Comments Add Comment

प्रदेश २ का मुख्यमन्त्रीले आज विश्वासको मत लिने


१० फागुन, धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज संसद्मा विश्वासको मत लिने भएका छन् ।

संविधानको धारा १६८ को उपधारा ४ मा प्रदेश मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ । बहुमत सांसदको समर्थनमा यही फागुन २ गते मुख्यमन्त्री नियुक्त भएका राउतले आज विश्वासको मत लिन लागेका हुन् ।

प्रदेश संसद् सचिवालयका उपसचिव रञ्जितकुमार यादवले दिएको जानकारीअनुसार आज दिउँसो १ बजे बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राउतले सम्बोधन गर्दै विश्वासको मतका लागि प्रस्ताव गर्नेछन् ।

संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता लालबाबु राउत राष्ट्रिय जनता पार्टी नेपालको समर्थनमा मुख्यमन्त्रीको पदमा नियुक्त भएका थिए ।

प्रदेश २ को प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरी १०७ सांसद छन् । जसमा मुख्यमन्त्री रहेको दल संघीय समाजवादी फोरमका २९ र राष्ट्रिय जनता पार्टीका २५ सदस्य छन् । दुवै दलको कूल सिट संख्या ५४ रहेको छ । मुख्यमन्त्री नियुक्तिका लागि आवश्यक ५४ मत यी दुई पार्टीसँगै छ ।

मतदानमा आफ्नो पक्षमा ५४ मत वा बढी आएमा लालबाबु राउत मुख्यमन्त्री कायम रहनेछन् ।

आज विश्वासको मत प्राप्त गर्नका लागि मुख्यमन्त्री राउतले नेपाली कांग्रेसलाई पनि आग्रह गरेका छन् ।

उनले बुधबार राजपा संसदीय दलका नेता तथा भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलसँगै गई कांग्रेस संसदीय दलका नेता रामसरोज यादवसँग विश्वासको मत मागेका हुन् ।

 

आज मुख्यमन्त्री राउतले मन्तव्य राखेपछि अन्य सांसदहरुले पनि धारणा राख्नेछन् । त्यसपछि छलफलमा उठेका विषयमा मुख्यमन्त्री राउतले जवाफ दिनेछन् । बैठकमा मुख्यमन्त्रीले जवाफ दिएपछि सभामुखले मतदानका लागि आह्वान गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment