Comments Add Comment

मुख्यमन्त्रीको निवास मर्मतमा सकियो ६० लाख

मुख्यमन्त्री निवास

१२ फागुन, पोखरा । प्रदेश ४ का मुख्यमन्त्री पोखरा महानरपालिकाको पार्दीस्थित अतिथिगृहमा बास बस्न थालेका छन् । पोखरा महानगरपालिकाले मर्मत गरेर तयार पारेको आवासमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ शुक्रबारदेखि सरेका हुन् ।

पुरानो भवनलाई रङरोगन र मर्मत गरेर महानगरपालिकाले चिटिक्क पारेको आवासमा परम्पराअनुसार पूजा गरेर मुख्यमन्त्री गुरुङ बस्न थाले । जुन अतिथिगृह पोखरा आउने विशेष पाहुनाका लागि २०३५ सालमा तयार पारिएको थियो ।

यही अतिथि गृहलाई महानगरपालिका मेयर मानबहादुर जिसीको आवास बनाउने बताइएको थियो । अतिथिगृह जीर्ण अवस्थामा रहेकाले मेयर मानबहादुर जिसीका लागि अर्कै घर भाडामा लिएर आवासको व्यवस्था गरियो । महानगरपालिकाका मेयर मानबहादुर पोखरा-१२ ढिकाले थरमा ३ तले घर भाडामा लिएर बस्छन् ।

महानगरपालिकाको आफ्नै अतिथिगृह मर्मत गरेर सर्नको झ्याउले ३५ हजार रुपैयाँ तिरे महानगरपालिकाले मेयरका लागि ढिकाले थरमा ३ तले घरको व्यवस्था गरेको थियो ।

मुख्यमन्त्रीका लागि तयार पारिएको चार रोपनी क्षेत्रफलमा रहेको आवासमा पाँचकोठे भवनलाई मर्मत सम्भार र रंगरोगन गरे चिटिक्क पारिएको छ । पानी, विद्युत्, टेलिफोन, टिभी जडानदेखि कार्पेट, पर्दा, सोफा लगायत सबै नयाँ व्यवस्था गरेर मुख्यमन्त्रीका आवास तयार पारिएको हो ।

आवास क्षेत्रभित्रै अर्को सानो भवन पनि निर्माणाधीन छ । मुख्यमन्त्रीको आवासमा भान्साकोठा, बैठक हल र सुरक्षाकर्मी रहने कोठा निर्माण गरिएको छ । भुइँमा मार्बल र टायल बिछ्याइएको छ ।  ०३४/०३५ सालतिर बनेको अतिथि गृह महानगरपालिकाले तयार पार्नकै लागि झन्डै ६० लाख रुपैयाँ खर्च गरेको छ । ‘सरकारले २५ लाख रुपैयाँ दिने बताएको छ भने बाँकी महानगरपालिका आफैंले खर्च गरेर अतिथि गृह तयार पारेको हो,’ पोखरा महानगरपालिकाका इन्जिनियर ध्रुव भट्टराईले भने, ‘आवास सबै तयार पार्न झन्डै ६० लाख खर्च पुग्ने देखिएको छ ।’

सभामुख नेत्रनाथ अधिकारी पोखरा विमानस्थलअगाडि रहेको पर्यटन कार्यालयको भवनमा सरिसकेका छन् । सोही भवनमा उपसभामुखका लागि पनि व्यवस्था गरिएको छ । तर, उपसभामुखको आफ्नै निवास पोखरामै भएकाले सरकारी आवासमा सरिसकेकी छैनन् ।

गृहमन्त्रीको लागि निर्माणाधीन आवासगृह

 

मुख्यमन्त्रीको आवास मेयरलाई

पोखरा महानगरपालिकाले तयार पारेर मुख्यमन्त्री बस्न थालेको यो आवास अस्थायी हो । मुख्यमन्त्रीका लागि अर्को आवास निर्माण नहुँदासम्मका लागि मुख्यमन्त्री गुरुङ यहाँ बस्नेछन् । अहिले मुख्यमन्त्रीका लागि तयार पारिएको त्यही भवनमा पछि मेयर मानबहादुर जिसीले आफ्नो आवास बनाउने भएका छन् ।

‘अहिले मुख्यमन्त्रीका लागि तयार पारिएको यही भवनपछि मेयरकै निवास बनाउने गरी ठूलो खर्चमा मर्मत गरेर तयार पारिएको हो,’ मेयर मानबहादुरले भने । तत्काल मर्मत गर्ने अवस्था नरहेकाले त्यतिबेला आफू घर भाडाले लिएर बस्नु परेको मेयर मानबहादुर जिसीले बताए ।

फेवातालको किनारमा रहेको यही अतिथि गृह मुख्यमन्त्रीको अस्थायी निवास बनाउन उपयुक्त हुने देखिएपछि तयार हतारहतारमा तयार पारिएको हो ।

रानीपौवामा पर्यटनमन्त्री

रानीपौवास्थित क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको आवास बनाइएको छ । मन्त्री रामशरण बस्नेत आवासमा सरिसकेका छन् ।

यही तालिम केन्द्रमा सामाजिक विकास मन्त्रीको समेत आवास रहने मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता झलकराम सुवेदीले जानकारी दिए । ‘वनमन्त्री रामशरण बस्नेत तालिम केन्द्रमा तयार परिएको आवासमा सरिसक्नुभएको छ,’ सुवेदीले भने, ‘सामाजिकमन्त्री चयनबित्तिकै उहाँ पनि यही बस्ने व्यवस्था गरेका छौं ।’

क्षेत्रीय सिँचाइको निवासमा ४ मन्त्री

४ जना मन्त्रीका लागि सरकारी बासको व्यवस्था गर्न ड्यामसाइडमा रहेको पश्चिमाञ्चल क्षेत्रीय सिँचाइ निर्देशनालयको अवास मर्मत भइरहेको छ ।

आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजनामन्त्री, भौतिक पूर्वाधार विकासमन्त्री र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीका लागि एउटै ठाउँमा निवासको व्यवस्था गरिँदै छ । ४ मन्त्रीका लागि आवास तयार पार्न अहिले दिनरात काम भइरहेको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा अहिले सशस्त्र प्रहरी बलको मुक्तिनाथ बाहिनीका बाहिनीपतिको निवासमा बसिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment