Comments Add Comment

रक्षामन्त्री ईश्वर पोखरेल : अग्लो नेतालाई होचो मन्त्रालय !

जंगीअड्डाको मेजमानीमा भुल्ने कि भ्रष्टाचारविरुद्ध खुल्ने ?

तस्वीर : रासस

१४ फागुन, काठमाडौं । एमाले महासचिव ईश्वर पोखरेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्ने तयारीमा थिए । तर, उपप्रधानमन्त्रीबिनाको रक्षामन्त्रीमा चित्त बुझाउन बाध्य भए ।

प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच उपप्रधानमन्त्री नराख्ने सहमति भएका कारण पोखरेल उपप्रधानमन्त्री भएनन् । तर, प्रधानमन्त्रीपछिको बरियतामा राख्न दुवै नेता सहमत भए ।

ईश्वर पोखरेलका लागि मन्त्री पद अहिलेसम्म सुखद भएको छैन । संख्याको हिसाबले उनी तेस्रोपटक मन्त्री भए । यसअघिका उनका दुबै कार्यकाल बिर्सनलायक छन् । पहिलोपटक ०६१ सालमा प्रतिगमन आधा सच्चियो भन्दै एमालेले शेरबहादुर देउवाको सरकारमा पोखरेललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनाएर पठाएको थियो ।

सात महिना कार्यकाल नपुग्दै तत्कालीन राजा ज्ञानेन्द्रले देउवा सरकारलाई बर्खास्त गरेपछि पोखरेल मन्त्री भएकै अवस्थामा राजविराजबाट पक्राउ परेका थिए । उनले मन्त्री हुँदा तेलको मूल्य बढेको अपजश यसरी भोग्नुपर्‍यो कि, उनी अहिले पनि दरबारको षडयन्त्रको शिकार भएको सम्झिरहन्छन् ।

पोखरेल ०६९ सालमो दोस्रो पटक मन्त्री बने । डा.बाबुराम भट्टराईको सरकारमा उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बनेका पोखरेलले १३ दिनमै राजीनामा दिएर बाहिरिनुपर्‍यो ।

यसपटक पोखरेलले अर्थमन्त्री बनेर विगतका दुई छोटा र बिर्सनलायक कार्यकाललाई साँच्चिकै बिर्साउने गरी आफ्नो यो कार्यकाललाई निर्णायक र सम्झनलायक बनाउन चाहन्थे । तर, उनले अर्थमन्त्रालय पाएनन् ।

त्योबेला बाबुराम नेतृत्वको सरकारमा एमालेले पोखरेल र कांग्रेसले कृष्ण सिटौलालाई उपप्रधानमन्त्री सहित पठाएका थिए । तर, बाबुरामले पहिलो संविधानसभा विघटन गरेपछि पोखरेललाई पार्टीले फिर्ता बोलायो ।

उपप्रधानमन्त्रीबाट झर्ने तेस्रो नेता

यसपटक पोखरेल आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीबाट घटुवा हुन तयार भएर लो-प्रोफाइलको मन्त्रालयमा पुगेका छन् ।

उपप्रधानमन्त्री भइसकेको व्यक्ति मन्त्रीमात्र बन्ने उनी पहिलोचाहिँ होइनन् । यसअघि सभामुख भइसकेका कांग्रेस नेता रामचन्द्र पौडेल उपप्रधामन्त्री बनेका थिए । ०५६ मा उपप्रधानमन्त्री बनेका पौडेल ०६४ मा गिरिजाप्रसाद कोइरालाको पालामा मन्त्रीमात्रै बने ।

त्यस्तै सदभावना पार्टीका बद्रीप्रसाद मण्डल पनि उपप्रधानमन्त्रीबाट मन्त्री बनेका थिए ।

त्यसो त प्रधानमन्त्री भइसकेका व्यक्ति मन्त्री बनेको उदाहरण धेरै देशमा छन् ।

रक्षामा अवसर र चुनौती

यसपटक पोखरेलले अर्थमन्त्री बनेर विगतका दुई छोटा र बिर्सनलायक कार्यकाललाई साँच्चिकै बिर्साउने गरी आफ्नो यो कार्यकाललाई निर्णायक र सम्झनलायक बनाउन चाहन्थे । तर, उनले अर्थमन्त्रालय पाएनन् ।

मन्त्रालयका हिसाबले रक्षा मन्त्रालय आफैंमा महत्वपूर्ण मन्त्रालय हो । राष्ट्रिय सुरक्षा नीति बनाउनेदेखि नेपाली सेनाको व्यवहारिक लोकतान्त्रीकरणका क्षेत्रमा राजनीतिक नेतृत्व तहबाट गर्नुपर्ने धेरै काम भएका छैनन् ।

एमालेबाट अहिलेसम्म माधव नेपाल, विद्या भण्डारी, भीम रावल र विष्णु पौडेल रक्षामन्त्री भइसकेका छन् । तर, जो रक्षामन्त्री भए पनि नेपाली सेनाको मेजमानीमा मख्ख पर्ने र सुधारका काम हुन नदिने गिरोह रक्षा मन्त्रालय र जंगी अड्डामा व्याप्त छ । त्यो गिरोहबाट जोगिएर काम गर्ने हो भने रक्षा मन्त्रीका रुपमा ईश्वर पोखरेलले उदाहरणीय काम गर्ने अवसर छ ।

जंगी अड्डाको भ्रष्टाचार देख्लान् ?

अहिलेसम्म रक्षा मन्त्रालय भनेको जंगी अड्डाबाट आएका फाइल सदर गरेर मन्त्रिपरिषदमा पुर्‍याउने हुलाकजस्तै हो । रक्षामन्त्री भनेको सेनाका फाइल बोक्ने हुलाकी जस्तोमात्रै हुँदै आएका छन् ।

अदालतपछि सबैभन्दा बढी भ्रष्टाचार हुने राज्यको अंगका रुपमा नेपाली सेनालाई समेत लिने गरिएको पाइन्छ । तर, अख्तियारले नछुने भएकाले सेनाभित्रका अर्बौंका भ्रष्टाचार जंगी अड्डाको कार्पेटमुनि ओछ्याउने गरिएका छन् ।

सेटिङ नमिलाई खाने केही हाकिमलाई सैनिक अदालतबाट कारवाही गरिएका समाचार दुई/चार वर्षमा एकपटक आए पनि संस्थागत रुपमा हुने गरेका अर्बौंका भ्रष्टाचारमा रक्षामन्त्रालय मूकदर्शक बस्ने गरेको छ ।

जंगी अड्डाका फाइल रोक्न आँट गर्ने मन्त्री र सचिव रक्षामन्त्रालयमा बिरलै पुगेका छन् । पोखरेलको परीक्षा पनि यहीँबाट शुरु हुन्छ ।

यसबारे अलि सोधखोज गर्ने रक्षामन्त्री आयो भने विकास निर्माणसम्बन्धी विभाग हेर्ने जर्नेल लगाएर मन्त्रीलाई काठमाडौंमा एउटा आकर्षक घर बनाइदिने गरेको तथ्य ओपन सेक्रेट रहेको भुक्तभोगीहरु बताउँछन् ।

सेनाभित्र सरुवा, बढुवा र ठेक्कापट्टामा ठूलो अनियमितता हुने गरेको छ । केही चलखेल गर्ने दरबारिया जर्नेलहरुको म्याद थप नगर्दा तत्कालीन रक्षामन्त्री रामबहादुर थापा बादलको मन्त्री पद नै धरापमा परेको थियो ।

जंगी अड्डाका फाइल रोक्न आँट गर्ने मन्त्री र सचिव रक्षामन्त्रालयमा बिरलै पुगेका छन् । पोखरेलको परीक्षा पनि यहीँबाट शुरु हुन्छ ।

रक्षामन्त्रालय भन्नेवित्तिकै नेपाली सेनाको तालुकवाला अड्डामात्र बुझिने गरेको छ । वास्तवमा विश्वका धेरै देशमा रक्षामन्त्रालय सबैभन्दा महत्वपूर्ण र शक्तिशाली मानिन्छ ।

रक्षा मन्त्रालयलाई परम्परागत जंगी अड्डाका तालुक निकायबाट राष्ट्रिय सुरक्षाको रणनीतिक मुकाम बनाउने अवसर एमालेका महासचिव ईश्वर पोखरेललाई छ ।

पार्टी सत्ता र राज्यसत्ताको फरक

राजनीतिक आवद्धताका हिसाबले ईश्वर पोखरेल एमालेका शीर्ष नेताहरु केपी शर्मा ओली र माधव नेपालकै समकक्षी हुन् । तत्कालीन नेकपा मालेका संस्थापकमध्येका एक ईश्वर पोखरेल राजकीय पदका मामिलामा भने समकालीन नेताहरुको तुलनामा अभागी मानिन्छन् ।

पार्टीको महासचिव भइसकेका नेताले रोजेको मन्त्रालय पाउनुपर्छ भन्ने दबावका बीच पोखरेल यसपटक पनि आफूले रोजेको होइन प्रधानमन्त्रीले खोजेको मन्त्रालयमा जान बाध्य भए ।

सम्भवतः यसबीचमा पोखरेलका लागि नयाँ मन्त्रालय खडा गर्न खोजिँदैछ । सबै प्रदेशको विकास निर्माण समन्वय गर्ने गरी अरु मन्त्रालयभन्दा माथिको शक्तिशाली मन्त्रालय खडा गर्न लागिएको चर्चा पनि चलेको छ । त्योभन्दा अघि पोखरेलले रक्षा मन्त्रालयमा केही देखिने सुधार अवश्य गर्नुपर्नेछ ।

पार्टीमा पोखरेललाई सधैं सत्तापक्ष नै भनिन्छ, तर राजकीय सत्तामा भने उनको विगत सुखद छैन । यसपटक उनले जुनसुकै मन्त्रालय पाए पनि सुखद बहिर्गमन गरेर प्रधानमन्त्रीको लाइनमा बस्नुपर्ने बाध्यता छ ।

पार्टी राजनीतिमा ईश्वर पोखरेल भाग्यमानी नै मानिन्छन् । उनी जो पार्टी प्रमुख भए पनि नेतृत्वसँग नजिक भएर काम गर्ने क्षमता राख्ने नेता हुन् । मदन भण्डारीको पालामा कार्यालय सचिव र माधव नेपालका पालामा सचिवालय सचिव भएर काम गरेका पोखरेल झलनाथ र केपी शर्मा ओली दुवै अध्यक्षको महासचिव भएर काम गरेका नेता हुन् ।

पार्टीमा पोखरेललाई सधैं सत्तापक्ष नै भनिन्छ, तर राजकीय सत्तामा भने उनको विगत सुखद छैन । यसपटक उनले जुनसुकै मन्त्रालय पाए पनि सुखद बहिर्गमन गरेर प्रधानमन्त्रीको लाइनमा बस्नुपर्ने बाध्यता छ ।

अग्लो राजनीतिक कदका नेतालाई होचो कदको मन्त्रालय दिएको टिप्पणी भइरहेका बेला अब पोखरलले रक्षा मन्त्रालयको महत्व दुनियाँले देख्ने र महशुस गर्ने गरी बढाउन सके भने उनी सफल भएको मान्न सकिन्छ ।

किनकी नेपाली राजनीतिका बरिष्ठतम नेता पोखरेलसँग त्यो क्षमता र राजनीतिक शक्ति छ । पैसा र पावर खेलाउने हिसाबले अहिले गृहमन्त्रालयलाई जसरी शक्तिशाली बनाइएको छ, रक्षा मन्त्रालय त्यो भन्दा कमजोर होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment