Comments Add Comment

प्रधानमन्त्रीको दैनिकीः सिंहदरबारमा २ दिन हाजिर, २ दिन गयल !

एक हप्तामा केपी ओलीले के-के गरे ?

१० फागुन, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेको बुधबार ७ दिन बितेको छ । एक साताको अवधिमा प्रधानमन्त्री ओलीले के-के काम गरे ? हामीले प्रधानमन्त्रीको सात दिने डायरी खोतल्ने प्रयास गरेका छौं ।

सात दिनको अवधिमा प्रधानमन्त्री ओली दुई दिनमात्रै कार्यालयमा हाजिर भएका छन् । पहिलो कार्यभार सम्हालेर क्याबिनेट बसेको दिन । अनि ६ गते बालुवाटार सर्नुभन्दा केही घण्टा अगाडि ।

प्रधानमन्त्रीको बाँकी समय सिंहदरबार बाहिरै बितिरहेको छ । यो सातदिनको अवधिमा एकदिन शनिबार परेको थियो भने शुक्रबार र सोमबार दुई दिन सरकारी विदा परेको थियो । विदाको दिनबाहेक प्रधानमन्त्री ओली मंगलबार विप्लव माओवादीले नेपाल बन्द घोषणा गरेको दिन पनि सिंहदरबार गएनन् । र, बुधबार पनि कार्यालयमा हाजिर भएनन् ।

प्रधानमन्त्री बनेलगत्तै सरकारलाई पूर्णता दिनुपर्ने प्रधानमन्त्रीको दायित्व हो । तर, यसवीचमा उनको समय शुभकामना र अभिनन्दन थाप्ने, महोत्सव उदघाटन गर्ने लगायतका समारोहमा समेत खर्च भएको छ । यद्यपि यसवीचमा राष्ट्रियसभा सदस्य र महान्यायाधिवक्ता नियुक्त गर्न प्रधानमन्त्री ओली सफल भएका छन् ।

प्रधानमन्त्रीले पदभार सम्हालेको पहिलो सातामै सरकार विस्तार गर्ने बताइएको भए पनि ओली सफल भएनन् । जिम्मेवारीको सप्ताहन्तमा आज  सरकार विस्तार गर्ने भनिए पनि प्रधानमन्त्री विभिन्न कार्यक्रमतिर अल्मलिएकाले मन्त्रालयहरुको टुंगो लाग्न सकेन ।

प्रधानमन्त्री ओलीले जिम्मेवारी सम्हालेको सात दिनमा गरेका काम यस्ता छन्ः

०७४ फागुन ३ गते विहीबार

फागुन ३ गते ओलीले एमाले संसदीय दलको बैठक बसाए । यही दिन उनी प्रधानमन्त्रीको दाबी गर्न माओवादी नेताहरुसहित राष्ट्रपति कार्यालय शीतलनिवास गए । लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई प्रधानमन्त्री नियुक्त गरिन् ।

प्रधानमन्त्री नियुक्त गरेको विज्ञप्तिमा राष्ट्रपति कार्यालयले ०७४ साल फागुन ३ गते लेख्नुपर्नेमा ०७३ साल लेख्यो र पछि सच्याइयो ।

प्रधानमन्त्री नियुक्त भएकै दिन अपरान्ह ४ बजे प्रधानमन्त्री ओलीले शीतलनिवासमा सपथ ग्रहण गरे । सपथ ग्रहणमा उनले ‘ईश्वरका नाममा’ भन्ने शब्द छुटाउन खोज्दा ‘देशका नाममा’ भन्ने शब्द पनि छुटाए । यसै विषयलाई लिएर राप्रपा नेता कमल थापाले पुनः सपथ ग्रहण गरिनुपर्ने माग गरे पनि प्रधानमन्त्रीको सपथ ग्रहण सदर भयो ।

आफूले सपथग्रहण गरेलगत्तै प्रधानमन्त्री ओलीले एमाले नेता लालबाबु पण्डितलाई जनसंख्या तथा वातावरण मन्त्री र थममाया थापालाई महिला तथा वालवालिका मन्त्री बनाए ।

फागुन ३ गते प्रधानमन्त्रीको सपथग्रहण गरेपछि केपी ओलीले सिंहदरबारमा आएर पदभार ग्रहण गरे । यसक्रममा उनले सञ्चारमाध्यमलाई छोटो प्रतिक्रिया दिए । प्रतिक्रिया दिँदा ‘सीटीइभीटीबाट मान्यताप्राप्त’ भन्नुपर्नेमा ‘सीसीटीभीबाट मान्यताप्राप्त’ भन्न पुगेपछि सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई कतिपयले व्यंग्य गरे ।

कार्यभार सम्हालेकै दिन लगत्तै ३ गते साँझ तीन सदस्यीय क्याबिनेटको बैठक बस्यो । पहिलो क्याबिनेटले चुनाव सफल बनाएको भन्दै मतदातालाई धन्यवाद दिने निर्णय गर्‍यो ।

प्रधानमन्त्री भएकै रात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केपी ओलीलाई फोन गरेर बधाइ दिए ।

मन्त्री छनोटमा सरप्राइज दिएका प्रधानमन्त्री ओलीले माओवादीलाई भने पहिलो मन्त्रिमण्डलमा समेट्न नसक्दा माओवादीमा थोरै निराशा देखियो । माओवादी अध्यक्ष प्रचण्डले त आफ्ना सहकर्मीहरुसँग सरकारमा नभई बाहिरै बसेर सघाउने सम्मको प्रतिक्रिया दिन थालिसकेका थिए । तर, ७ गते राति माओवादी र एमालेवीच ७ बुँदे सहमति भएपछि माओवादी पनि सरकारमा आउने भएको छ ।

०७४ फागुन ४ गते शुक्रबार

प्रधानमन्त्री बनेको भोलिपल्ट केपी ओलीको दिन बालकोटस्थित निवासमै बित्यो । निवासमा शुभकामना दिन आएको भीडबाट उनले बधाइ ग्रहण गरे । उक्त दिन ओली निवासमा निकै ठूलो भीड जम्मा भएको थियो ।

बधाइ ग्रहणसँग केही समय निकालेर प्रधानमन्त्री ओलीले केहीबेर माओवादी अध्यक्ष प्रचण्डसँग वान टु वान वार्तासमेत गरे ।

०७४ फागुन ५ गते शनिबार

प्रधानमन्त्री ओलीले भक्तपुरमा एकजना मेडिकल सञ्चालकको घरमा जुम्ली मार्सी धानको भात खाँदै माओवादी अध्यक्ष प्रचण्डसँग ५ घण्टा लामो वार्ता गरे ।

०७४ फागुन ६ गते आइतबार

प्रधानमन्त्री बनेको तीन दिनपछि केपी ओली सरकारी निवास बालुवाटारमा सरे । साँझमा त्यहाँ उनले १९ महिना पहिले आफूले रोपेको पिपलको बोटमा पानी हाले ।

बालुवाटार सर्नुपूर्व प्रधानमन्त्री ओली केहीबेर सिंहदरबारमा थिए । सात दिनको अवधिमा उनी दुईचोटिमात्रै प्रधानमन्त्री कार्यालयमा गएका छन् ।

०७४ फागुन ७ गते सोमबार

प्रधानमन्त्री केपी ओलीले फागुन ७ गते बिहान टुंडिखेलमा आयोजना गरिएको प्रजातन्त्र दिवसमा सहभागिता जनाउनुका साथै लिखित शुभकामना सन्देश पढेर सुनाए । यसक्रममा उनले नेपाल र नेपालीको मुहारमा खुशी ल्याउने अभियान यहीबाट सुरु भएको उदघोष गरे ।

प्रजातन्त्र दिवस मनाइसकेपछि प्रधानमन्त्रीले बहादुरभवनमा निर्वाचन दिवस कार्यक्रममा सहभागिता जनाए ।

फागुन ७ गते दिउँसो प्रधानमन्त्रीले बालुवाटारमा क्रिकेट खेलाडीहरुलाई विश्वकपमा छनोटमा पुग्न सफल भएकोमा बधाइ तथा शुभकामना दिए ।

प्रधानमन्त्रीले ७ गते नै माओवादी अध्यक्ष प्रचण्डसँग वान टु वान वार्ता गरे । त्यसपछि साँझ बालुवाटारमा एमाले र माओवादीवीच डिनरसहितको छलफल भयो र करिब मध्यरातमा दुई पार्टीवीच एकताको सात बुँदे आधारपत्रमा हस्ताक्षर भयो ।

सोमबार नै बालुवाटारमा प्रधानमन्त्री ओलीले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग छोटो सम्वाद गरे । प्रधानमन्त्रीले यादवलाई सरकारमा आउन आग्रह गरे भने यादवले पहिलो संविधान संशोधन लगायतका मुद्दाहरु सम्वोधन गर्न आग्रह गरे ।

फागुन ८ गते मंगलबार

प्रधानमन्त्री केपी ओलीले यो साताभित्र गर्ने देखिने काम भनेको राष्ट्रियसभाको पूर्णता हो । मंगलबार क्याबिनेटले डा. युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेललाई राष्ट्रिय सभाका लागि सिफारिस गर्‍यो  । र, त्यसको केही घण्टा नबित्दै राष्ट्रपति कार्यालयले तीनै जनालाई मनोनित भएको सूचना जारी गर्‍यो ।

प्रधानमन्त्री ओलीले मंगलबार नै पूर्वकानूनमन्त्री अग्नि खरेललाई महान्याधिवक्तामा नियुक्तिका लागि सिफारिस गरे । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खरेललार्इ महान्यायाधिवक्तामा नियक्त गरिन् ।

फागुन ९ गते बुधबार

प्रधानमन्त्री ओली जिम्मेवारी सम्हालेको सप्ताहन्तमा दहचोकमा आयोजित दोस्रो इन्द्रदह पर्यटन महोत्सवको उदघाटनमा सहभागी भए । उनले  कालु पाण्डेको समाधिस्थलको उदघाटन गरे । साथै दहचोकबासीबाट नागरिक अभिनन्दन ग्रहण गरे ।

महोत्सव उदघाटनमा पुगेका प्रधानमन्त्री ओलीले आफू विकासको काम गर्न प्रधानमन्त्री पदमा आएको बताए ।

बुधबार प्रधानमन्त्रीले केहीबेर माओवादी अध्यक्ष प्रचण्डसँग सरकार विस्तारबारे केहीबेर छलफल गरे । तर, छलफल नटुंगिएकाले बिहीबार या शुक्रबारसम्म सरकार विस्तार गरिने प्रधानमन्त्रीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment