Comments Add Comment

रमेशनाथ पाण्डेबारे सधैं एउटा कुरा खड्किरहन्छ

विकृति देख्दा कार्टुन बनाउँछु, आनन्दित हुँदा कला !


१२ फागुन, काठमाडौं । चर्चित कार्टुनिस्ट दुर्गा बराल अर्थात वात्सायन ५३ वर्षअघि पोखराको आर्वाबाट कला सिक्न काठमाडौं आए । काठमाडौंमा विसं. ०२१ सालमा उनको भेट तत्कालीन पत्रकार एवं अहिलेका परराष्ट्रविद रमेशनाथ पाण्डेसँग भयो ।

काठमाडौंमा त्योबेला पाण्डेको सम्पादनमा ‘नयाँ सन्देश’ पत्रिका निस्कन्थ्यो । त्यही पत्रिकामा कार्टुन बनाउने अफर आएपछि दुर्गा बराल कार्टुनिस्ट वात्सायन बनेका हुन् ।

पाँच शताब्दीको लामो यात्रामा बरालले ‘प्राङ्गण’, ‘राष्ट्रपुकार’, ‘मातृभूमि’, ‘देशान्तर’, ‘सुरुचि’ र ‘गोरखापत्र’ हुँदै ‘कान्तिपुर’सम्म कार्टुनकारिता गरेका छन् ।

वात्सायनलाई कार्टुन बनाएकै कारण सरकारले धेरैपटक पक्राउ आदेश जारी गरेको भए पनि उनी विभिन्न कारणले पक्राउ भने परेनन् ।

अचेल पोखरामै फुर्सदिला दिन बिताइरहेका वात्सायनसँग अनलाइनखबरका लागि अश्विनी कोइरालाले गरेको संस्मरणात्मक कुराकानी:

घर त पुरानै रहेछ, नयाँ बनाउनुभएन ?

आवश्यक परेको छैन । छोराहरु बाहिरै छन् । कहिलेकाहिँ आउने हुन् । घर एकतल्ले भए पनि मलाई चलेकै छ ।

घरको दाहिनेतर्फको लामो घरचाहिँ नयाँजस्तो छ । केका लागि बनाउनुभएको ?

यो मेरो स्टुडियो हो । यहीँ बसेर मैले २० वर्ष यताका कार्टुन र अन्य कला बनाएको हुँ । यति पुरानो छाप्रोलाई के नयाँ भन्नु ? बस्ने घरभन्दा नयाँ चाहिँ हो ।

तपाईं कार्टुनिस्टका रुपमा चर्चित हुनुहुन्छ । जीवनमा पहिलेदेखि नै कार्टुनिस्ट बन्न चाहनुहुन्थ्यो ?

मलाई त कार्टुन भन्ने नै थाहा थिएन । कलामा रुचि भएकाले एसएलसी पास गरेपछि कला सिक्न पाइन्छ कि भनेर काठमाडौं गएको थिएँ । नयाँ सडकमा पिपलबोटको छेऊमा म जुन होटलमा भात खान्थेँ, त्यहाँ रमेशनाथ पाण्डेहरु पत्रिका निस्किएको दिन रमाइलो गर्न अबेरसम्म खानपीन गर्दा रहेछन् । तीमध्ये एकजनासँग मेरो सुरुदेखि नै परिचय थियो । उनैले रमेशनाथ पाण्डेसँग परिचय गराइदिए ।

त्योबेला रमेशननाथ ‘नयाँ सन्देश’ पत्रिका निकाल्थे । भारतबाट प्रकाशित हुने अंग्रेजी पत्रिकामा छापिएका कार्टुनलाई तलमाथि गरेर उनी नेपाली कार्टुन बनाउँदा रहेछन् । आफ्नो विवशता पोख्दै उनले त्यस्तै कार्टुन बनाइदिन मलाई आग्रह गरे । पैसा पनि दिन्छु भनेँ । बेरोजगार भएकाले पैसाको लोभमा मैले उनले दिएको आइडियामा कार्टुन बनाउन थालेको हुँ ।

तपाईंका कार्टुनका गुरु रमेशनाथ पाण्डे हुन् भन्दा हुन्छ ?

हो । सत्य कुरा यही हो ।

कार्टुन बनाएवापत कति पैसा पाउनुभयो ?

पैसा दिन्छु भनेका त थिए, तर नगद कहिल्यै पाइनँ । म माग्न नसक्ने, उनी नमागी नदिने स्वाभावका रहेछन् । पत्रिका निस्किएको दिन यसो खानपीन गरिन्थ्यो, त्यति हो ।

रमेशनाथ पाण्डेका विषयमा तपाईंलाई अनौठो लागेको कुनै स्मरण ?

मलाई उनी पाण्डे खलकका धेरै धनी व्यक्ति होलान् भन्ने लागेको थियो । तर, एकपटक हामी हनुमानढोका दरबारतिर गइरहेका बेला एकजना प्रहरीले उनलाई ‘वारेन्ट छ, चौकी हिँड्नु’ भनेर लिएर गए ।

प्रहरी कार्यालयमा जाँदाजाँदै उनले घर पुगेर ओड्ने-ओछ्याउने सामग्री ल्याइदिन आग्रह गरे । मैले घर देखेको थिइनँ । उनले नोना कोइराला (गिरिजाप्रसाद कोइरालाकी भाउजू) लाई थाहा भएको बताए । मैले नोना कोइराला बस्ने घर पनि देखेको थिइनँ । उनले महाबौद्धको गल्लीमा गएर सोधेपछि थाहा हुने बताए ।

यसरी म पहिले नोना बस्ने घर खोज्दै पुगेँ । त्यसपछि नोनाले बताएअनुसार विशालनगरमा एउटा राणाको घरमा पुगेँ ।

त्यहाँ पुग्दा त के देखेँ भने पाण्डेको परिवार त कुनै राणाले उपलब्ध गराएको तबेलामा पो बस्दा रहेछन् । तबेला पनि कति सामान्य भने, म त छक्कै परेँ । बरु पोखरामा मेरो सानोतिनो घर थियो, जग्गा थियो । विचरा यस्ता मानिसले धन्न पत्रिका निकालिरहेका रहेछन् जस्तो लाग्यो ।

घर पुगेर छोरो पक्राउ परेको समाचार सुनाउँदा रमेशनाथ पाण्डेकी आमाको प्रतिक्रिया कस्तो थियो ?

अँ । मैले त सबै आत्तिन्छन् होला भन्ने ठानेको थिएँ । उनकी आमाले ‘ए फेरि पक्राउ पो पर्‍यो’ भन्नुभयो । पत्रिका निकाल्दा उनी बारम्बार पक्राउ पर्दै छुट्दै गर्दा रहेछन् । यो सामान्य प्रक्रिया रहेछ ।

भाइ बाहिर कतै गएकाले एकछिनपछि सँगै सामान लिएर जानू भनेर ओढ्ने ओच्छ्याउने ठीक पारिदिनुभयो । रमेशनाथका भाइ मभन्दा केही कान्छा थिए । रमेशनाथ भने मभन्दा केही महिना जेठा हुन् क्यारे ।

रमेशनाथ पाण्डेको आत्मकथा पढ्नुभएको छ ? त्यसमा तपाईंका पनि केही प्रसङ्ग परेका छन् नि…

अँ पढेँ । उनले आफ्नो कुरा अलि बढाएर लेखेजस्तो लागेको छ । हुन त आफ्नो बारेमा कसले नराम्रो लेख्छ र ? तर, मलाई भने सधैं एउटा कुरा खड्किरहन्छ ।

कुन कुरा ?

जेलबाट छुटेपछि उनी खै कसरी हो, अमेरिकातिर गए । सायद बारम्बार पत्रिका बन्द हुने र सेन्सर प्रवृत्तिबाट दिक्क भएपछि अन्तर्राष्ट्रिय सहयोगका लागि कसैको सहयोगमा अमेरिका पुगेका हुन् । अमेरिकामा उनी त्यस्तै दुई-तीन महिना बसे होलान् । र्फकंदा उनले निकै पैसा ल्याए र त्योबेला वरपरका मानिसलाई छक्क पार्ने तरिकाले भव्य घर बनाए । फेरि अर्को पटक ६ महिनाका लागि अमेरिका जाँदा त उनको रहन-सहन नै परिवर्तन भयो ।  हुन त पत्रिका चलाउन उनले निकै दुःख गरेका थिए । त्यसैको फल पाएका हुन् कि ?

तपाईंले उनको पत्रिकामा अचानक कार्टुन बनाउन छाड्नुभयो, रमेशनाथ पाण्डेसँग केही खटपट भएको थियो ?

उनी जेल परेपछि पत्रिका बन्द भयो । त्यसपछि उनी अमेरिका गएपछि मेरो उठबस गर्ने कारण नै हरायो । त्यसपछि म पाठ्यक्रम विकास केन्द्रमा जागिरे भएपछि कार्टुन बनाउने काम छुट्यो ।

तपाईं त कला सिक्न काठमाडौं आएको मान्छे, कला कहाँ पढ्नुभयो ?

त्योबेला नेपाल ललितकला क्याम्पस खुलेकै थिएन । त्यो सानो तालिमकेन्द्रमै सीमित थियो । अलिकति पहुँच भएकाहरु छात्रवृत्तिमा विदेश पढ्न जान्थे । म पनि निवेदन दिइरहन्थेँ । त्योबेला पञ्चका नजिकका वा सोर्सफोर्स हुनेहरु पढ्न जान्थे क्यारे । पटक-पटकको निवेदनमा पनि मैले त्यो अवसर पाइनँ ।

रमेशनाथ पाण्डे अमेरिकामा त्यस्तै दुई–तीन महिना बसे होलान् । फर्कंदा उनले निकै पैसा ल्याए र त्योबेला वरपरका मानिसलाई छक्क पार्ने तरिकाले भव्य घर बनाए

चर्चित कलाकार लैनसिंह वाङदेल अन्तरवार्ता लिने प्रमुख व्यक्तिमा हुनुहुन्थ्यो । म सोझो मान्छे, केही भन्नै नसक्ने । मैले पाठ्यक्रम विकास केन्द्रका हाकिममार्फत एकपटक भन्न लगाएको थिएँ । त्यो बेला लैैनसिंहले ‘दुर्गामा विशेष क्षमता छ, उसलाई युरोपतिर पठाउने इच्छा भएकाले अहिले रोकेको हुँ’ भन्नुभयो रे । तर, त्यो दिन कहिल्यै आएन ।

त्योबेला कलाकारिताका विषयमा राजा वीरेन्द्रले विशेष चासो राख्थे रे । केही सम्झना छ ?

वीरेन्द्र भर्खरै राजा भएको समय थियो । उनकै पहलमा चित्रकारिताको सामान्य तालिम केन्द्र ललितकला क्याम्पसमा परिवर्तन भएको थियो । म पनि त्यहाँ कलाकारको हैसियतले जान थालेको थिएँ । एकपटक राजा वीरेन्द्र क्याम्पसमा आए र ‘क्याम्पसमा केही समस्या छ कि ?’ भनेर सोधे ।


त्यहाँका प्रमुखले राम्रो गुणस्तरका रंग, ब्रस नेपालमा नपाइने, पाइए पनि महंगो हुने समस्याका कारण कलाकारले ठूलो सास्ती बेहोर्नुपरेको सुनाए । उनले तुरुन्तै ‘यो समस्याको समाधान गर्न के गर्नुपर्छ ?’ भनेर सोधे । त्यहाँ उपस्थित कसैले युरोप-अमेरिकाका कुनै दूतावासमार्फत सस्तो मूल्यमा कलाकारितासम्बन्धी सामग्री ल्याउने र कलाकारलाई सुपथ मूल्यमा ती सामग्री बेच्ने व्यवस्था गर्दा राम्रो हुने सुझाए ।

अचम्मै के भयो भने त्यसको महिना दिनभित्र ट्रकमै भरिएर कलाकारिताको सामान आयो । सुरुमा सित्तैमा, पछि थोरै मूल्यमा कलाकारले सामग्री पाउन थाले । तर, नेपालीको बानी, सबै भताभुङ्ग भयो ।

के भयो ?

आफूले पाएको सहुलियतबाट आफ्नो कला निर्खान छाडेर कलाकारले ती सामान नयाँ सडकका पसलेहरुलाई बेच्न थाले । यसमा कलाकार, ललितकला क्याम्पसका कर्मचारी र न्ायाँ सडकका व्यापारीको मिलोमतो थियो । बाठा कलाकारले प्रशस्तै कमाउन थाले ।

यो भ्रष्ट्राचार कति तीब्र गतिमा भयो भने एक-दुई वर्षभित्र सबै दूतावासहरुले दिएको यो सुविधा कटौती हुन थाल्यो । स्वयं राजा वीरेन्द्रको पनि बदनाम भयो । नेपालीको भ्रष्ट्राचार गर्ने शैली आजको होइन, त्यो घटनापछि ‘भ्रष्टाचार हाम्रो रगतमै छ’ जस्तो लाग्छ । सरल हृदय भएका कलाकारमा त यस्तो हुन्छ भने अरुतिर के हाल होला ?

तपाईं राजसंस्थाप्रति केही नरम धारणा राख्नुहुन्छ ?

देशमा प्रजातन्त्र आउनुपर्छ भनेर वर्षौदेखि कार्टुन लेखियो । त्यसो भन्न मिल्छ र ?

तपाईंको नाम कहिले दुर्गा बरालबाट वात्सायन भयो ?

म काठमाडौंको चाकडी र धमिलो वातावरणमा टिक्न नसकेपछि पोखरा फर्किएँ । पोखरा फर्किए पनि म प्रजातान्त्रिक धार भएको ‘सुरुचि साप्ताहिक’ पत्रिकालाई कार्टुन पठाउँथे । पृथ्वीनारायण क्याम्पसमा कला विषय पढाउन थालेपछि मलाई थ्रेट हुन थाल्यो । यता पोखराको युवा सांस्कृतिक पत्रिकाले निकाल्ने ‘प्राङ्गण’ मा पनि कार्टुन बनाउन थालेको थिएँ । यी दुबै सरकारविरोधी र प्रजातन्त्र पक्षधर पत्रिका थिए ।

सरकारी क्याम्पस पढाउने शिक्षकले सरकार विरोधी कार्टुन बनाउन धेरै समस्या हुन थाल्यो । त्यहाँका नेपाली भाषा पढाउने शिक्षक सोमनाथ अधिकारीले मेरो समस्या बुझेर ‘वात्सायन’ नामाकरण गरिदिनुभयो ।

सुरुमा त यो नाम राख्न अलि हच्किएको थिएँ । तर, उहाँले नै वात्सायन सेक्सविज्ञ मात्रै नभई उनी ६४ कलाका ज्ञाता भएकाले यो नाम राख्दा संकोच मान्न नपर्ने सल्लाह दिनुभयो । धेरैपछिसम्म पनि मलाई यो नाम मनपरेको थिएन । तर, जनमानसले क्याम्पस पढाउने दुर्गा बराल र कार्टुन बनाउने वात्सायन एउटै हुन् भन्ने विश्वास गर्न सकेनन् । कलाकार दुर्गा बराल अर्कै, कार्टुनिस्ट वात्सायन अर्कै मान्न थालेपछि सुरुमा सुरक्षा भयो, पछि यही नाम लोकप्रिय भयो ।

एउटा कार्टुनले समाज परिवर्तन गर्न सक्छ ?

मेरो अनुभवमा समाज नै परिवर्तन गर्छ भन्ने त लाग्दैन, तर परिवर्तन गर्न सहयोगीको भूमिका भने पक्कै निर्वाह गर्छ । जनमानसलाई सचेत बनाउँछ र परिवर्तनका लागि झक्झक्याउँछ । कार्टुन कहिले परिवर्तनको माध्यम भएर आउँछ भने कहिले यसले नकारात्मक सोच घटाउन मद्दत गर्छ ।

नेपालीको भ्रष्ट्राचार गर्ने शैली आजको होइन । आफूले पाएको सहुलियतलाई कलाकारले नयाँ सडकका पसलेकहाँ लगेर बेच्न थाले, त्यसले राजा वीरेन्द्रको पनि बदनामी भयो

केही वर्षअघि  फ्रान्समा एउटा कार्टूनलाई निहुँ बनाएर आतंकवादीहरुले हमला गरेर १२ कार्टुनिस्ट र अन्य पत्रकारको हत्या गरे । एउटा कार्टुनले यत्रो ठूलो हलचल मच्चाउनु सानो कुरा होइन । कतिपय देशमा दंगा भड्काउन पनि कार्टुनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । धेरै कार्टुनले सकारात्मक परिवर्तन ल्याएका छन्, कुनैबेला दुर्घटना पनि निम्त्याएका छन् ।

नेपालमा कार्टुनबाट त्यसरी सकारात्मक या नकारात्मक प्रतिक्रिया भएको अनुभव गर्नुभएको छ ?

धेरैपटक गरेको छु । धेरै कार्टुनबाट मैले प्रशंसा पाएँ भने केही कार्टुनको सरकारी तवरबाट ठूलो आलोचना भयो । एकपटक गिरिजाप्रसाद कोइरालाले बेबी किङ्को पक्षमा वकालत गर्दा जनस्तरबाट ठूलो आलोचना भयो । जनता राजतन्त्रका विपक्षमा थिए । मैले यही विषय पक्रेर कार्टुन बनाएँ । कार्टुनमा फोहोरको थुप्रोमा फ्याँकेको राजतन्त्रलाई गिरिजाप्रसाद कोइरालाले काँधमा बोकेर नारायणहिटीतर्फ हिँडेको दृश्यको वर्णन थियो । त्योबेला देशमा ज्ञानेन्द्रको प्रत्यक्ष शासन थियो ।

यो कार्टुन कान्तिपुरमा प्रकाशित भएपछि म, सम्पादक र प्रकाशकलाई पक्राउ गर्न लागिएको समाचार प्राप्त भएको थियो । संयोग कस्तो भैदियो भने मेरा कार्टुनका गुरु रमेशनाथ पाण्डे मन्त्रीमण्डलमा थिए । पछि उनैले मेरा छोरालाई खबर पठाएका रहेछन्, मन्त्रिमण्डलमा हामीलाई पक्रने निर्णय भएको थियो रे, तर उनकै कारण त्यो सम्भव भएन भन्दै थिए रे ।

सरकारी सञ्चारमाध्यमले त्यो कार्टुनको धेरै विरोध गरे । कहाँसम्म भने सरकारी सञ्चार माध्यमले केही सरकारी मानिसलाई त्यो कार्टुनको विरोधमा बोल्न लगाए । यता निजी सञ्चार माध्यमले भने कार्टूनको सपोर्ट गरे । महिनौंसम्म त्यो कार्टुन ठीक कि गलत भन्ने विषयमा बहस भयो । एउटा कार्टुनले यति ठूलो तरंग ल्याउला भन्ने मैले कल्पना गरेको थिइनँ । कार्टुनमा यति शक्ति हुन्छ भन्ने कुरा पहिलो पटक थाहा भयो ।

त्यही कार्टुन र कार्टुनले दिएको प्रतिक्रियापछि गिरिजाप्रसाद कोइरालाले बेबी किङ्को वकालत छाडे भनिन्छ, कत्तिको सत्य हो ?

सुरुमा त्यो कार्टुन गिरिजाप्रसाद कोइरालालाई पनि मनपरेको थिएन । तर, कार्टुनको पक्षमा कति ठूलो माहौल बन्यो भने सरकारी मान्छेबाहेक सबै कार्टुनको पक्षमा उभिए । त्यसपछि भने गिरिजाप्रसादको मन परिवर्तन भएको हो । कार्टुनका कारण होइन, जनमत कता छ भन्ने बुझ्न गिरिजाप्रसादलाई त्यसले ठूलो मद्दत गर्‍यो भन्ने लाग्छ ।

आजभोलि तपाईंका कार्टुन कम देखिन थालेका छन्, किन होला ?

म आफूलाई छोएको विषयमा मात्र कार्टुन बनाउँछु । स्वतन्त्रतापूर्वक काम गर्छु । अहिलेसम्म २ हजार ५ सयवटा कार्टुन बनाएँ होला । करिब ३ हजार पेन्टिङ पनि गरेँ । अब पहिलेजस्तो जोश छैन । तैपनि मन मान्दैन । देशमा केही विकृति देख्दा कार्टुन बनाउँछु । मनमा आनन्द चल्दा कला निर्माण गर्छु ।

कार्टुन बनाउँदा आनन्द कि कला बनाउँदा ?

कार्टुन बनाउँदा समाजलाई हेर्नुपर्छ । पाठकबाट कस्तो प्रतिक्रिया आउँछ भनेर विचार गर्नुपर्छ । कुन उद्देश्यले कार्टुन बनाउँदैछु, त्यसमा सफल हुन्छु कि हुन्न भनेर सचेत हुनुपर्छ । यही कारण एउटा कार्टुन बनाउन दुई-तीन दिनसम्म पनि लाग्छ । कला भने आफ्नो सन्तुष्टिका लागि बनाउँछु । आनन्द प्रकट गर्न बनाउँछु । केही विशेष कुरा भन्न बनाउँछु । त्यसैले कला बनाउन नै सजिलो लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment