Comments Add Comment

युरो–३ मापदण्डका गाडी आयातमा प्रतिबन्ध लगाउने तयारी

भारतमा फेजआउट भएका इन्जिन नेपाल भित्रिएको आशंका


१७ फागुन, काठमाडौं । सरकारले अब युरो–४ मापदण्डका मात्रै गाडी आयात र दर्ता गर्ने तयारी शुरु गरेको छ । अहिले सवारी साधन आयात गर्दा युरो–३ मापदण्ड अनिवार्य छ ।

विकसित मुलुकहरुले युरो–६ मापदण्ड लागू गरिसकेका छन् । नेपालले भने अझै युरो–३ कै गाडी भित्र्याइरहेको छ । युरो–४ मापदण्डका सवारी वातावरणीय दृष्टिकोणले उत्कृष्ट मानिन्छन् ।

नयाँ आयात हुने सवारीमा युरो–४ मापदण्ड लागू गर्ने तयारी थाल्न वातावरण मन्त्री लालबाबु पण्डितले निर्देशन दिएका छन् । त्यसअनुसार मन्त्रालयले विभिन्न सरोकारवाला निकाय र विज्ञसँग छलफल थालेको छ । सरकारले मन्त्रिस्तरीय निर्णय गरेर मापदण्ड तोक्न सक्छ ।

युरो–४ का गाडीले युरो–३ को भन्दा कम विषाक्त ग्यास फाल्छन् । आयल निगमले गत वर्षबाटै युरो–४ मापदण्डको तेल भित्र्याउन थालेको थियो । सवारी साधन भने एक तह मुनिका आयात भइरहँदा त्यस्तो इन्धन प्रयोग गर्नुको औचित्य प्रमाणित हुन सकेको छैन ।

काठमाडौंको वायु प्रदुषणको ५० प्रतिशत कारक सवारीसाधनले फाल्ने धुवाँ भएको अध्ययनहरुले देखाएका छन् । बर्सेनि काठमाडौंको प्रदुषण उच्च दरले वृद्धि हुँदै जाँदा मन्त्री पण्डितले एक वर्षभित्रै यहाँ मास्क लगाएर हिँड्नुपर्ने अवस्था हटाउने घोषणा गरिसकेका छन् ।

आयात भइसकेका सवारीमा प्रदुषण जाँचलाई कडाइ गर्ने र भित्रिने गाडीमा नयाँ प्रदुषण मापदण्ड लगाउने मन्त्री पण्डितको योजना छ । ‘अब पनि पुरानै प्रविधिका गाडी भित्रिरहन दिनुहुँदैन,’ मन्त्री पण्डित भन्छन्, ‘कम धुवाँ फाल्ने, वातावरणलाई कम असर पर्ने मापदण्डका गाडी भित्र्याउनुपर्छ । पुराना प्रविधिका गाडीको आयात रोक्न अब काम हुन्छ ।’

विकसित मुलुकहरु युरो–६ मापदण्डमा प्रवेश गर्दै गर्दा बल्ल युरो–४ मा जानेबारे सरकारी अधिकारीहरु छलफलमा जुटेका छन्

वातावरण मन्त्रालयले युरो–४ मापदण्डमा जाने तयारी गर्दैगर्दा अटो मोबाइल व्यवसायीहरु भने अहिले पनि सोहीअनुसार सवारी साधन भित्रिइरहेको दाबी गर्छन् । भारतले युरो–४ मापदण्ड अनिवार्य गरेकाले नेपालमा पनि त्यस्तै गाडी आइरहेको दाबी उनीहरुको छ । तर, सरकार यसमा विश्वस्त हुन सकेको छैन ।

नेपाल आउने सवारीको मानुफ्याक्चर नेपाली व्यवसायीको मागका आधारमा हुने भएकाले उत्पादक कम्पनीले युरो–३ कै इन्जिन राखेर निर्माण गर्ने गरेको जानकारी आफूहरुसँग रहेको वातावरण मन्त्रालयका एक अधिकारी बताउँछन् । उनका अनुसार युरो–३ मापदण्डका गाडीको उत्पादन लागत सस्तो पर्छ ।

दक्षिणी छिमेकी भारतमा युरो–४ नभएका सवारीको दर्ता रोकिएको छ । सोही कारण उत्पादन भइसकेका करिब साढे आठ लाख गाडी थन्किएका थिए । अहिले तिनका इन्जिनहरु नेपाल आउने सवारी साधनमा प्रयोग भइरहेको शंका सरकारी अधिकारीमा देखिन्छ ।

के हो युरो–४ ?

युरोपेली उत्सर्जन मापदण्डको एउटा तह हो यो । यसले युरोपियन युनियन तथा युरोपेली आर्थिक क्षेत्रका नयाँ सवारी साधनले कतिसम्मको हानिकारक ग्यास उत्सर्जन गर्न पाउँछन् भन्ने निर्धारण गर्छ । यो मापदण्डलाई युरोपबाहेककका महादेशमा पनि स्वीकार गर्दै अपनाउने गरिएको छ ।

यसअन्तर्गत् युरो–१ देखि ६ सम्मका तह तयार भइसकेका छन् । युरो–१ यात्रुवाहक कार र हल्का ट्रकहरूका लागि लागू हुन्छ भने युरो–२ यात्रुवाहक कार र मोटरसाइकलका लागि मात्र ।

भारतमा युरो–४ नभएका सवारीको दर्ता रोकिएको छ । सोही कारण उत्पादन भइसकेका करिब साढे आठ लाख गाडी थन्किएका थिए । अहिले तिनका इन्जिनहरु नेपाल आउने सवारी साधनमा प्रयोग भइरहेको शंका सरकारी अधिकारीमा देखिन्छ

युरो–३ मा मोटरसाइकल लगायत सबै सवारी पर्छन् । यस्तै, युरो–४ पनि सबैमा लागू हुन्छ । युरो–५ र ६ व्यावसायिक तथा यात्रुवाहक हल्का सवारीका लागि लागू हुन्छ ।

कुन तहका सवारीले कति ग्यास उत्सर्जन गर्ने भन्ने पनि सवारीअनुसार फरक हुन्छ । जस्तो– युरो–१ को यात्रुवाहक कारले दुई दशमलव ७२ ग्राम प्रतिकिलोमिटर कार्बनडाइअक्साइड ग्यास उत्सर्जन गर्न पाउँछन् । डिजेलबाट चल्ने सोही वर्गका हल्का व्यावसायिक सवारीले पाँच दशमलव १७ ग्राम प्रतिकिमि कार्बनडाइअक्साइड फाल्न पाउँछन् ।

यो मापनमा कार्बनडाइअक्साइडका अतिरिक्त नाइट्रोजन अक्साइड, टोटल हाइड्रोकार्बन, ननमिथेन हाइड्रोकार्बन, कार्बनमोनो अक्साइड र पार्टिकुलेट म्याटरको पनि मापन गरिन्छ ।

युरो–४ मापदण्ड सन् २००५ देखि लागू भएको हो । यसको यात्रीवाहक कार (डिजेल)ले प्रतिकिमि शून्य दशमलव ५० ग्राम कार्बनमोनो अक्साइड र शुन्य दशमलव २५ ग्राम नाइट्रोजन अक्साइड उत्सर्जन गर्छ ।

यस्तै, पेट्रोल इन्जिनयुक्त कारले प्रतिकिमि एक ग्राम कार्बनमोनो अक्साइड फाल्छ । यस्ता धेरै विषाक्त ग्यासहरुको उत्सर्जन युरो–४ मापदण्डले कम मात्रामा गर्छ ।

‘अब ढिला भइसक्यो । अरु देश युरो–६ मा जाँदैछन् । हामी युरो–४ लगाउन छलफल गरिरहेका छौं,’ मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, ‘भारत पनि युरो–६ मा जाने तयारीमा छ । त्यसैले हामी पनि अपडेट हुँदै अघि बढ्नुपर्ने अवस्था छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment