Comments Add Comment

मातृभाषामा सपथ लिने सांसदले भोलिसम्म निवेदन दिनुपर्ने


१६ फागुन, काठमाडौं । संघीय संसद सचिवालयले मातृभाषामा सपथ लिन चाहने सांसदहरुलाई विहीबारसम्म निवेदन दिन आहृवान गरेको छ ।

सपथ लिनु ३ दिनअघि नै मातृभाषामा सपथ लिन चाहने सांसदहरुलाई निवेदन पनि आग्रह गरिएको संघीय संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिए । संसद सचिवालयमा हालसम्म ७ जनाले मातृभाषामा सपथ लिन निवेदन दिएका छन् ।

सचिवालयले आइतबार अपरान्ह ४ बजे प्रतिनिधिसभा र ५ बजे राष्ट्रिय सभाका सांसदहरुको सपथ गराउने कार्यतालिका तय गरेको छ । सोही कार्यतालिकाका विषयमा बुधबार दलहरुलाई औपचारिक जानकारी गराइएको पनि प्रवक्ता गौतमले बताए ।

सचिवालयले बुधबार प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने ५ दलसँग संघीय संसदको पहिलो अधिवेशन र सांसदहरुको सपथका विषयमा छलफल गरेको छ । आगामी सोमबार अपरान्ह ४ बजे राष्ट्रपति विद्या भण्डारीले संघीय संसदको पहिलो अधिवेशन आहृवान गरेकी छन् ।

संसद सचिवालयले संसदको अन्तरिम कार्यविधि तय गर्न आइतबार सर्वदलीय बैठक बोलाउने निर्णय पनि गरेको छ ।

प्रतिनिधिसभाका सभामुख, उपसभामुख तथा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्षको निर्वाचन गराउने र सरकारले विश्वासको मत लिनेलगायतका कार्यतालिका तय गर्न पनि आइतबार सर्वदलीय बैठक बोलाउने निर्णय लिइएको प्रवक्ता गौतमले जानकारी दिए ।

संवैधानिक व्यवस्था अनुसार संसदको पहिलो अधिवेशन सम्पन्न भएको १५ दिनभित्र प्रतिनिधिसभाका सभामुख, उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्षको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने हुन्छ ।

त्यसैगरी सरकार गठन भएको एक महिना भित्र विश्वासको मत पनि लिइसक्नु संवैधानिक व्यवस्था छ ।

आइतबार बोलाइएको सर्वदलीय बैठकमा सोही निर्वाचनको मिति समेत तय गरिने संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभा गरी संघीय संसदमा ३ सय ३४ जना सांसद रहेका छन् । पहिलो अधिवेशनमा दुवै सदनको संयुक्त बैठक बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment