Comments Add Comment

फेन्सी पसलभित्रै बैंक ! ४ करोड नगदसहित सञ्चालक पक्राउ

फाइल फोटो

११ फागुन, सुनसरी । बैंक, फाइनान्स र सहकारीले बैंकिङ कारोबार गर्नु स्वाभाविकै हो । तर, इलेक्ट्रोनिक सप्लायर्स र फेन्सी पसलले पनि बैंकमा जस्तै खाता खोल्छन् र नगद जम्मा गर्छन् भन्ने सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ ।

अन्यत्र थाहा छैन, तर पूर्वीनेपालको सुनसरी र मोरङका केही पसलेहरुले बैंकिङ कारोबार गरेको पाइएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र प्रदेश १ क्षेत्रीय अनुसन्धान टोलीको अपरेशनका क्रममा पूर्वी नेपालमा ‘स्यूडो फाइनान्सियल ट्रान्जेक्सन’ (छद्म वित्तीय लेनदेन) मौलाएको खुलेको छ ।

यस्तै अवैध कारबार गर्ने एक हो- इटहरी-१२ खनारमा रहेको गृहलक्ष्मी इलेक्ट्रोनिक सप्लायर्स । यसका सञ्चालक बाबुराम न्यौपाने हुन्, जो हाल फरार छन् ।

यहाँ इलेक्ट्रोनिक्स सामान किनबेचभन्दा पनि अवैध बैंकिङ कारोबार बढी हुने गरेको पाइएको छ । सीआईबी र आरआईटीको टोलीले पसलमा छापा मारेर स्थानीय जनताबाट अवैधानिकरुपमा जम्मा गरेको ४ लाख २५ हजार बरामद भएको छ ।

त्यहाँबाट १ हजार ४४७ थान पासबुक, ४५ थान नगद जम्मा गरेको भौचर, १३ थान रजिष्ट्रर, ८ थान ऋण रजिस्ट्रर, २ थान तमसुक पनि प्रहरीले बरामद गरेको छ ।

प्रहरीले बिराटनगर ६ स्थित न्यू आभास फेन्सी स्टारमा पनि छापा मारेको छ । फेन्सी सञ्चालक ३८ वर्षका सीताराम लुइँटेल पक्राउ परेका छन् भने स्थानीयबाट जम्मा गरेको २ करोड ८६ लाख ५२५ रुपैयाँ पनि बरामद भएको छ ।

एकाउण्ट खाता, चेकबुक, तमसुक, नगद फारम, पासबुक पनि बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै इटहरीको पूणर्ागिरी बचत इन्भेष्टमेन्ट प्रालिले पनि अवैधानिक रुपमा बैंकिङ कारोबार गर्दै आएको खुलेको छ । प्रहरी टोलीले छापा मारेर स्थानीय जनताबाट उठाएको १ करोड २० लाखका साथै ४४३ थान पासबुक, १०७ थान नगद भौचर, सापटी फारम, करारनामा फारम, कलेक्सन फारम पनि बराबद गरेको छ ।

सीआईबीका प्रहरी नायव उपरीक्षक श्याम ओलियाका अनुसार रकम बचत गर्दा १२/१३ प्रतिशत ब्याज दिने र कम्तीमा २४ प्रतिशत ब्याज लिएर ऋण दिने गरेको पाइएको छ । ‘ऋण दिने, ब्याज उठाउने कर्मचारीसमेत राखेका रहेछन्’ ओलियाले भने ।

सुरुमा एक-दुईजनाबाट सुरु गरेको तर, अहिले फाइनान्स तथा सहकारीले जस्तै-जस्तै बचत खाता खोल्ने, नगद जम्मा गर्ने र ऋण दिने गरेको पाइएको छ ।

वित्तीय कारोबारका लागि राष्ट्र बैंक वा सहकारी विभागबाट अनुमति पनि नलिएको र कुनै पनि बेला जनतालाई ठगी गर्न सक्ने भएकाले छापा मारेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment