, रेस्टुरेन्ट खोल्ने कि पोल्टिफार्म चलाउने भनेर टुगोमा पुगिसकेका छैनन् । साथै, निकट भविष्यमा आफ्नै प्रोडक्सनमा एउटा फिल्म निर्माण गर्ने पनि उनको सोच छ ।

०००

सागर यतिबेला नयाँ–नयाँ प्रेममा छन् । सुरुमा आनाकानी गरे पनि पछि उनले आफू प्रेममा परेको स्वीकार गरे ।

‘दुई महिना मात्रै भयो,’ उनले केही लजाउँदै भने । जापानमा बस्ने केटीका विषयमा उनले थप केही बताउन मानेनन् ।

उनले आफ्नो प्रेमको विषयमा परिवारका केही सदस्य र सिमित साथीभाईलाई थाहा दिएको बताए ।

‘तर, बालाई थाहा छैन,’ उनले भने ।

केटीले भने आफ्नो परिवारमा बताउनै बाँकी छ ।

सागरले भने, ‘उनको परिवारले सहमति दिए भने आउँदो वैशाखमा बोलाएर बिहे हान्दिने हो । सहमति मिलेन भने अर्को केटी खोज्नुपर्ला ।’

०००

आफ्नो नजरमा सागर कस्ता व्यक्ति हुन् ?

उनी भन्छन्, ‘भद्रगोलको बले जस्तो छ, म पनि लगभग त्यस्तै नै छु । लप्पन छप्पन जान्दिनँ, झूटो बोल्न आउँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment