Comments Add Comment

मैले खानै जानेको रहेनछु !

‘मैले अहिलेसम्म खानै जानेको रहेनछु’

मेरो कुरा सुनेपछि साथीले विस्फारित दृष्टि फैलाउँदै एक शब्दमा सोधे, ‘के ?’

‘हो त, खाना खानै जानिएको रहेनछ’, मैलें जोड दिएँ, ‘जीवनको मध्यन्तरतिर आइपुग्दा बल्ल कसरी खाने भन्ने कुरा सिकिरहेको छु ।’

साथीलाई मेरो कुरामा पत्यार भएन ।

‘हैट, खान पनि नजान्ने । कस्तो कुरा गर्‍या ? खान त जसलाई पनि आइहाल्छ नि’, उनले भने ।

मैले सन्तुलीत भोजनको कुरा गरेको हुनसक्ने साथीलाई लागेको रहेछ । उनले आफ्नो शंसय निवारण गर्न खोजे, ‘तपाईले भन्न खोज्नुभएको ब्यालेन्स डाइट त हामी नेपालीको खानामा मिलाउन गाह्रो हुन्छ ।’

मैले सुरुकै वाक्यलाई प्रष्टसँग दोहोर्‍याएँ, ‘होइन, म भर्खर खान सिक्दैछु ।’

खाना खान सिक्नुपर्छ ?

एकपटक हास्य कलाकार माग्ने बुढा अर्थात केदार घिमिरेले खानपान सम्बन्धीको प्रसंगमा भनेका थिए, ‘म खाना हतारमा पाकपुक खाइहाल्छु । सँगै बसेका साथीले सुरु गरेका हुँदैन, मेरो चाहि थाल रित्तिइसक्छ ।’

हामी उनकै घरको माथिल्लो तलामा बसेर उनका कुरा सुनिरहेका थियौं ।

‘कहिले काहिँ आपत पर्छ’ उनले गाँठो फुकाए, ‘पार्टीमा साथै बसेर खानुपर्ने हुन्छ, त्यस्तो बेला अलि लुकेर वा छलिएर खान्छु ।’

उनको बानी रहेछ, हतार-हतार खाने । हतार त केहिपनि भएको हुँदैन । तर, यो बानी हो । र मेरो बानी पनि यस्तै छ ।  म एकदमै हतारमा खान्छु भन्ने बोध किशोरवयमै भएको हो, जतिबेला गाउँकै बहिनीले तर्सदै भनेकी थिइन्, ‘अबुई, कति छिटो-छिटो खाएको ?’

खाना खानुअघि अन्नदाताप्रति कृतज्ञ हुनुपर्छ । यसले मनमा आदरभाव पैदा गर्छ । प्रशन्न चित्तले खाना खाइन्छ ।

एकदिन फुपुले गाली गरेकी थिइन्, ‘हैन, तँलाई के हतार छ र तात्तातो गाँस निल्छस् ?’

खाने कुरामा किन बिलम्ब गर्ने ? भनिएकै छ, ‘काम साँचे आफुलाई, खान साँचे अर्कालाई ।’ म यस्तै मान्यताले ग्रस्त थिएँ । मलाई लाग्थ्यो, खानु भनेको डेढ वित्ताको पेट भर्नु हो । फुल ट्यांकी भरेपछि पुग्छ । खानु भनेको जिब्रोलाई स्वाद दिनु हो ।

पछि बुझ्दै गएँ, खानु भनेको ज्यानलाई सग्लो राख्नु पनि हो ।

स्वास्थ्यका लागि खानपान अनिवार्य छ । तर, कस्तो खाना ? खाना थरीथरीका हुन्छन् । स्वादमा विविधता हुन्छ । रंग र प्रकृतिमा विविधता हुन्छ । पोषण तत्वमा विविधता हुन्छ । म बिलकुल बेखबर थिएँ, कस्तो खाना खाने भनेर ।

जिब्रोको मर्जी

जीवनभर मैले जिब्रोको मर्जी अनुसार खाना खाएँ । अमिलो, पिरो, मसलेदार खानामा लोभिएँ । मिठो मसिनो खाना देखेपछि मुखमा पानी आउने । मुखमा पानी आएपछि न ‘अनसन’ बस्न सकिने, न ‘उपवास’ नै ।

गाउँघरतिर भन्थे, तागत दिने खानेकुरा खानुपर्छ । टन्नै खानुपर्छ । ताकत दिने खाना भनेको मासु । गेडागुडी । सागसब्जी । ढिंडो । आलु ।

‘मासु जति धेरै खायो उत्तिकै बलियो हुन्छ’ भन्ने लाग्थ्यो । गाउँघरमा मासु काटेको दिन टन्नै खाइन्थ्यो । जे-जति खानेकुरा भेटिन्छ, निसर्त खाइन्थ्यो । खाएपछि ज्यान लाग्छ । दह्रो भइन्छ । तगडा भइन्छ । यस्तै-यस्तै सुनिन्थ्यो । लाग्थ्यो पनि त्यस्तै ।

खानेकुरा केहि बारिएन । जे आउँछ, मजाले पचाउँछ शैलीमा खाइयो । थरीथरीका मासु खाइयो, सितन खाइयो, त्यससँगै वियर खाइयो । वियरको स्वद भिजेपछि जिब्रोले अरु अल्कोहलिक पेय डिमान्ड गर्‍यो । जिब्रोले जे-जति माग्छ, सकेजति आपूर्ति गरियो । खानेकुरा के खाने, कति खाने भन्ने नै भएन । जति पायो त्यती खाइयो ।

थाहा थियो, खानु नैसर्गिक अधिकार हो । खानु संस्कृति हो । खानु प्राकृतिक प्रकिया हो । खानु अनिवार्य हो ।

थाहा थिएन, कसरी खाने, कति खाने, कतिबेला खाने, के खाने, के नखाने ?

हजम भएन

शिव मुखिया

पढियो, परियो । जान्नेबुझ्ने भइयो । संसारका सबै कुरा थाहा भयो । खाना खाने तरिका थाहा भएन । तरिका थाहा नभएको कुरा पनि त्यसबेलासम्म थाहा भएन, जतिबेला अस्पताल पुगिएन ।

पेट लागेको थियो । पेट लाग्नुको सांकेतिक अर्थ हुन्थ्यो, हुनेखाने हुनु । अग्रजहरुले भन्थे, ‘मोटोघाटो हुनुपर्छ ।’ भएभरको खानेकुरा खाएपछि मोटोघाटो भइयो पनि । तर, स्वास्थ्यले ‘हाइ अर्लट’ जारी गरेपछि मोटोघाटो हुनुका साइड इफेक्ट थाहा भयो ।

खानेकुरा बढी र शारीरिक श्रम कम भएपछि शरीरमा बोसो लागेछ । त्यही बोसोले मांशपेसी फुलाइदिएछ । रगत बग्ने नसाहरु साँघुरो बनाइदिएछ । नर्सले पाखुरीमा स्पिग्मोमानोमिटर लगाएर थर्कमान हुने वाक्यंश बालिन्, ‘तपाईलाई ब्लड प्रेसर हाइ छ ।’

पटक-पटक नाप्दा पनि प्रेसर नाप्ने यन्त्र बेइमानी भइरह्यो । आखिरमा चिकित्सकले ‘प्रेसरको औषधी खानैपर्ने’ प्रेस्किप्सन धस्काइदिए ।

उच्च रक्तचापले मुटुको कार्यसंचालनमा अवरोध ल्याउने रहेछ । रक्त प्रवाह सही ढंगले नहुने रहेछ । त्यसो भएपछि अरु थुप्रै अंगले अतिरिक्त भार खेप्नुपर्ने रहेछ । अन्ततः शरीरमा रोग हावी हुने रहेछ । यस्तो डरलाग्दो अवस्था सुनेपछि, सोधियो, ‘प्रेसर कसरी घटाउने ?’

‘लाइफस्टाइल चेन्ज गर्नुहोस्’ डाक्टरले सुझाए, ‘बिहान उठेर मज्जाले ४५ मिनेट हिँड्नुहोस् । एक्सरसाइज गर्नुहोस् । सकिन्छ भने ध्यान, योग गर्नुहोस् । अनि खानपानमा चाहि सतर्क हुनुहोस् । नुन, चिल्लो खानेकुरा एकदमै कम गर्नु ।’

स्वास्थ्यले हाइ अलर्ट जारी गरेपछि तामासिक खानपान त्याग्ने निक्र्यौल गरियो । आशिंक रुपमा त्याग पनि गरियो । मदिरापान हुँदै मासुजन्य खानेकुरालाई नियन्त्रण गरियो । मैदाले बनेका खानेकुरा सकेसम्म कम गरियो । मेरो मेनुबाट खानेकुराहरु क्रमस कटौती हुँदै गए ।

स्लिम होइन चिलिम

साह्रै झोंक चल्यो । अन्तत भुटेको मकैं, मोहि, केहि सलाद र उसिनेको अन्डाले छाक टार्न थालें । व्यायाम पनि गरियो । देख्नेहरुले भने, ‘अबुई के साह्रो दुब्लाएको ?’

कतिले साहनुभूति देखाए । कतिले रोग लागेको लख काटे । एकदिन आफैलाई आफ्नो शरीरको सन्तुलन बिगि्रएको भान भयो । चक्कर लागेजस्तो हुनथाल्यो । आखिरमा अस्पताल जानैपर्ने भयो । शरीरमा केहि बोत्तल स्लाइन पानी आपूर्ति गरिसकेपछि अलि फूर्ति आयो । डाक्टरले भन्यो, ‘विकनेसले गर्दा यस्तो भएको । खानेकुरा मिलाएर खानुहोला ।’

स्लिम हुने चक्करमा खानेकुरा घटाउँदा शरीरलाई पोषण नपुगेको हेक्कै भएन । डाक्टरले भनेपछि थाहा भयो, ‘खाना भनेको पोषणका स्रोत हुन् । शरीरलाई आवश्यक सबै किसिमको पोषण भिन्न भिन्नै खानेकुराबाट उचित मात्रामा लिनुपर्छ ।’

फेरि खानाको डोज बढाइयो ।

खानै नजान्ने म

खासमा म खाना खानै नजान्ने रहेछु । दिनभरको खानपानमा ति सबै पोषक तत्व सामेल गर्नुपर्ने रहेछ, जो शरीरलाई आवश्यक हुन्छ । तर, मैले सिलसिलावद्ध ति के-के खानेकुरा हुन् भन्ने जानिन । शरीरलाई कुन खानेकुराबाट कुन पोषक तत्व आवश्यक पर्छ भन्ने पनि जानिन । पोषक तत्व कति मात्रामा ग्रहण गर्नुपर्छ भन्ने पनि जानिन । ति पोषक तत्व आपूर्तिका लागि खानामा कसरी सन्तुलन र समय तालिका मिलाउने भन्ने पनि जानिन ।

खासगरी बलिउड सेलिब्रेटीहरु डाइट चार्ट अनुसार खानपान गर्दा रहेछन् । उनीहरु त्यती नै खान्छन्, जति आवश्यक छ । त्यसरी नै खान्छन्, जसरी खानुपर्छ । त्यो नै खान्छन्, जुन शरीरले माग्छ ।

पलेंटी कसेर खानुको पनि फाइदा रहेछ । पलेंटी कसेर बस्दा खुम्चिएको भाग सुरक्षित रहन्छ, हावा र पानीका लागि । यसले पाचनमा सघाउँछ ।

मैले धेरै बलिउड सेलिब्रेटीको डाइट चार्ट, खानपान शैलीबारे लेखें । एक पाठकले कटाक्ष गरे, ‘यो अनलाइनखबरले काम पाएन कि क्या हो ? यस्तो वाहियात पनि समाचार ?’

वास्तवमा सेलिब्रेटीले के खान्छन् भन्ने जिज्ञासा एकातिर छ । अर्कोतिर त्यसबाट हामी खानपानको विशिष्ठ शैली र तौर तरिका पनि सिक्छौं । तर, त्यस्ता कुरालाई ठाडै वाहियात भन्ने प्रवृत्ति छ हाम्रो ।

बुवा भन्नुहुन्थ्यो, ‘खानेकुरा खाँदा स्वाद लिएर खानुपर्छ ।’ उहाँ खुब स्वाद लिएर खानुहुन्थ्यो । खाना खाँदा गुन्द्रीमा पलेंटी कसेर बस्नुहुन्थ्यो । खानुअघि थोरै भात अगाडि राखेर त्यसमा पानी चढाउनुहुन्थ्यो । हातका औंलाका टुप्पाहरुले जतनसाथ खानेकुरा मुछ्ने र खाने गर्नुहुन्थ्यो । थाल चिल्लो बनाएर खानुहुन्थ्यो । तर, एक दुई गाँस खाना चोखो बनाएर थालकै छेउमा छाड्नुहुन्थ्यो ।

‘खानेकुरा छरेर खानुहुँदैन, अन्नले सराप्छ’ उहाँको यो भनाई मलाई सोहै्रआना वाहियात लाग्थ्यो । अन्नले कसरी थाहा पाउँछ र सराप्छ ? बुढालाई यो अन्न भन्ने कुरा निर्जिब भन्ने के थाहा ?

अहिले आएर ‘लाइफस्टाल’बारे लेख्न थाले । लाइफस्टाइलको एउटा हिस्सा, खानपान पनि । यसै क्रममा जाने, डाइनिङ म्यानर, डाइनिङ एटिकेट ।

केहि समयअघि दरबारमार्गस्थित पाँचतारे होटल अन्नपूर्णका फूड एन्ड वेभरेज म्यानेजरसँग साक्षात्कार भयो । उनले हाम्रो खानपान शैलीबारे ब्याख्या गरे । कसरी खाने भन्ने कुरा पनि सुनाए । डाइनिङ एटिकेटका महाभारत बताइदिए ।

खाना के हो, किन खाने, कसरी खाने, कति खाने भन्नेबारे हाम्रा पौराणिक शास्त्रहरुमा लेखिएको रहेछ । मैले थुप्रै पटक साभार गर्दै लेखें, खाना प्रशन्न चित्तले खानुपर्छ । हरेक गाँसमा स्वाद लिनुपर्छ । खुब चपाएर खानुपर्छ । खाएको बेला अन्यत्र ध्यान दिनुहुँदैन । सात्विक भोजन गर्नुपर्छ । अल्पहारी हुनुपर्छ ।

मेरो बुवाको खानपान शैली, होटल एभरेष्टका फूड एन्ड वेभरेज म्यानेजरको पाठ र हाम्रा प्राचित शास्त्रहरुको ज्ञानमा एकरुपता थियो । ति सबैले सिकाएको थियो, खाना यसरी खाने, यति खाने, खानेबेला यसो गर्ने, यसो नगर्ने ।

बल्ल खान सिकें

कि्रश्चियनहरु खाना खानुअघि घुँडा टेकेर भन्छन्, ‘प्रभू, धन्यवाद खानाको लागि ।’

हामी हिन्दु परम्परा पनि खाना खानुअघि आँखा चिम्लेर धन्यवाद दिइन्छ ।

वास्तवमा यो आडम्बर, ढोंङ होइन रहेछ । खानेकुरा भनेका प्राणको स्रोत हुन् । प्राण भनेको ईश्वरिय तत्व हो । त्यसैले हामी खाना खानुअघि अन्नदाताप्रति कृतज्ञ हुनुपर्छ । यसले मनमा आदरभाव पैदा गर्छ । प्रशन्न चित्तले खाना खाइन्छ । खाना खाइरहँदा त्यो शरीरका लागि हो भन्ने कुराको बोध हुन्छ ।

बुवाले भात खानुअघि थोरै भुँइमा राखेर पानी चढाएको त्यसै होइन रहेछ ।

हरेक गाँसमा स्वाद लिनुपर्छ । चपाएर खानुपर्छ । चपाएर खाएपछि त्यसले पाचन यन्त्रलाई सहज बनाइदिन्छ । खानामा रहेको पोषण तत्व शरीरले सहज रुपमा ग्रहण गर्छ । खाना मल मात्र हुँदैन, पाचन यन्त्रको भार मात्र हुँदैन ।

हाम्रा धर्मशास्त्रहरुमा सात्विक भोजनको महत्वबारे प्रष्टै छ । सात्विक भोजन, जो सुपाच्य, स्वादिलो र स्वस्थकर हुन्छ । यस्ता खानेकुराले शरीरलाई पोषक तत्व प्रदान गर्छ । अनावश्यक विकार पैदा गराउँदैन ।

खाना खाँदा सम्पूर्ण ध्यान खानामै केन्दि्रत हुनुपर्छ । हरेक गाँसमा स्वाद लिनुपर्छ । हरेक खानाको आ-आफ्नै स्वाद हुन्छन्, ति सबैखाले स्वाद अनुभूत गर्नुपर्छ । मैले यस्तै बुझें ।

विदुर नीतिमा कस्ता व्यक्तिलाई पूरुषार्थ भन्ने भनेर उल्लेख गरिएको छ । त्यसमा एउटा लाइन छ, अल्पहारी । अर्थात अत्याधिक खाने होइन, कम खाने । विश्वमा सबैभन्दा बढी उमेर बाँचेकी एक वृद्धाले आफ्नो दीर्घजीवनको राज खुलाउँदै सुझाएकी थिइन्, ‘थोरै खाउँ, धेरै बाँचौ ।’

अहिले भन्ने गरिन्छ, ‘जति खान्छौं, त्यसको एक अंश पानीको लागि र अर्को एक अंश हावाको लागि खाली राख ।’ अर्थात भरपेट खाने होइन, केहि मात्रा पानी र हावाको लागि पनि खाली ठाउँ राखिदिनुपर्छ । बुवाले खानाको अन्तिममा दुई गाँस छाडेको त्यसै होइन रहेछ ।

पलेंटी कसेर खानुको पनि फाइदा रहेछ । पलेंटी कसेर बस्दा पेटमा खुम्चन्छ । खाना खाइसक्दा पनि उक्त खुम्चिएको भाग सुरक्षित रहन्छ, हावा र पानीका लागि ।

भनेको सुनिन्छ, ‘जस्तो खान्छौ, त्यस्तै हुन्छौं ।’ भन्नुको मतलब हामी जस्तो खान्छौं, त्यसको प्रभाव हाम्रो स्वास्थ्यदेखि बिचारसम्म पर्छ । सुपाच्य, सन्तुलित, स्वस्थ्यकर, सफा, स्वादिलो खानेकुरा खान्छौं भने हामी निरोगी हुन्छौं । उर्जावान हुन्छौं । शरीर शुद्ध हुन्छ । मन सकारत्मक हुन्छ ।

हाम्रो संस्कार, पौराणिक शास्त्रहरुले हामीलाई खान सिकाएको रहेछ । तर, खानपानको यति समृद्ध संस्कारलाई हामीले आडम्बर भन्दै लत्याएछौं । अहिले आएर बोध भयो, ‘हामीले खाना जानेकै रहेनछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment