Comments Add Comment

प्रदेश मुख्यमन्त्री र मन्त्रीको दैनिकीः थाेत्रा गाडी चढेर कार्यालय धाउने, होटलमा सुत्ने !

११ फागुन, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयहरुलाई समाचार बनाएर छापेका छन् । समाचारमा विविधता भए पनि प्राथमिकता भने राजनीतिक विषयले नै पाएको छ ।

एमाले–माओवादीबीच भएको मन्त्रालय भागबण्डाको विषयलाई आजका सबैजसो दैनिक पत्रिकाहरुले समाचार बनाएर छापेका छन् । तर पत्रिकामा छापिएका समाचारमा एकरुपता भने छैन । केहीले एमाले–माओवादीबीच १० र ७ मन्त्रालय लिने सहमति बनेको लेखेका छन् भने केहीले ११ र ७ मन्त्रालय लिने भएको जनाएका छन् । नागरिक दैनिकले भने अझै भागबण्डा नमिलेको समाचार भित्री पृष्ठमा छापेको छ ।

विशेष अदालतले नेपाल पर्यटन बोर्डमा भएको करिब डेढ अर्ब रुपैयाँ बराबरको भ्रष्टाचार काण्डमा तत्कालीन कामु प्रमुख कार्यकारी अधिकृत सुभास निरौलालाई मुख्य दोषी ठहर गरेको विषयलाई पनि आजका पत्रपत्रिकाहरुले उत्तिकै स्थान दिएर लेखेका छन् ।

‘जन्मँदै जीर्ण प्रदेश व्यवस्थापन’ शीर्षक दिएर नयाँ पत्रिका दैनिकले प्रदेश सरकार व्यवस्थापनको चित्र प्रस्तुत गरेको छ भने अन्नपूर्ण पोस्ट दैनिकले एमाले–माओवादीबीच मन्त्रालयको भागबण्डा टुंगिए पनि माओवादीमा गृह मन्त्रीका आकांक्षी धेरै हुँदा छनोट विषय पेचिलो बनेको दाबी गरेको छ ।

यसका अतिरिक्त मधेसी सरकारलाई एमालेले समर्थन गरेको, विषादीयुक्त तरकारी आयात रोक्न प्रदेश नाकामा प्रयोगशाला राख्ने तयारी गरिएको, नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुकका सूचीमा परेकोलगायत समाचारले पनि आज उत्तिकै स्थान र महत्त्व पाएका छन् पत्रपत्रिकामा ।

प्रदेश मुख्यमन्त्री र मन्त्रीको दैनिकीः थाेत्रा गाडी चढेर कार्यालय धाउने, होटलमा सुत्ने

सातवटै प्रदेशका सरकारहरु सञ्चालनमा आए पनि व्यवस्थापन भने निकै गञ्जागोल भएको छ । पूर्वाधार अभावमा प्रदेशको काम–कारबाही लठबद्र भएको विषयलाई आज नयाँ पत्रिका दैनिकले प्रमुख समाचार बनाएर छापेको छ ।

समाचार अनुसार प्रदेश व्यवस्थापन कमजोर हुँदा मन्त्री र मुख्यमन्त्रीको दैनिकी थोत्रा गाडी चढेर भद्रगोल कार्यालय धाउने र र बेलुकी होटलमा सुत्नेमा मात्रै सीमित छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका लागि जोहदा रोडमा एउटा घर तयार पारिएको थियो । तर अपायक र असुरक्षित भएको भन्दै उनी राष्ट्र बैंकको गेस्ट हाउसमा बसिरहेका छन् । आन्तरिक मामिला मन्त्री हिक्मत कार्की फुड एन्ड फन रिसोर्टमा र आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो होटेल स्वागतमा छन् ।

नयाँ पत्रिकाका अनुसार प्रदेश २ का लागि केन्द्र सरकारले दिएका पाँचमध्ये तीनवटा गाडी चल्नै नसक्ने छन् भने दुई गाडी पनि मर्मत गर्नुपर्ने भएको छ । उक्त गाडी मर्मत गर्न १७ लाख लाग्ने अनुमान छ ।

धनुषास्थित सिँचाइ कार्यालयले सभामुख सरोजकुमार यादवलाई दिएको गाडीमा सिट कभरसमेत छैन ।

प्रदेश ३ को प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेशसभा सचिवालय र सात मन्त्रालयका लागि केन्द्रबाट दुई सय ३७ कर्मचारी खटाइए पनि हालसम्म ६८ कर्मचारी मात्र हाजिर भएको समाचारमा उल्लेख छ ।

प्रदेश ४ का मुख्यमन्त्री र मन्त्रीका लागि आवास तयार हुँदैछ भने प्रदेश ५ मा २३५ कर्मचारी पठाइएकोमा ४९ जना मात्रै हाजिर भएका छन् । ६ मा पनि उस्तै दुःख छ । सरकारी निवास नपाउँदा मन्त्री होटलमा बसिरहेका छन् भने प्रदेश ७ का कर्मचारी सम्पर्कमा छैनन् ।

राष्ट्रपतिको चुनाव काठमाडौंमा

नयाँ पत्रिकामै यही फागुन २९ का लागि तय गरिएको राष्ट्रपति चुनाव काठमाडौंमा हुने अर्को खबर छ ।

समाचार अनुसार आयोगले मतदान काठमाडौंमै हुने भएकाले सातै प्रदेशका सांसद् काठमाडौं आउनुपर्ने बताएको छ ।

जनसंख्याभन्दा ७० लाख बढी मोबाइल ग्राहक

कारोबारे दैनिकले आज नेपालको जनसंख्याभन्दा ७० लाख बढी मोबाइल ग्राहक रहेको समाचार छापेको छ ।

केन्द्रीय तथ्यांक विभाग (सीबीएस) को पछिल्लो तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ८९ लाच ८० हजार छ । यसमध्ये ४० लाखभन्दा बढी वैदेशिक रोजगारीमा अनुमान गरिएको छ भने ५ लाखभन्दा बढी नेपाली विद्यार्थीका रुपमा संसारका विभिन्न मुलुकमा छन् । कारोबारका अनुसार, सिजनल रोजगारीका लागि भारतका विभिन्न सहरमा जानेको संख्या पनि २० लाखभन्दा बढी रहेको बताइन्छ । नेपालमा ठ्याक्कै कति बस्छन् भनेर अनुमान लगाउन गाह्रो छ । तर नेपालमा दूरसञ्चार क्षेत्रका ग्राहक भने कूल जनसंख्याभन्दा बढी देखिन्छन् ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार ३ करोड १२ लाख सिमकार्ड बिक्री भइसकेको छ । यसरी हेर्दा नेपालको जनसंख्याभन्दा ७० लाख बढी सिमकार्ड वितरण भएको छ ।

गुन्डा नाइके पुनका नागरिकता र पासपोर्ट दुइटा

शृंखलाबद्ध व्यक्ति हत्या घटनाका मुख्य नाइके मनोज पुनका नागरिकता र पासपोर्ट दुई–दुईवटा रहेको भेटिएको छ । बुधबार रुपन्देहीको भवानीपुरमा प्रहरीसँगको दोहोरो भिडन्तमा मारिएका पुनको साथबाट प्रहरीले सुनीलकुमार रानाका नाममा जारी भएको राहदानी फेला पारेको कान्तिपुरमा समाचार छ ।

नाम फरक भए पनि उक्त राहदानीमा मनोजकै तस्वीर देखिएपछि प्रहरीले उनले फरक नाममा नागरिकता निकालेर त्यसैका आधारमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाएको निष्कर्षमा पुगेको हो ।

नवलपरासीबाट जारी भएको ८५८६४ नम्बरको नागरिकताका आधारमा मनोजले पासपोर्ट निकालेको देखिन्छ । प्रहरीले फेला पारेको ०५२१७४८८ नम्बरको पासपोर्ट ५ अक्टोबर २०१५ मा जारी गरेको देखिन्छ ।

प्रहरीले आफ्नो परिचय बदल्न दोहोरो नागरिकता र पासपोर्ट निकालेको हुनसक्ने अनुमान गरेको छ ।

मासिएको छैन पुनको ग्याङ, ११ जना अझै फरार

एकपछि अर्को व्यक्तिको हत्या गर्दे भूमिगत शैलीमा आतंक मच्चाइरहेका गुण्डा नाइके मनोज बुढामगर उर्फ मनोज पुन प्रहरी मुठभेडमा मारिए पनि उनको समूहका ११ जनाभन्दा बढी अझै फरार छन् ।

जनता पोस्ट दैनिकले ‘गुण्डा नाइके पुन समूहका ११ जना अझै फरार’ शीर्षक समाचारमा लेखेको छ– एमाले भातृ संगठन युवा संघ, रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यापछि गुण्डा नाइकेका रुपमा एकाएक परिचय बनाएका पुन नै कारबाहीमा मारिएपछि व्यक्ति कारबाहीमा मारिएपछि व्यक्ति हत्याको शृंखला रोकिने प्रहरीले बताएको छ । यद्यपि, सो समूहका ११ जना अझै फरार रहेकाले सुरक्षाको जोखिम भने रहेको जानकारहरु बताउँछन् ।

समाचार अनुसार दुर्गा तिवारीको हत्यादेखि अहिलेसम्म पुन समूहका १८ जना पक्राउ परेका छन् भने पुन आफैं र उनका दाहिने हात मानिने सोम आले प्रहरी इन्काउन्टमा मारिएका छन् ।

कृषि बजेटले गाडी खरिद

कृषि मन्त्रालयबाट स्थानीय तहमा विनियोजित बजेटबाट ललितपुर जिल्लाका गोदावरी नगरपालिका र कोन्ज्योसोम गाउँपालिकाले सवारीसाधन खरिद गरेको समाचार आज कान्तिपुर दैनिकको भित्री पृष्ठमा छापिएको छ ।

मन्त्रालयले कृषिका विभिन्न सात शीर्षकअन्तर्गत आर्थिक वर्ष ०७४–७५ मा गोदावरी नगरपालिकालाई ८२ लाख ४० हजार र कोन्ज्योसोमलाई १ करोड १५ लाख ७७ हजार रुपैयाँ विनियोजित गरेको थियो । तर कृषि सुधारमा खर्च हुनुपर्ने रकम नगरपालिका र गाउँपालिकाले गाडी, मोटरसाइकल र स्कुटर खरिदमा खर्च गरेको समाचारमा उल्लेख छ ।

विषादीयुक्त तरकारी रोक्न प्रदेश नाकामा प्रयोगशाला

अन्नपूर्ण पोस्ट दैनिकले विषादीयुक्त भारतीय तरकारी आयात नियन्त्रण गर्न सरकारले सातै प्रदेशका नाकामा अत्याधुनिक प्रयोगशाला निर्माणको तयारी गरेको समाचार छापेको छ ।

समाचार अनुसार, वाणिज्य मन्त्रालयमा बिहीबार बसेको सरोकारवाला मन्त्रालयको बैठकले यस्तो निर्णय गरिसकेकाे छ ।

वाणिज्य मन्त्रालयले तरकारीको गुणस्तरलाई ध्यानमा दिँदै सचिव चन्द्रकुमार घिमिरेको अध्यक्षतामा बिहीबार सरोकारवाला निकायसहितको बैठक राखेको थियो ।

समाचार अनुसार सकेसम्म नाका नजिकै र नभए सुविधा भएको स्थानमा यस्ता प्रयोगशाला निर्माण गर्ने निर्णय गरिएको छ । नाकामा प्रयोगशाला तोक्दा वा निर्माण गर्दा अत्यावश्यक भौतिक पूर्वाधार, जनशक्ति र परीक्षणमा लाग्ने समयलाई ध्यानमा राखेर प्रविधियुक्त नाकाको व्यवस्था गर्ने जिम्मेवारी कृषि विकास र पशुपक्षी मन्त्रालयलाई दिइएको छ ।

विदेश भ्रमण रोक्न मन्त्रिपरिषद् कार्यालयको निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरकारी कर्मचारीको सम्पूर्ण विदेश भ्रमण स्थगित गर्न सरोकारवाला निकायलाई कडा निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयका सचिव र अन्य सरकारी निकायका प्रमुखलाई उक्त निर्देशन बिहीबार पठाएको हो ।

यो निर्देशनसँगै आगामी एक महिनाभित्र विदेश जाने तयारीमा रहेका करिब ३ सय ५० सरकारी कर्मचारीको विदेश भ्रमण स्थगित भएको समाचार नागरिक दैनिकमा छ ।

समाचार अनुसार कर्मचारी विदेश भ्रमणमा नजाने भएपछि राज्य ढुकुटीबाट करिब २१ करोड रुपैयाँ जोगिएको छ ।

‘अर्को निर्णय नभएसम्म हाल मनोनयन भएका र स्वीकृत भएका सरकारी कर्मचारीको विदेश भ्रमण स्थगित गर्न सरोकारवाला निकायको नाममा निर्देशन जारी गरिएको छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतलाई उद्धृत गर्दै नागरिकले जारी निर्देशनबारे लेखेको छ, ‘सबै मन्त्रालयका सचिव र अन्य सरकारी निकायका प्रमुखलाई बिहीबार नै निर्देशन पठाइसकिएको छ ।’

आन्तरिक स्रोतले नियमित खर्च पनि धान्न नसकी सरकार ऋणमा चलिरहेको अवस्थामा सरकारी कर्मचारी लर्को बाँधी करोडौं रुपैयाँ खर्चेर अनावश्यक रुपमा विदेश भ्रमणमा निस्केपछि त्यसलाई नियन्त्रण गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन जारी गरेको हो ।

र, यो पनि– १८ वर्षे किशोरीको स्थायी बन्ध्याकरण !

 

तस्वीरः नयाँ पत्रिका

कानूनले विवाहका लागि न्यूनतम उमेर २० वर्ष तोकेको छ । तर डोटीकी एक किशोरीले १८ वर्षमै दुई सन्तान जन्माएर स्थायी बन्ध्याकरण गरेकी छन् ।

नयाँ पत्रिका दैनिकका अनुसार बोगटान गाउँपालिका– सिमचौरकी मनीषा बोहोराले ६ फागुनमा बन्ध्याकरण गराएकी हुन् । जिल्ला अस्पतालले उनकै गाउँमा शिविर चलाएको थियो ।

१३ वर्षमै उनको विवाह भएको थियो । १४ वर्षमा पहिलो र १७ वर्षमा दोस्रो सन्तान भएको समाचारमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment