Comments Add Comment

माओवादीमा गृहमन्त्रीको किचलो, मन्त्रिपरिषद विस्तारमा ढिलाइ

एमालेमा पनि लफडा, सोमबार सरकार विस्तार हुने दाबी

 

१३ फागुन, काठमाडौं । माओवादीभित्र गृहमन्त्रीको बन्ने भन्ने विषयमा आन्तरिक किचलो देखिएको छ । माओवादीभित्रको आन्तरिक किचलो र एमालेसमेत मन्त्रीका लागि भइरहेको हानाथापका कारण मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको छ ।

माओवादीबाट गृहमन्त्रीका लागि रामबहादुर थापा र वर्षमान पुनले अडान नछाड्दा अध्यक्ष प्रचण्डले मन्त्रीको नाम प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिन सकेका छैनन् ।

आइतबार साँझसम्म दुवै पार्टीबाट मन्त्री बन्नेहरुको नाम टुंगो लागेमा सोमबार सपथग्रहण हुने प्रधानमन्त्रीनिकट एक एमाले नेताले बताए । माओवादी अध्यक्ष प्रचण्डले पनि पार्टीका केही नेतासँग सोमबारसम्म मन्त्रिपरिषद विस्तार हुने जानकारी दिएका छन् ।

माओवादीबाट सरकारको नेतृत्व बादलले गर्नेमा सहमति भए पनि गृहमन्त्रीको विवाद छ । प्रचण्ड वर्षमानलाई गृहमन्त्री बनाउनुपर्ने दबावमा छन् । तर, पार्टीभित्र प्रदेश सरकारमा समेत बलियो हिस्सा लिन सफल भएका बादलले गृहमन्त्रीको अडान छाडेका छैनन् ।

बादल र वर्षमानको लडाइमा पूर्वगृहमन्त्री जनार्दन शर्माले गृहमा पुनः बाजी मार्ने चर्चा पनि चलेको छ । प्रधानमन्त्री ओलीको चाहना पनि बादल वा वर्षमानभन्दा जनार्दन गृहमन्त्री भइदिए काम गर्न सजिलो हुन्थ्यो भन्ने ढंगले आएको माओवादी हेडक्वार्टर स्रोतले जनाएको छ । तर, प्रचण्ड जनार्दनलाई गृहमन्त्री बनाउन खासै इच्छुक देखिँदैनन् ।

यद्यपि वर्षमान निकट नेताहरुले भने बादलको नेतृत्वमा सरकारमा जाने र वर्षमान गृहमन्त्री हुने टुंगो लागिसकेकाले अरुले खेल्नुको अर्थ नरहेको बताएका छन् । बादललाई अहिले गृहमन्त्री दिँदा उनले हाँक्न नसक्ने तर्क समेत गरिएको छ । विगतमा कटवाल प्रकरणका बेला बादल नै रक्षा मन्त्री रहेकाले पनि उनको क्षमतामाथि यस्तो आशंका गरिएको हो ।

माओवादीका एक नेताले भने, ‘नवराज सिलवालको लफडा मिलाउनेदेखि सबै सुरक्षा अंगको विश्वास लिनुपर्ने अवस्था छ । कर्मचारीतन्त्रले भरोसा गर्ने व्यक्ति गृहमा चाहिन्छ । विप्लवहरुलाई समेत मिलाउनुपर्ने र रणनीति बनाउनुपर्ने अवस्था रहेकाले गृहमा वर्षमान पुनलाई पठाउनुपर्ने एकथरि नेताहरुको माग छ ।’

माओवादीको बैठकले प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामहादुर थापा वादललाई मन्त्रीहरुको नाम टुंगो लगाउने अख्तियारी दिएको छ ।

एमालेमा पनि मन्त्रीको लफडा

माओवादीमा जस्तै एमालेमा पनि मन्त्रीहरुको टुंगो लागेको छैन । पार्टी स्थायी कमिटीले प्रमुख नेताहरुसँगको परामर्शमा अध्यक्षले मन्त्री छान्ने अधिकार दिएको छ । तर, ओली निकटकै नेताहरुले समेत आफूले चाहेको मन्त्रालय नपाए असहयोग गर्ने घुर्की दिन थालेका छन् ।

यद्यपि एमालेमा ओलीले नै मन्त्री छान्ने भएकाले अशन्तुष्टि भए पनि अवरोध नै भने छैन । एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले सोमवारसम्म मन्त्रिपरिषद विस्तार हुने जानकारी दिए ।

नेम्वाङले भने-अहिले दुवै पार्टीका अध्यक्षहरु संवादमा हुनुहुन्छ, सोमवार मन्त्रिपरिषद विस्तार र सपथ ग्रहण हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment