Comments Add Comment

कोरियाले आगामी वर्ष ७ हजारभन्दा बढी नेपाली कामदार लैजाने

१५ फागुन, काठमाडौं । दक्षिण कोरियाले आगामी वर्ष नेपालबाट इपीएसमार्फत ७ हजारभन्दा बढी कामदार लैजाने भएको छ । कोरियाको मानव संशाधन विभाग (एचआरडी)ले सन् २०१९का लागि ७ हजारभन्दा बढी कामदारको कोटा सिलिङ तोकिएको जानकारी इपीएस कोरिया शाखालाई गराएको छ ।

अब आगामी चैतको दोस्रो साता भाषा परीक्षामा सामेल हुनेसँग अनलाइन आवेदन लिइनेछ । जेठको अन्तिम साता कोरियन भाष्षको परीक्षा हुने इपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर पराजुलीले अनलाइनखबरलाई जानकारी दिए ।

अबको वर्ष परीक्षा दिनेमध्येबाट कृषितर्फ २ हजारभन्दा बढी र उत्पादनमूलक क्षेत्रतर्फ करिब ५ हजार परीक्षार्थी उर्तीण हुने इपीएस कोरिया शाखाले जनाएको छ ।

‘सन् २०१९ मा यो वर्षभन्दा केही कम कामदार कोरिया जानेछन्’ पराजुलीले भने,’ सन् २०१७ मा ३१ सयमात्रै कामदारको कोटा दिएको कोरियाले यो वर्ष राम्रो कोटा सिलिङ दिएको छ ।’

सन् २०१८को लागि १० हजार १ सय कामदारको सिलिङ दिएको कोरियाले १२ हजार १ सय ८ जना परीक्षार्थीलाई भाषा परीक्षामा पास गराएको थियो । यो वर्ष पनि कोटाभन्दा बढी परीक्षा पास हुनेमा सरकार आसावादी छ ।

रोजगार अनुमति प्रणाली (इपीएस) अन्तरगत सन् २०१९ को कोरियन भाषा परीक्षाको फारम चैत दोस्रो सातामा खुल्नेछ ।

त्यसको विस्तृत तालिका शाखाले केही दिनमा सार्वजनिक गर्ने प्रवक्ता पराजुलीले बताए । र, यो पटक पनि अघिल्लो वर्षजस्तै अनलाइन फारम भर्न सकिनेछ । यसले फराम भर्न रातभर लाइन बस्नु पर्ने बाध्यता पर्नेछैन ।

परीक्षा कहिलेबाट कहाँ-कहाँ हुने भन्ने विस्तत तालिका शाखाले परीक्षा आवेदन फारम संकलन गरेपछि प्रकाशित गर्नेछ ।
रोजगारीका लागि आकर्षक गन्तव्य भएका कारण धेरै आवेदन पर्ने गरेको छ । गतवर्ष कोरियन भाषा परीक्षामा झण्डै ७० हजार युवा सहभागी भएका थिए । यो वर्ष इपीएस भाषा परीक्षा जेठको अन्तिम सातामा हुनेछ ।

नेपालबाट सन् २००८ देखि इपीएसमार्फत प्रशिक्षार्थी कामदार कोरिया जान थालेका हुन् । आकर्षक कमाइ हुने भएकाले कोरिया जान खोज्ने युवाको संख्या उच्च छ । त्यहाँ ५० हजारभन्दा बढी युवा यही प्रणालीबाट भाषा पास गरेरै पुगिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment