Comments Add Comment

चीनले बनाउँदैछ पहिलो हाइपरसोनिक जहाज, बेइजिङबाट न्यूयोर्क २ घन्टामा !


बेइजिङ । दुई घन्टामा बेइजिङबाट न्यूयोर्क ! के यो सम्भव छ ? चिनियाँ वैज्ञानिकहरु अहिले यसलाई सम्भव बनाउन लागिपरेका छन् ।

एक चिनियाँ अनुसन्धान टिमले दर्जनौं मानिस र कयौं टन कार्गो बोकेर दुई घन्टामा बेइजिङबाट न्यूयोर्क पुग्न सक्ने अकल्पनीय गतिको हवाईजहाजको डिजाइन तयार पारिसकेको छ ।

यो हवाईजहाज ६ हजार किलोमिटर प्रतिघन्टाको गतिमा हुइकिनेछ, जुन आवाजको गतिभन्दा पाँच गुणा बढि हो । आवाजको गति प्रतिघन्टा १ हजार २ सय ३५ किलोमिटर हुन्छ ।

कुइ काइको नेतृत्वको अनुसन्धान टिमले ‘फिजिक्स, मेकानिक्स एन्ड एस्ट्रोनोमी’ नामक जर्नलमा लेखेको टिपोटमा यो योजनाको खुलासा गरिएको हो ।

अहिले सामान्य यात्रुवाहक विमानलाई बेइजिङ र न्यूयोर्कबीचको ११ हजार किलोमिटर दूरी पार गर्न करिब १४ घन्टा लाग्छ ।

बेइजिङस्थित चाइनीज एकेडेमी अफ साइन्सको उक्त टिमले जहाजको मोडेलको सफल परिक्षणसमेत गरिसकेको छ । यसलाई ‘आइ प्लेन’ नाम दिइएको छ । एक जोडी पखेटासहितको आइ–प्लेन पहिलो विश्वयुद्धमा प्रयोग गरिएको ‘बाइ प्लेन’ सँग मिल्दोजुल्दो छ । यस्ता बाइ–प्लेनहरु १९३० को दशकपछि लोप भएका थिए, जब प्लेन डिजाइनरहरुले उच्च गति र इन्धन मितव्ययीताको खोजी गर्न थाले ।

चीनको पछिल्लो ‘हाइपरसोनिक’ जहाजको तल्लो पखेटा जहाजको मुख्यभागबाट दुई हात फैलाएजस्तो देखिन्छ । तेस्रो चौडा, ब्याट आकारको पखेटा जहाजको पछाडिबाट माथितिर उठेको छ ।

अनुशन्धानकर्ताहरुले दावी गरेका छन् कि यो जहाजले हाल विश्वमा निर्माणाधिन हाइपरसोनिक सवारीसाधनले भन्दा धेरै भारवहन गर्न सक्छ । उनीहरुका मुताबिक सामान्य व्यवसायिक जेटको तुलनामा यसले २५ प्रतिशत भारवहन गर्नेछ । यसको अर्थ बोइङ ७३७ जत्रै ठुलो एउटा आइ–प्लेनले पाँच टन कार्गो वा ५० यात्रुहरु बोक्न सक्नेछ । जबकि एउटा बोइङ ७३७ ले २० टन कार्गो वा २ सय यात्रुहरु बोक्ने क्षमता राख्छ ।

यद्यपि, यो जहाजको डिजाइनलाई साकार तुल्याउनका लागि अझै धेरै जटिलताहरु बाँकी नै छन् । विश्वमा अहिलेसम्म निर्मित कुने पनि हाइपरसोनिक सवारीसाधन परिक्षणको तहबाट माथि उठ्न सकेका छैनन् । विद्यमान प्राविधिक चुनौतिहरुका कारण अहिलेसम्म तिनीहरुले यात्रु बोक्ने जोखिम उठाएका छैनन् ।

चीन र अमेरिकासहितका ठूला देशहरु अहिले हाइपरसोनिक हतियारहरु विकास गर्न प्रतिस्पर्धा गरिरहेका छन् । हाइपरसोनिक भेइकलले उनीहरुलाई अर्को देशको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई सजिलै ध्वस्त पार्न सक्षम बनाउँछ । तर, अहिलेसम्म बनेको हाइपरसोनिक भेइकल, जस्तै अमेरिकी एयरफोर्सको एक्स ५१ वेभरडियर र चीनको डब्लुयू १४, ले सानो र हलुका वजनको आणविक ‘वार हेड’ मात्र बोक्न सक्छ ।

हाइपरसोनिक गतिमा हुइकिँदा त्यसबाट ठूलो परिमाणमा ताप पनि उत्पन्न हुन्छ । सम्भवत यो १ हजार डिग्री सेल्सियसभन्दा माथि पुग्न सक्छ । र यदि त्यसलाई निस्तेज गर्न सकिएन भने घातक पनि हुन सक्छ । अनुसन्धानकर्ताहरुले यसको समाधान फेला परेको दावी त गरेका छन्, तर, यो अझै परिक्षणकै चरणमा छ ।

यद्यपि आइ–प्लेन एउटा ‘गेम चेन्जर’ हुन सक्ने दावी यसका अनुसन्धानकर्ताहरुले गरेका छन् । यद्यपि, उनीहरु यसमा औपचारिक प्रतिक्रिया दिनबाट भने पन्छिन्छन् । आइप्लेनमा प्रत्यक्षरुपमा संलग्न नरहेका तर परियोजनाको विषयमा जानकार एक अनुसन्धानकर्ताले कुइको टिमले चीनको सबैभन्दा अत्याधुकि हाइपरसोनिक हतियारमाथि पनि काम गरिरहेको बताएका छन् । उनका अनुसार आइ–प्लेनले फुलदेखि बमसम्म ओसार्न सक्नेछ भने पर्यटकदेखि लडाकुलाईसम्म बोक्न सक्नेछ ।

उनले भने, ‘यो एउटा मुर्खतापूर्ण डिजान थियो, तर, उनीहरु परिक्षणमा सफल भए ।’

अनुसन्धानकर्ताका अनुसार यो परियोजनाले नयाँ रणनितिक हतियार विकास गर्ने काममा अमेरिकालाई उछिन्ने चीनको महत्वाकांक्षालाई प्रतिबिम्बित गर्छ । यो हाइपरसोनिक प्रविधिमा नयाँ फड्को सावित हुने पनि उनको भनाई छ ।

अमेरिकाले पनि हाल हाइपरसोनिक जहाजमाथि परिक्षण गरिरहेको छ । लोकहिद मार्टिनले एसआर–७२ माथि काम गरिरहेका छन् । साथै उनले सुपरसोनिक यात्रुवाहक जहाजमाथि पनि काम गरिरहेका छन् । यो पनि आवाजको भन्दा उच्च गतिमा हुइकिन सक्ने बताइएको छ ।

पछिल्ला वर्षहरुमा चीनले गोबी मरुभूमिमा धेरै प्रकारका हाइपरसोनिक सवारीसाधनहरु परिक्षण गर्दै आएको छ । तिनीहरुमध्ये केही आवाजको गतिभन्दा १० गुणा तीव्र यात्रा गर्न सक्षम छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment