Comments Add Comment

मोहनविक्रमको सुझाव– फोरमलाई सरकारमा ल्याउन संविधान संशोधन नगर

जनमतविपरीत संशोधन गरे प्रतिरोध गर्ने चेतावनी


१० फागुन, काठमाडौं । वाम गठबन्धनसँग सहकार्य गर्दै आइरहेको नेकपा (मसाल) ले मधेसवादीले संविधानमा चाहेको संशोधन राष्ट्रघाती भएकाले त्यसमा सहमति नगर्न सरकारलार्इ सुझाव दिएकाे छ । एमाले–माओवादीले संविधान संशोधनमा सहमति गरेरै भए पनि संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन कसरत थालेको समाचार बाहिरिएसँगै मसालका महामन्त्री माेहनविक्रम  सिंहले विज्ञप्तिमार्फत त्यसो नगर्न सुझाव दिएका हुन् ।

सिंहले दोस्रो संविधान संशोधन, भारतीय नाकाबन्दी, भारतका कतिपय हस्तक्षेपकारी नीतिविरुद्ध एमाले उभ्भिएकाले चुनावी परिणाम वाम गठबन्धनको पक्षमा आएको उल्लेख गर्दै  संविधान संशोधनमा सहमति गर्नु जनमतविपरीत हुने जिकिरसमेत गरेका छन् ।

‘फोरमले सरकारमा सामेल हुनका लागि संविधानमा संशोधन हुनुपर्ने शर्त राखेको र त्यसप्रति एमाले सकारात्मक भएको कुरा सञ्चार माध्यमहरुले बाहिर ल्याएका छन्,’ सिंहले बिहीबार एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘फोरमलाई सरकारमा ल्याउनका लागि ओली सरकारले आफ्नो पहिलेको अडानविपरीत संविधानमा संशोधन गर्ने नीति अपनाए भने त्यो जनतामाथि विश्वासघात हुनेछ ।’

उनले देशको हितविपरीत संशोधनमा सहमति जनाए त्यसको मसालले प्रतिरोध गर्ने चेतावनी समेत दिए । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनसँग सहकार्य गरेर अघि बढेको मसालले यसलाई साथ दिँदै आइरहेको छ ।

‘संविधानमा संशोधन एउटा सामान्य प्रक्रिया हो । आवश्यकतानुसार त्यस प्रकारका कैयौँ संशोधनहरू गर्दै जानु पर्नेछ’, सिंहले विज्ञप्तिमार्फत भनेका छन्, ‘हामीले पनि संविधानमा गरिएको संघीयताको व्यवस्थालाई खारेज गर्नुपर्ने आवश्यकतामा जोड दिंदै आएका छौँ र त्यसका लागि हामीले पनि पहलकदमी गर्ने छौँ । तर मधेशवादीहरूले जुन प्रकारका संशोधनहरूमा जोड दिइरहेका छन्, तिनीहरूको प्रकृति राष्ट्रघाती प्रकारको छ । त्यसकारण तिनीहरूलाई दृढतापूर्वक अस्वीकार गर्नुपर्दछ भन्ने हाम्रो स्पष्ट र निश्चित मत छ । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment