Comments Add Comment

मेयरसा’बलाई के वास्ता !

जनप्रतिनिधिको गति किन यति सुस्त ?

बुद्धनगरको सडक बीचको भ्वाङ । भ्वाङ परेको एक हप्ता बिते पनि अझै मर्मत भएको छैन ।

काठमाडौं बुद्धनगरमा सडकको बीचमा ‘भ्वाङ’ परेको सातादिन बित्नै लाग्यो । शायद, कुनै दुर्घटना नै नभएसम्म त्यसको मर्मत हुने छैन ।

बुद्धनगरका बासिन्दाको भनाइमा सामाखुशीमा गत वर्षायाममा ‘सत्या सापकोटा ढलमा बगेजस्तै’ घटना दोहोरिए काठमाडौंका मेयरले दलबलसहित यस क्षेत्रको पनि भ्रमण गर्थे होला ।

सडकको डरलाग्दो भ्वाङ हेरिरहेकी स्थानीय नीरमाया महर्जनलाई हामीले सोध्यौं, ‘महानगरमा खबर गरेको छैन ?’ उनको जवाफ थियो, ‘खबर त भइसक्यो, महानगरपालिकामा हाम्रातिरका मान्छे छैनन् नि । मेयरलाई यसको के वास्ता !’

उक्त खाल्डोमा सीधै माटो ल्याएर हाल्दा ढल थुनिन्छ । सोही कारण प्राविधिक दक्षता जरुरी छ ।

जनप्रतिनिधि आएको नौ महिना बितिसक्दा पनि महानगरका बासिन्दामा आफ्ना समस्या सुनुवाइ र समाधान हुन्छन् भन्ने विश्वास छैन । महानगरका अन्य जनप्रतिनिधिको कुरा छाडौं, मेयर विद्यासुन्दर शाक्यले पनि त्यो विश्वास दिलाउन सकेका छैनन् ।

‘पजलमा मेयर शाक्य’

मेयरमा चुनाव हारेकी रञ्जु दर्शनाको बुझाइमा शाक्य अहिले ‘पजल’मा छन् । उनलाई लाग्छ, ‘मेयरसा’ब अहिले कुन काम, कसरी शुुरु र सम्पन्न गर्ने भन्ने मेलोमेसो भेट्टाउनै सकिरहेका छैनन् । उनलाई देखिने गरी काम थाल्न आँट त आएको छैन नै गर्ने आत्मबल पनि देखिएको छैन ।’

त्यसैले त काठमाडौंका सडकका यस्ता भ्वाङ मान्छे निल्न तयार भएर बसेका छन् । तर, मेयर र उनको टिम यस्तो जोखिम हटाउन अग्रसर छैन । नगरवासीका अनुसार आधा करोडको बिलासी गाडीबाट उत्रिएर सडकको कन्तबिजोक हेर्न पनि मेयर तयार छैनन् ।

मेयर शाक्यले नयाँ योजना त बनाउन त सकिरहेका त छैनन् नै, आफूले चुनावमा गरेका घोषणा र त्यसअघि नै थालिएका योजना अगाडि बढाउन पनि खुट्टा कमाइरहेका छन् ।

महानगरका बासिन्दाले जनप्रतिनिधि आएको अनुभुतिसमेत गर्न सकेका छैनन् । करिब दुई दशकपछि आएका जनप्रतिनिधिहरुबाट ठूलै आशा थियो, आम नागरिकमा । र, ठूलो भरोसा पनि देखिन्थ्यो ।

६४ हजार मत पाएर चुनाव जितेका मेयर शाक्यले प्रतिबद्धताअनुसार त पहिलो सय दिनमा एक सय एक वटा काम गरिसक्नु पथ्र्यो । तर, उनले बचनअनुसार कामको ‘शतक’ हान्नुपर्ने पहिलो सय दिन सम्मान थापेरै बिताए ।

त्यसपछिका दिन विदेश भ्रमण, उद्घाटन, शिलान्यास, गोष्ठीमा सहभागिता र महानगरका फाइलमा हस्ताक्षर गरेरै बिताइरहेका छन्, मेयर शाक्यले ।

विवेकशील साझा पार्टीकी नेतृ दर्शनाको भनाइमा शाक्य यतिविधि रनभुल्लमा पर्नुका खास कारणहरु हुन सक्छन् । तर, उनले त्यसबारे मुख खोलेका छैनन् ।

‘मेयरसा’बले हामीसँगको कुराकानीमा आफू समस्यामा रहेको बताउनु भएको छ । कस्तो समस्या हो भन्ने उहाँले खुलाउनुभएको छैन,’ दर्शना भन्छिन्, ‘समस्याबाट उम्किएर काम थाल्नुपर्ने यो समयमा उहाँ अल्झिरहनुभयो ।’

नौ महिनासम्म कार्यालयभित्रै

१४ फागुनमा शाक्य मेयर निर्वाचित भएको नौ महिना पूरा हुँदैछ । एउटा भ्रुण आमाको कोखमा बसेर शिशुका रुपमा संघर्षका लागि पृथ्वीमा जन्म लिने अवधि पार गर्दैगर्दा मेयर शाक्य भने महानगरको कार्यालयबाट बाहिर निस्किनै सकेका छैनन् ।

उनले सार्वजनिक स्थानमा घेरिएर ‘काम गर्न किन नसकेको ?’ भन्ने प्रश्नको जवाफ दिनुपरेकै छैन । सञ्चारमाध्यमले गर्ने आलोचनालाई उनले ‘विरोधका लागि विरोध’ बताउने गरेका छन् ।

शाक्य ‘विकासे मेयर’ बन्ने अवसरको चाङमा अहिले पनि छँदैछन् । ११ अर्बको बजेट भएको महानगरमा आर्थिक स्रोतको कुनै अभाव छैन ।

अरु नगरहरु बजेट अभावका कारण काम गर्न नसकेर समस्यामा परेका बेला महानगरमा छुट्याएको रकम नै खर्च नहुने अवस्था छ । त्यसैैले पनि शाक्यले जनप्रतिनिधि आएको आभास हुने गरी किन काम गर्न सकेनन् भन्ने प्रश्न सबैमा छ ।

विवादै विवाद– मोबाइलदेखि रानीपोखरीसम्म

शुरुवातमै मोबाइल र गाडी खरिद प्रकरणमा मुछिए, शाक्य । यसबीचमा महानगरले गरेका उल्लेखनीय कामको विवरण बन्ने अवस्था रहेन । भूकम्पले भत्काएको रानीपोखरी बनाउँदा बनाउँदै विवादमा फसेर अड्किएको छ ।

रानीपोखरीमा क्रंक्रिट लगाएर निर्माण गरिएपछि त्यसबारे विज्ञ समूह बनाएर अध्ययन गर्नुपर्ने अवस्था आयो । अध्ययन प्रतिवेदनमा पनि पुरातत्व विभागको असहमति भएकाले त्यसको निर्माणमा अन्योल कायमै छ ।

 नागरिक भन्छन्– ‘हामी ढलमा बगेर मरौं कि खाडलमा परौं, मेयरसा’बलाई के वास्ता !

शाक्यले यसबीचमा प्रशासनिक भवनका रुपमा प्रयोग भइरहेको वागदरबार भत्काएर नयाँ भवन बनाउने योजना पनि घोषणा गरे । तर, त्यसमा पनि पुरातत्व विभागको असहमति रह्यो । र, भत्काउने योजना नै संकटमा परेको छ ।


उनी वागदरबारको अस्तित्व नै नरहेको बताउँदै त्यसलाई ‘हरिभवन’को नाम दिएर भत्काउन पाउनुपर्ने ‘लबिङ’मा छन् ।

भूकम्पका कारण ध्वस्त भएको काष्ठमण्डप निर्माण क्रममा उत्पन्न विवाद जहाँको त्यहीं छ । वसन्तपुरका बासिन्दा र सम्पदाप्रेमीले आफ्नो नेतृत्वमा काष्ठमण्डप बनाउन पाउनुपर्ने बताइरहँदा महानगरले आफैं बनाउने निर्णय गरेको छ । यो विवाद छिचोल्न पनि शाक्यको सीप चलेको छैन ।

कता गुड्दैछ मोनोरेल ?

मेयर शाक्यले चुनावमा गरेको सबैभन्दा ठूलो वाचा हो, आफ्नै कार्यकालमा मोनो रेल । त्यसबारे बीवाईडी नामक कम्पनीले महानगरलाई प्रारम्भिक सम्भाव्यता अध्ययन प्रतिवेदन दिएको ६ महिना बितिसक्यो ।

तर, शाक्यले त्यसको विस्तृत परियोजना प्रतिवेदन निर्माणको काम पनि अगाडि बढाउन सकेनन् ।

काठमाडौंमा मोनोरल गुडाउन स्वदेशी कम्पनीहरुले नै महानगरमा प्रस्ताव नगरेका होइनन् । तर, मेयर शाक्यले निर्णय लिनै सकेका छैनन् । त्यति मात्र होइन, महानगरले थालेका विभिन्न आयोजना अगाडि बढाउनसमेत मेयर शाक्यको अग्रसरता देखिएको छैन ।

‘कर्मचारीजस्ता मेयर’

शाक्य मेयरभन्दा बढी कर्मचारीको शैलीमा देखा परेको वसन्तपुरवासी मनोहर वैद्यको आरोप छ । त्यही ‘कर्मचारी रुप’का कारण आफू जनप्रतिनिधि भएको पत्तो पाउन नसकेको उनको ठम्याइ छ ।

‘हिजो कार्यकारी अधिकृतले अहिलेका मेयरले भन्दा धेरै काम गर्थे । योजना पनि ल्याउँथे । वडाध्यक्षले अलि–अलि समन्वय गरेका छन् र मात्रै मेयरको साख जोगिएको छ,’ वैद्य भन्छन्, ‘जनप्रतिनिधिले त नागरिक र कर्मचारीबीचमा बसेर पुलको काम गर्ने हो, शाक्यले भएको पुल पनि भत्काइदिने भए ।’

उनका अनुसार मेयर आएपछि विगतमा समस्या लिएर जाँदा आफ्नो कुरा सुनिदिने महानगरका कर्मचरी ‘मेयरसा’बलाई नै भन्नु’ भनेर तर्किन्छन् । मेयरलाई भेट्नै नपाइएको गुनासो धेरै महानगरवासीको छ ।

स्वार्थ समूहहरुको घेरामा

मेयर बनेपछि शाक्यले काममा तीव्रता दिन भन्दै विभिन्न कर्मचारीको विभागीय जिम्मेवारी हेरफेर गरे । तर, महानगरको माथिल्लो तहमा रहेका केही भ्रष्ट आचरणका व्यक्तिहरुलाई भने पार्टीको आडमा संरक्षण गर्दै थप प्रोत्साहन गरिएको कतिपय कर्मचारी आरोप लगाउँछन् ।

राम्रो काम गर्दागर्दै विभागीय जिम्मेवारी फेरिएको बताउँदै कतिपय कर्मचारीले शाक्यलाई असहयोग पनि गरिरहेका छन् । अहिले महत्वपूर्ण विभागका प्रमुखहरु नै मेयरविरुद्ध छन् ।

‘मेयरसा’बले कर्मचारीलाई काखापाखा गर्नुभयो । काम गर्नुभन्दा बढी पार्टीका मान्छे रिझाउन मात्र जिम्मेवारी हेरफेर भयो,’ एक विभागीय प्रमुख भन्छन्, ‘जो यहाँ भ्रष्ट भनेर चिनिएका विभागीय प्रमुख छन्, तिनैको कुरा सुनेर पनि मेयर दलदलमा फस्नुभएको हो ।’

मेयर शाक्य अख्तियारसँग डराइरहेको उनी निकटस्थहरुको भनाइ छ । ‘फसिन्छ’ भन्दै उनी पन्छिने गरेको उनीहरु बताउँछन् ।

त्यसो त, उपमेयर हरिप्रभा खड्गीसँग पनि उनको सम्बन्ध सुमधुर छैन । विभिन्न समयमा महानगरभित्रको विवाद छताछुल्ल हुँदै आएको छ ।

कांग्रेसबाट उपमेयर बनेकी हुन्, खड्गी । मेयरले एकलौटी गरेको बताउँदै उनले पटक–पटक सार्वजनिक रुपमै असन्तुष्टी जनाइसकेकी छन् । उपमेयरदेखि धेरै कर्मचारी पक्षमा नभएपछि मेयर शाक्यले विभिन्न काम चाहेर पनि अगाडि बढाउन सकिरहेका छैनन् ।

‘मेयरसा’बमा टिम वर्कको बानी कम देखियो । निर्देशनले मात्रै महानगरमा परिवर्तन हुँदैन, योजना बनाएर त्यसमा सही व्यक्तिलाई जिम्मेवारी दिँदै अगाडि बढ्नुपर्नेमा सानो स्वार्थ समूहको घेरामा पर्नुभयो,’ महानगरका अर्को एक उच्च तहका कर्मचारी भन्छन् ।

निर्णय क्षमता कमजोर भएका शाक्यले केही सीमित कर्मचारीको घेराबाट बाहिर आउने प्रयास पनि नगरेको विभागीय प्रमुखहरुकै आरोप छ ।

मेयर शाक्यको काम चित्तबुझ्दो नभएपछि उनको पार्टी एमालेले उनलाई सहयोग गर्न महानगरमा राजेन्द्र स्थापितलाई निजी सल्लाहकार बनाएको छ । तर, उनी महानगरमा आएपछि काममा तीव्रता होइन, थप विवादहरु सिर्जना भएका छन् ।

स्थापितलाई पठाउनुको अर्थ पार्टीले आफूप्रति विश्वास नगरेको हिसाबमा शाक्यले लिएको उनी निकटस्थहरु बताउँछन् । स्थापितले पनि सोही कारण काम गर्न सकिरहेका छैनन् ।

नागरिकसँग नजोडिएको र काम गर्ने उचित प्रयत्न नगरेकामा एमालेका नेताहरु पनि मेयर शाक्यको कामसँग सन्तुष्ट छैनन् ।

विवेकशीलकी नेतृ दर्शना मेयर शाक्य नियमित रुपमा नागरिकको घरदैलोमा नपुगेको बताउँछिन् । मेयर र नागरिकबीच पहुँच स्थापित नभई दूरी बढ्दै जानुको मुख्य कारण उनी त्यसैलाई मान्छिन् ।

‘म मेयर भएको भए दैनिक एउटा क्षेत्रमा पैदल पुग्थें । साँझ शहरको अवस्था र जीवनशैली हेर्थें । नागरिकलाई भेट्थें, समस्या सुन्थें । सकेको जति समाधान पनि गर्थें,’ दर्शना भन्छिन् ।

मेयर शाक्य भने गाडीबाट झरेर नागरिकसँग संवादमा रहेको देखिएको छैन । त्यसैले ग्राउन्डमा नागरिकका समस्याबारे उनी बेखबर नै देखिन्छन् ।

धुलो उडेको उड्यै

उनी मेयर बन्दै गर्दा काठमाडौंको धुलो ठूलै बहसको विषय थियो । उनी आउनासाथ पहिलो त्यही काम गर्ने धेरैको अपेक्षा पनि थियो, सबैको । भइदियो उल्टो, धुलो उडेको उड्यै भयो, मेयर शाक्यले जनप्रतिनिधि बन्नुअघिझैं देखेको नदेख्यै गर्नुमै हाइसञ्चो माने ।

काठमाडौंका बाहिरी मात्र होइन, भित्री सडक पनि बेहाल अवस्थामा छन् । महानगरभित्र खाल्डोविहीन सडक भेट्न मुस्किल छ । धुलो र हिलो मात्र होइन, नागरिकको स्वास्थ्यमा समेत प्रत्यक्ष असर पुर्याइरहेकाे छ ।

वर्षायाममा सडकका खाल्डाखुल्डी पुर्न नसकिने वक्तव्य महानगरले पटक–पटक निकालेको थियो । वर्षा सकिएपछि पनि महानगरले सडक मर्मत सुधारमा उल्लेखनीय केही गरेन ।

पहुँचवाला नेता र महानगरकै कर्मचारीको आवास भएको क्षेत्रका केही सडक कालोपत्रे गरिए । बढी समस्या भएका सडक अझै पनि उही हालतमा छन् ।

मेयर शाक्यले काठमाडौंमा खाल्डा भएका सडक देखेकै रहेनछन् । अनलाइनखबरको जिज्ञासामा उनको जवाफ छ, ‘कहाँ छन् अब खाल्डा भएका सडक ? हामीले सबै सडक मर्मत गरिसक्यौं । मेलम्चीले खनेका केही सडक र ढल बनिरहेका केही सडक होलान् । हामी आएपछि काठमाडौंमा सडक र प्रदुषणको अवस्था सुधारिएको छ । धुलो पनि हामीले नियन्त्रण गरेका छौं ।’

पाँच वटा ब्रुमर किन्न दुई पटक टेन्डर गर्दा पनि बढी मूल्यको ‘बिड’ भएकाले समस्या आएको उनले सुनाए । ‘हामीले फोहोरमैला व्यवस्थापनमा पनि थुप्रो काम गरिसक्यौं, आइल्यान्डमा ग्रिनरी विकास गरेका छौं,’ शाक्य भन्छन्, ‘काम भएन भनेर मात्रै हुँदैन, कहाँ के काम गर्नुपर्ने हो, त्यो पनि भनिदिनुप¥यो ।’

ठूला योजनाहरु अगाडि बढाउन भने समस्या परिरहेको उनले स्वीकारे । सडकका खाल्डा–खुल्डी पुर्ने काम सकिने चरणमा रहेको उनको दाबी छ । काठमाडौंका धेरै भित्री सडकको अवस्था नाजुक रहेको कुरा उनी स्वीकार्न तयार छैनन् ।

अनेकन समस्या पार लगाउँदै नयाँ योजना ल्याएर राजधानी शहरलाई व्यवस्थित बनाउने जिम्मेवारीसाथ महानगरमा जनप्रतिनिधि आएको एक वर्ष बित्दा पनि पुरानो शैली परिवर्तन नभएपछि अबको चार वर्ष पनि यही गतिमा बित्नेमा आमनागरिक चिन्तित छन् ।

करिब २० वर्ष कर्मचारीको बेवास्ता र ढिलासुस्तीबाट अताल्लिएका नागरिक मेयरको झुठो आश्वासनबाट झनै आजित बनेका छन् । बुद्धनगरकी निरमाया महर्जन दोहोर्‍याउँछिन्, ‘हामी ढलमा बगेर मरौं कि खाडलमा परौं, मेयरसा’बलाई के वास्ता !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment