Comments Add Comment

खलनायक राजेन्द्र खड्गीः द्वन्द्व छाडेर मानव बेचविखनतिर ?

प्रहरीमा खड्गीको वयानः अरु कलाकारले यसै गर्थे, मैले पनि गरें

११ फागुन, काठमाडौं । चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गी दुई सातादेखि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा छन् । थुप्रै चलचित्रमा खलनायकको भूमिकामा देखिएका खड्गी कुनै फिल्म सुटिङका क्रममा प्रहरी हिरासतमा बसेका होइनन् ।

‘रिल’ लाइफमा खलनायकका रुपमा चिनिएका खड्गीमाथि ‘रियल लाइफ’मा पनि खलनायककै भूमिका खेलेको आरोप लागेको छ ।

हिरासतमा रहेका खड्गीमाथि मानव ओसारपसार तथा वेचविखनको गम्भीर अभियोग लागेको छ । यो मुद्दामा उनी दोषी ठहरिए भने अधिकतम २० वर्ष (जन्मकैद) सम्म जेल सजायँ हुन सक्छ ।

प्रहरी हिरासतमा रहेका खड्गीले प्रहरीलाई दिएको वयानमा उनीमाथि लागेको आरोप स्वीकार गरेका छन् । अन्य कलाकारहरुले पनि यस्तै काम गरेको देखेर आफूले गरेको खड्गीको वयान छ । उनको यस्तो वयानले नेपालका अन्य कलाकारहरु पनि मानव बेचविखनमा संलग्न रहेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

तर, कलाकार, खेलाडी अनि नेताहरुको आडमा हुने गरेको मानव ओसारपसार र बेचबिखनलाई उपल्लो तहबाटै बचाउ हुने गरेको प्रहरी अधिकारीहरु गुनासो गर्छन् । राजेन्द्र खड्कीकै केसमा पनि मकवानपुरका केही ठूला नेताहरु समेत बचाउमा लागिपरेको प्रहरीको गुनासो छ ।

सांस्कृतिक कार्यक्रममा भाग लिन भन्दै खड्गी १२ जनाको टोली लिएर कोरिया गएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनको रेकर्डले त्यही देखाउँछ तर, फर्किने बेलामा भने दुईजना मात्र नेपाल आएका छन्

जब कोरियाबाट चिठी आयो…

तीन साताअघि दक्षिण कोरियास्थित नेपाली दूतावासको कार्यालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई एउटा सूचना पठायो, जसमा भनिएको थियो- ‘नेपालबाट आएका एकजना कलाकारसँग यहाँ आएका ११ जना फर्किएका छैनन् ।’

दूतावासले पठाएको सूचनामा उल्लेख गरिएका कलाकार थिए- नेपालका चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गी ।

सुरुमा त प्रहरी अधिकारीहरुलाई विश्वास नै लागेन । तर, यसअघि पनि कार्यक्रमको बहानामा जाने कलाकार तथा नेतासँगै मानव तस्करी हुने गरेको पाइएको थियो । त्यसमाथि नेपाली दूताबासकै सूचना भएकाले अनुसन्धान अघि बढायो ।

प्रारम्भिक अनुसन्धानमा खड्गी दोषी देखिएपछि प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रहरी स्रोतका अनुसार सांस्कृतिक कार्यक्रममा भाग लिन भन्दै खड्गी १२ जनाको टोली लिएर कोरिया गएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनको रेकर्डले त्यही देखाउँछ तर, फर्किने बेलामा भने दुईजना मात्र नेपाल आएका छन् ।

१० लाखमा दक्षिण कोरिया !

कोरियामा आयोजित कार्यक्रमका लागि खड्गीले भिसा लिएका थिए । उनले प्राविधिकको टोलीका नाममा अरु ११ जना लगेका थिए ।

‘कसैलाई टक्निसियन, कसैलाई लाइट म्यान र कसैलाई श्रृङ्गारमा काम गर्ने भनिएको छ’, सीआईबी स्रोत भन्छ ।

तर, खड्गीले सुटिङका क्रममा विभिन्न ठाउँमा भेटिएका व्यक्तिहरुबाट मोटो रकम लिएर कोरिया लगेको पाइएको छ । कतिपय भने आफैं खड्गीको सम्पर्कमा पुगेका रहेछन् ।

स्रोतका अनुसार खड्गीले प्रति व्यक्ति १० देखि १५ लाख रुपैयाँ लिएर कोरिया लगेका थिए । खड्गीले उनीहरुको डकुमेन्ट बनाउँदा युवा फर्किएनन् भने आफ्नो जिम्मेवारी हुने व्यहोरा उल्लेख भएको कागजातमा समेत हस्ताक्षर गरेका छन् ।

मानव तस्करीको यो नयाँ शैली हो । खड्गीमार्फत गएका युवाहरु पीडित हुन् या हैनन् भन्ने बारेमा जानकारी लिने कोशिश भइरहेको छ- सीआईबी अधिकारी

खड्गीको वयानः अरुले पनि यसै गर्थे, मैले पनि गरें

प्रहरी नियन्त्रणमा रहेका द्वन्द्व निर्देशक खड्गीले उनीहरुलाई कोरिया लगेको स्वीकार गरेर वयान दिएका छन् । प्रहरी स्रोतले उनको वयानलाई उदृत गर्दै भन्यो, ‘सबैले लगिरहेका थिए । त्यसैगरी मैले पनि लगेको हुँ । तर, यो अपराध भन्ने थाहा थिएन ।’

खड्गीको बयानबाट अन्य कलाकारले पनि अवैधानिक तरिकाले मानिसहरुलाई लैजाने गरेको देखाएको छ ।

‘मानव तस्करीको यो नयाँ शैली हो’, सीआईबीका एक अधिकारी भन्छन्, ‘खड्गीमार्फत गएका युवाहरु पीडित हुन् या हैनन् भन्ने बारेमा जानकारी लिने कोशिश भइरहेको छ ।’

दक्षिण कोरिया, जापान, अमेरिका लगायतका देशहरुमा भिसा लगाउन समस्या हुने भएकाले युवाले मोटो रकम बुझाएर अवैधानिक बाटोबाट त्यहाँ जाने गरेका छन् ।

राँगोलाई बक्सिङ हानेर काठमाडौं प्रवेश

सर्वाधिक धेरै फिल्ममा द्वन्द्व निर्देशन गर्ने व्यक्तिका रुपमा चिनिन्छन् राजेन्द्र खड्गी । ५ सय भन्दा बढी फिल्ममा द्वन्द्व निर्देशन गरेका खड्कीले दर्जन बढी चलचित्रमा खलनायकको भूमिका निर्वाह गरेका छन् ।

स्व. गोपाल भुटानीको चेला बनेर नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका खड्की हेटौंडाका स्थायी बासिन्दा हुन् । हेटौंडामा मुड्कीले हानेर राँगो ढालेपछि चर्चामा आएका खड्गीलाई त्यही चर्चाले काठमाडौं ल्याएको थियो । तर, काठमाडौं आएपछि पनि उनको बसाइ सहज भएन ।

अनलाइनखबरसँगको कुराकानीका क्रममा उनले भनेका थिए, ‘सुरु सुरुमा मैले मान्छे कुट्ने काम पनि गरेँ ।’

उनको एउटा ग्याङ थियो । सरसापटी वा लेनदेनमा पैसा उठाउन नसक्नेहरुलाई खड्गीलाई भन्थे, ‘फलानोसँग पैसा उठाइदिनु पर्‍यो ।’ यसरी पैसा उठाएवापत उनले कमिशन पाउथे । कमिशनकै लागि मान्छे कुटेको उनी सहर्ष स्वीकार्थे ।

जब धेरै संख्यामा फिल्म बन्न थाल्यो उनले प्रशस्त काम पाउन थाले । कामको चाप बढेसँगै मान्छे कुट्ने काम छाडे । बम्बैया शैलीका फिल्म बन्दासम्म उनको बजार व्यापक थियो । पाँचवटा गीत र पाँचवटा फाइट राखेर फिल्म बनाउने बेलासम्म उनलाई भ्याई-नभ्याई थियो ।

अहिले मानव बेचविखनको अभियोग लागेपछि खड्गी आफूलाई बचाइदिन माओवादी नेताको सम्पर्कमा पुगेको सूत्रहरुको दाबी छ

भूतपूर्व कलाकार !

पछिल्लो पाँच वर्षयता खड्गीले कुनै पनि फिल्ममा काम गरेका छैनन् । उनले कलाकारका रुपमा आफ्नो विगतमात्रै बेचिरहेका छन् ।

पछिल्लो पुस्ताका निर्देशकहरुले द्वन्द्वमा नयाँ प्रविधि अपनाउन थालेका कारण खड्गी लगभग फेजआउट बनेका छन् । जसले गर्दा खड्गी मात्रै हैन, उनको पुस्ताका धेरै द्वन्द्व निर्देशकहरु अहिले भूमिकाविहीन छन् ।

पाँच वर्षदेखि चलचित्रमा भूमिकाविहीन बनेका खड्गी यही अवधिमा मानव बेचविखनको अभियोगमा समातिएका छन् । अब खड्गीमाथिको अभियोग प्रमाणित भएमा उनी लामै समय जेलमा बस्नेछन् । अभियोग प्रमाणित भएन र जेल परेनन् भने पनि चलचित्रमा उनको पुनरागमनको सम्भावना अब निकै क्षीण देखिन्छ ।

जब नेपाली फिल्ममा नयाँ-नयाँ सोच भएका निर्देशकको आगमन भयो । खड्गीको काम घट्न थाल्यो । अहिलेका दर्शकले राजेन्द्र खड्की स्टाइलको द्वन्द्व मन पराउँदैनन्, जसकारण उनी बेरोजगार छन् भन्ने तर्क पनि चलचित्र क्षेत्रमा सुन्ने गरिएको छ ।

राजनीतिक कभर

माओवादी शान्ति प्रक्रियामा आएपछि प्रचण्डलाई लालसलाम गरेर माओवादीमा प्रवेश गरेका खड्गी त्यसअघि एमाले समर्थक मानिन्थे हेटौडामा ।

जिल्लामा रहँदा पूर्वपञ्चहरुको ग्याङसँग प्रायः झगडा भइरहने गरेका कारण कमल थापा नेतृत्वको राप्रपासँग खड्गीको सम्बन्ध खासै बनेन । तर, उनी एमालेसँग नजिक रहेको र पछि माओवादीमा प्रवेश गरेको जिल्लाबासीहरु बताउँछन् ।

अहिले मानव बेचविखनको अभियोग लागेपछि खड्गी आफूलाई बचाइदिन माओवादी नेताको सम्पर्कमा पुगेको सूत्रहरुको दाबी छ ।

यो पनि पढ्नुहोस् 

हरेक नेपाली करोडपति बन्न सक्छन्ः राजेन्द्र खड्गी

द्वन्द्व निर्देशक राजेन्द्र खड्गी ठमेलबाट पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
गौरव पोखरेल

सुरक्षा मामिलामा रिर्पोटिङ गर्दै आएका पोखरेल अनलाइनखबरका सम्बाददाता हुन् ।

ट्रेन्डिङ

Advertisment