Comments Add Comment

प्रतिनिधिसभामा यादव र राष्ट्रियसभामा भट्टले शपथ गराउने

१३ फागुन, काठमाडौं । सघीय संसद्का नवनिर्वाचित सदस्यको यही फागुन २० गते आइतबार शपथ हुने भएको छ ।

संघीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभा सदस्यले अपराह्न ४ तथा राष्ट्रियसभा सदस्यले साँझ ५ बजे पद तथा गोपनीयताको शपथ लिनेछन् ।

राष्ट्रिय जनता पार्टीका तर्फबाट सर्लाही क्षेत्र नं २ बाट निर्वाचित ८० वर्षीय ज्येष्ठ सदस्य महेन्द्र राय यादवले प्रतिनिधिसभाका सदस्यलाई शपथ गराउनेछन् । संविधानका विषयमा फरक मत राख्दै आएको राजपाका अध्यक्ष मण्डलका सदस्यसमेत रहेका ज्येष्ठ सदस्य यादवलाई प्रतिनिधिसभाको पहिलो बैठकको अध्यक्षता गर्ने अवसर प्राप्त भएको छ ।

प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित ११० सदस्य रहेको प्रतिनिधिसभा संघीय संसद्को तल्लो सदनका रुपमा रहेको छ ।

त्यस्तै, नेपाली कांग्रेसका तर्फबाट निर्वाचित ६९ वर्षीया ज्येष्ठ सदस्य तारादेवी भट्टले राष्ट्रियसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउनेछिन् । नेपाली कांग्रेस प्रतिनिधिसभा तथा राष्ट्रियसभामा प्रमुख प्रतिपक्षका रुपमा रहनेछ ।

माथिल्लो सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट आठ जनाका हिसाबले ५६ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट तीनजना मनोनयन गर्ने संवैधानिक व्यवस्था छ । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीबाट दुवै सदनका ज्येष्ठ सदस्यले शपथ लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

संघीय संसद्को पहिलो अधिवेशन राष्ट्रपति भण्डारीबाट यही फागुन २१ गते अपराह्न ४ बजेका लागि आह्वान भइसकेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका दुवै अधिवेशन सोही दिन एउटै समयमा सञ्चालन हुने संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र अध्यक्षको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । उक्त व्यवस्थाअनुरुप सदनको पहिलो बैठकले प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको निर्वाचनको मिति तोक्ने र संसद् सञ्चालनका लागि कार्यविधि पारित गर्ने अनुमान गरिएको छ ।

प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको हुँदा राजनीतिक दलसँगको छलफलका आधारमा अघि बढाउनुपर्ने त्यस्ता विषयलाई टुंगोमा पुर्‍याइने प्रवक्ता गौतमले जानकारी दिए ।

‘राष्ट्रियसभा कक्षको माइक जडानको सामान्य कामबाहेक संघीय संसद्को पहिलो अधिवेशन, शपथ ग्रहण र त्यसपछिको बैठक बस्न आवश्यक सभाकक्ष निर्माणलगायत तयारी पूरा भइसकेको छ’, उनले भने ।

मुलुकमा पहिलो पटक संघीय संसद्को अभ्यास हुन लागेको हो । संघीय संसद्को बैठक प्रारम्भ भएसँगै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयनमा महत्वपूर्ण चरण पार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment