Comments Add Comment

कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत, विपक्षीले गर्‍यो चिरायूको कामना

१५ फागुन, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत जितेका छन् । तर, विपक्षी दलका कांग्रेसले भने एमाले र माओवादीबीच देखिएको किचोलोतर्फ संकेत गर्दै गठबन्धन नटुटोस् भने कामना गरेका छन् ।

माओवादीबाट मुख्यमन्त्री बनेका साहीले विश्वासको मत माग्दै कर्णाली प्रदेशको विकास गर्न अरु प्रदेश जस्तो सहज नभएको भन्दै सबै दल मिलेर जानुपर्ने बताए । समृद्धि प्रदेश बनाउन कसैले पनि पक्ष र प्रतिपक्ष भन्न नुहने भन्दै उनले प्रतिपक्ष कांग्रेससहित राप्रपासँग विश्वासको मतको अपील गरे ।

एमाले संसदीय दलका नेता यामलाल कंडेलले समर्थन गर्दै प्रदेश समृद्धिका लागि एक हुनुपर्ने बताए । माओवादी केन्ऽकी संसदीय दलकी सचेतक सीता नेपालीले पनि प्रदेश निर्माणका लागि सबै एक हुनुपर्ने भन्दै समर्थन गरिन् ।

प्रतिपक्षी दल कांग्रेसका जीवनबहादुर शाहीले भने सरकारको चिरायूको कामना गरे । आफूहरु प्रतिपक्षमै बस्ने भन्दै उनले सरकार नभत्कियोस् भन्ने कामना गर्दै सम्बोधन सुरु गरेका थिए । अझै पनि बाहिर वाम गठबन्धन फुट्छ कि भन्ने शंका कायमै रहेको भन्दै उनले सरकारलाई चिरायुको कामना गरे ।

‘बाहिर अझै पनि केही शंकाहरु छन्, फुटेर जाने त होइनन्, त्यसो नहोस्’ उनले भने, ‘गठबन्धन नफुटोस्, सरकार नभत्कियोस् म शुभकामना दिन चाहन्छु ।’

पूर्वमन्त्री समेत रहेका शाहीले प्रदेशको सम्बृद्धिका लागि सरकारले प्रतिपक्ष दलका योजनालाई समेत समेट्नु पर्ने भन्दै एक्लै नदौडिन सरकारलाई सुझाव दिए ।

४० सदस्यीय प्रदेशसभामा शाहीले ३२ मत पाएका छन् । विपक्षमा ६ मत परेको छ । राप्रपा र कांग्रेसले सरकारको विपक्षमा मत दिएका हुन् ।

कांग्रेसको ६ र राप्रपाको एक सांसद भए पनि कांग्रेसका एक सांसद भने अनुपस्थित थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment