Comments Add Comment

सेयर लगानीकर्तालाई नाफा निकाल्नै कठिन, बजारको घाटा बाहिरै मिलान

किन भएन बजारमा 'फ्रेन्ड्ली ट्रेन्ड' ?

१२ फागुन, काठमाडौं । सेयर बजारबारे अंग्रेजीमा एउटा भनाइ छ, ‘एभ्री ट्रेन्ड इज योर फ्रेन्ड’ । यसको व्याकरणीय अर्थ हुन्छ, बजारको जुनसुकै प्रवृत्ति तपाईंको साथी हो । अर्थात्, जुनसुकै प्रवृत्तिमा पनि कमाउन सकिन्छ ।

सामान्यतया २० प्रतिशत बजार परिवर्तन नहुँदासम्म चलिरहेको प्रवृत्ति नै कायम रहेको मानिन्छ । नेप्से अहिले हालसम्मकै उच्च विन्दुबाट करिब २६ प्रतिशतले घटिसकेको छ । यस अर्थमा बजार घट्दो प्रवृत्तिमा आइसकेको छ ।

१८ सय ८१ को उच्च विन्दुबाट बजार घटबढ हुने क्रममा यसअघि धेरैपटक प्रतिफल निकाल्न सकिने अवस्था बनेको थियो । तर, पछिल्लो समय यस्तो सम्भावना घट्दै गएको छ । विशेषतः बजार वा सेयर मूल्य जति धेरै रेन्ज (अन्तर)ले घटबढ भयो, कारोबारी प्रवृत्तिका (ट्रेडर्स) लगानीकर्ताले अल्पकालीन लाभ लिने अवस्था त्यति नै बन्छ ।

गत भदौयता नेप्से परिसूचक झिनो अन्तरले मात्रै उतारचढाव गरिरहेको छ । र, लाभ लिन त्यति नै कठिन ।

‘पहिले बढ्दो बजारमा जुनसुकै समयमा किनेर जतिखेर सेयर बेच्दा पनि प्रतिफल लिन सकिने अवस्था धेरै थियो । अहिले त्यसको सम्भावना छैन,’ सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालको अनुभव छ ।

१९ असारयताको बजार विश्लेषण गर्दा एक पटक मात्र नेप्से धेरै अन्तरले घटबढ भयो । १९ असारमा घटेर १५ सय ४१ विन्दुमा आएको नेप्से त्यसपछि २४ साउनमा उक्त समयको उच्च विन्दु १६ सय ६१ मा पुग्यो ।

१९ असारताका सेयर किनेर २४ साउनमा बिक्री गर्न सफल भएका केही लगानीकर्ताले शतप्रतिशतभन्दा बढी पनि कमाए । हिमालयन डिस्टिलरी, नेसनल माइक्रोफाइनान्स, फर्वार्ड माइक्रोफाइनान्सको सेयरमा उक्त अवधिमा यस्तै लाभ देखियो । तर, अन्य अधिकांश कम्पनीको मूल्य परिवर्तन नै १० प्रतिशतभन्दा धेरै हुन सकेको थिएन । लाभकरलगायत कारोबार लागत कटाउँदा त्यसभन्दा कमै लगानीकर्ताको हातमा पर्ने अवस्था रह्यो ।

त्यसपछि नेप्से तीन पटक स-सानो रेन्जमा रहेर घटबढ भयो । एक पटक नेप्से १४ सय ९३ बाट बढेर १५ सय ७१ सम्म, दोस्रो पटक १४ सय ६० देखि १५ सय ३७ सम्म र तेस्रो पटक १३ सय ९० बाट १४ सय ५६ सम्म पुग्यो ।

करिब ६ महिनामा नेप्सेमा भएको यस्तो परिवर्तनमा ९९ वटा कम्पनीको सेयर मूल्यमा विरलै १० प्रतिशतसम्मको वृद्धि देख्न सकियो । यही कारण मूल्य परिवर्तनकै आधारमा १० प्रतिशत लाभ निकाल्न पनि लगानीकर्ताहरुलाई हम्मे परेको देखिन्छ । कतिपय लाभांश दिइसकेका कम्पनीमा समेत अझै नाफा हुन नसकेको पनि देखिएको छ ।

‘हाम्रा धेरै लगानीकर्ता ट्रेडर्स प्रवृत्तिकै छन् तर पनि धेरैले बजार घट्दो प्रवृत्तिमा हुने उतारचढावबाट लाभ लिन सकिरहेका हुँदैनन्,’ एक ब्रोकर यसै भन्छन् । यसो हुनुमा मुख्य कारण लगानीकर्ताहरुमा रहेको लगानी प्रवृत्ति रहेको उनको विश्लेषण छ ।

उनी थप्छन्, ‘बजार बढ्दा किन्न ओइरिने र घट्दा बेच्न हतारिने प्रवृत्ति छ । वास्तवमा घट्दा किन्ने र बढ्दा बेच्ने गर्दा फाइदा हुन्छ ।’

बजार घट्दा अहिले लगानीकर्ताहरुको रणनीति पनि फेरिएको छ । यसअघि लगानीकर्ताहरुले किनेको मूल्यमा घाटा देखिँदा मूल्य थप घटेपछि सोही कम्पनीको सेयर किन्ने गर्थे । यसले कुल सेयरमा परेको लागत घट्ने गथ्र्यो । अनि, मूल्य बिक्री हुँदा किन्ने गर्थे ।

तर, अहिले लगानीकर्ताहरु प्रतिकित्ता एक सय रुपैयाँमा पाइने हकप्रद सेयर किन्न बजारमा एक सयमाथिका सेयर बिक्री गर्ने परिपाटी मौलाएको लगानीकर्ता अर्यालको भनाइ छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment