Comments Add Comment

‘माओवादीको केन्द्रीय समिति ९९ सदस्यीय’

एकताबारे राष्ट्रिय सभागृहमा कोच गरेपछि क्लियर भयो

१७ फागुन, काठमाडौं । एमालेसँग पार्टी एकता गर्न लागेको माओवादी पार्टीको केन्द्रीय समिति कति सदस्यीय होला ? धेरै नेताहरुले यसको जवाफ दिन्छन्- ३९९९ । तर, माओवादी प्रवक्ता पम्फा भुसाल भने केन्द्रीय समितिको संख्या ९९ बनाउने यस अघि नै निर्णय भइसकेको बताउँछिन् ।

अनलाइनखबरसँगको अन्तरवार्तामा माओवादी प्रवक्ता एवं सांसद भुसालले भनिन्- ‘९९ जनाको मात्रै केन्द्रीय कमिटी बनाउने भनेर हामीले वीरगञ्जमा बसेको सचिवालय बैठकअघि नै निर्णय गरेका थियाैं । वीरगञ्ज बैठकभन्दा पहिल्यै साउनमै बसेको बैठकले ९९ सदस्यीय बनाउने भनेको थियो । तर, वीरगञ्ज बैठकसम्म पुग्दा रामचन्द्र झा लगायतका साथीहरु थपिनुभयो । निर्वाचनको तयारी हुँदाहुँदै फेरि एमालेसँग पार्टी एकताको प्रक्रिया अगाडि बढ्यो । यसले गर्दा वीरगञ्ज बैठकको निर्णय अहिलेसम्म थाती राखिएको छ ।’

एमाले र माओवादीवीचको पार्टी एकताका लागि गठित राजनीतिक दस्तावेज निर्माण गर्ने कमिटीको सदस्यसमेत रहेकी भुसाल पूर्ववैद्यसमूहकी नेतृ हुन् । रामबहादुर थापा वादलसँगै प्रचण्ड नेतृत्वको माओवादीसँग एकता गरेलगत्तै एमालेसँग पार्टी एकताको प्रक्रिया अघि बढेकोमा आफूहरुलाई ठिकै लागेको उनले अनलाइनखबरलाई बताइन् ।

पारिजातकी महासचिवदेखि मोहन वैद्यकी प्रवक्तासम्म

चर्चामा रहेका नेपाली नेतृहरुमध्ये एक मानिने पम्फा भुसालले ०३३ सालमा ८ कक्षा पढ्दाखेरि तत्कालीन नेकपा चौम निकट विद्यार्थी संगठनबाट राजनीति थालेकी हुन् । ०३६ एसएलसी पास गरेपछि उनी उच्च शिक्षा अध्ययन गर्न अर्घाखाँचीबाट काठमाडौं आइन् ।

पम्फा ०३७ सालमा साहित्यकार पारिजात अध्यक्ष रहेको महिला संगठनको महासचिव भइन् । ०३८ को राष्ट्रिय सम्मलेनपछि उर्मिला अर्याल महिला संगठनको अध्यक्ष हुँदा उनी पुनः महासचिव नै बनिन् । ०३९ सालतिर उनी विद्यार्थी संगठनको पनि केन्द्रीय सदस्य भइन् ।

आखिर उही चुनाव लड्नु छ, उही संसदीय अभ्यास गर्नु छ । अनि सरकार बनाउनु छ । अनि के फरक छ त ? आफ्नो ठाउँबाट हेर्दा त हामी ५० वर्षदेखि अलग धारबाट आएका छौं । तर, समाजको विकास त फेरि नयाँ चरणमा पुगेको छ ।

बहुदल आइसकेपछि प्रचण्ड नेतृत्वको एकताकेन्द्रको खुल्ला मोर्चा संयुक्त जनमोर्चाको गठन भयो । सो मोर्चाको अध्यक्ष डा. बाबुराम भट्टराई थिए भने पम्फा महासचिव थिइन् । केही समय पम्फा अध्यक्षसमेत बनिन् । पछि फेरि महासचिव नै बनिन् र ०५२ सालदेखि जनयुद्धमा लागिन् ।

शान्ति प्रक्रियामा आइसकेपछि ललितपुरबाट सांसद बनेकी पम्फा केहीसमय सामान्य प्रशासनमन्त्री पनि भइन् । तर, यसबीचमा पार्टी फुटेपछि उनी वैद्य समूहतिर लागिन् । वैद्य समूहबाट मूलघरमा फर्केपछि अहिले उनले फेरि ललितपुरबाटै प्रतिनिसिभाको चुनाव जितेकी छिन् । अहिले उनी वाम एकता सम्बन्धी कार्यदलको सदस्यसमेत छिन् ।

एमालेभन्दा बेग्लै धारबाट वाम राजनीतिमा आएकी नेतृ भुसाल एमाले नेताहरु भीम रावल र अष्टलक्ष्मी शाक्यदेखि घनश्याम भुसाल, शंकर पोखरेल र योगेश भट्टराईसम्मलाई आफ्ना समकालीन बताउँछिन् ।

वाम एकताबारे माओवादीभित्रको बुझाइका सन्दर्भमा कुराकानी गर्ने क्रममा हामीले माओवादी नेतृ भुसाललाई ‘वैद्य समूह’ कै सन्दर्भबाट पहिलो प्रश्न सोध्यौं :

अध्यक्ष प्रचण्डमा विचलन आयो भन्दै तपाईहरुले मोहन वैद्य (किरण) को नेतृत्वमा अलग्लै पार्टी बनाउनुभयो । पछि बादलको नेतृत्वमा मूलघरमै  फर्कनुभयो । तर, अहिले तपाईहरुसमेत अकस्मात् एमालेसँग पार्टी एकताको ‘कोरियोग्राफर’ बन्न पुग्नुभएको छ । यसमा कहाँनेर संगति मिलेको छ ?  

तपाईहरु मिडियाले पनि थाहा पाउने गरी हाम्रो वैचारिक बहस त चलेकै हो । संविधान जारी नगरी संविधानसभा विघटन गरेको र संविधान जारी नगरी सेना विघटन गरेको कुरा धेरै नै पेचिलो बनेको थियो ।  तर, फेरि किरणजीको नेतृत्वमा गएर पनि किरणजीले आन्दोलनको सिर्जना गर्न र नेतृत्व गर्न सक्नुभएन ।

तर, त्यसरी गइसकेपछि पनि हामीले बहसमा के ल्याएका थियौं भने समाज त्यहाँ छैन, जहाँ हामीले पहिले भन्ने गरेका थियौं । पुरानै तरिकाले जनवादी क्रान्ति सम्पन्न गर्ने, समाजवादतिर जाने भन्ने कुरामा चाहिँ नेपालको अर्थसामाजिक स्थिति परिवर्तन भयो ।

विश्व परिस्थिति पनि नयाँ सिर्जना भएको छ । कृषिमा आधारित अर्थतन्त्र, जसलाई हामीले सामन्ती भन्यौं, त्यो अर्थसामन्ती अर्थतन्त्र अहिले छैन । कृषिमा आधारित अर्थतन्त्रमा सामन्त वर्गको स्वामित्व छैन ।

हामी आफ्नै अध्ययनले कहाँ पुगेका थियौं भने समाज परिवर्तन भएको छ र अब हिजोकै तरिकाले हुँदैन । विसं. २००६ सालमा कम्युनिष्ट पार्टी स्थापना हुँदाखेरिको समाजको विश्लेषण र ०५२ सालमा जनयुद्धमा जाँदैगर्दाको समाजको विश्लेषणभन्दा अहिलेको समाज छुट्टै ठाउँमा आइसकेको छ ।

हिजो जमीन जोत्नेको हुनुपर्छ भन्दा जमिन जोत्न पाइन्छ भनेर मानिस क्रान्तिमा आउँथे । मजदुरको ज्याला बढाइनुपर्छ भन्दा मजदुरहरु क्रान्तिमा आउँथे । अहिले जमीनको मालिक सके जमिन बिक्री गरेर, नसके बाँझो राखेर अरब पुगेको छ । त्यसैले अब पुरानो तरिकाले हुँदैन । अहिले समाज बदलिएको छ ।

अहिले रेमिटेन्सको अर्थतन्त्र छ । विश्वमा पनि एउटा ढंगले ग्लोबलाइजेसन भएको छ । विज्ञान प्रविधिमा भएको रिभोलुसनले अर्को परिवर्तन भएको छ । त्यसो हुनाले परिस्थिति परिवर्तन भएको छ । अब नयाँ ढंगले बहस गरौं, नयाँ कार्यदिशाको विकास गरौं भन्ने बहस हामीबीच त्यहीँ (वैद्य समूहमा) पनि भएको थियो ।

अध्यक्ष प्रचण्ड कमरेडले पनि नयाँ गर्नुपर्छ भन्नुभयो । हामीले पनि किरणजीकोमा गएर पनि नयाँ गर्न नसकेको अवस्था रह्यो । यसले गर्दा माओवादी झन कमजोर भयो । टुक्राटुक्रा भयो । एकबाट दुई, दुईबाट चार गर्दाखेरि हामीले उठाएका एजेण्डा त कमजोर हुने भए । त्यसैले यस्तो त गर्नुहुन्न भन्ने भएपछि हामीले अध्यक्ष कामरेडसित पनि भेटवार्ता र छलफल थालनी गर्‍यौं र एकताको प्रक्रिया अगाडि बढायौं । यसमा हामीले ठीकै गर्‍यौं भन्ने लागेको छ ।

मतलव, पार्टी विभाजन गल्ती थियो ?

टुटफुट र विभाजन हाम्रो कारणले मात्रै पनि भएको हैन । पार्टीमा नभए हुन्छ भन्नेहरु पनि भए, बस्नुहुन्न भन्नेहरु पनि भए । त्यसैले दुबै पक्ष उत्तिकै जिम्मेवार छन् ।

पार्टी एकता गरेर पनि हामी ठ्याक्कै एउटा अर्कोमा प्रवेश त गरेनौं । नयाँ पार्टी बनाऔं भनेर हामीले नामै परिवर्तनसहित पार्टी संगठनको विकास गर्नुपर्छ र कार्यदिशाको विकास गर्नुपर्छ भन्याछौं ।

राष्ट्रिय, अन्तर्राष्ट्रिय, आर्थिक, सामाजिक, राजनीतिक, सबै स्थितिमा आएको परिवर्तनका आधारमा नयाँ ढंगले विश्वको अध्ययन गर्नुपर्छ, अनुसन्धान गर्नुपर्छ, संश्लेषणमा पुग्नुपर्छ र कार्यदिशाको नयाँ ढंगले विकास गर्नुपर्छ भन्ने हाम्रो निश्कर्ष हो ।

हामीले जान्न चाहेको कुरो के हो भने तपाईहरुले ‘माओवादी केन्द्र’ बनाएर नयाँ कार्यदिशा बनाउने भन्दाभन्दै प्रचण्डले अकस्मात एमालेसँग एकताको प्रक्रिया अगाडि बढाउनुभयो । तपाईहरुबाट यो अपेक्षित घटना थियो वा अनपेक्षित ?

हामी र अध्यक्ष प्रचण्डबीच पार्टी एकता गर्दै गइसकेपछि हाम्रो आन्दोलनको उपलब्धिका रुपमा आएको संविधानको कार्यान्वयन गर्ने सन्दर्भमा सबैको उद्देश्य त जनताको जीवनमा खुशी आओस्, परिवर्तन आओस् मुलक सम्पन्न होस्, समृद्ध होओस्, स्वाधीन होस् भन्ने नै हो ।

संविधान कार्यान्वयन र समृद्धिको यात्राले राजनीतिक स्थिरताको माग गर्थ्यो । स्थिरता कताबाट हुन्छ त भन्दाखेरि हामी नेपाली कांग्रेससँग पनि मिलेका थियौं, त्यहाँबाट पनि संविधान निर्माणमा असहमत भएकाहरुलाई चुनावमा ल्याउने वातावरण बनाउने काम गर्‍यो ।

तर, यसरी मात्रै स्थायी ढंगबाट स्थिरतता हुन्न भन्ने भइसकेपछि सबै कम्युनिष्ट एकै ठाउँमा किन नहुने भन्ने एउटा वस्तुगत आवश्यकताको माग लिडरबाट सुरु भयो । अध्यक्ष कामरेडबाटै यो छलफल भएको हो । अध्यक्षले ल्याउनुभएको यो प्रस्ताव हामीलाई ठीकै लाग्यो ।

शुरुमा दुईतीन दिन त हाम्रो बीचमा यो ठूलो चुनौतीको विषय थियो । तर, पोलिटब्यूरो सदस्यको, ५/६ सय नेतृत्वको टीम लिएर हामीले राष्ट्रिय सभागृहमा दिनभरि कोच गरेपछि यो टीम क्लियर भयो ।

आखिर उही चुनाव लड्नु छ, उही संसदीय अभ्यास गर्नु छ । अनि सरकार बनाउनु छ । अनि के फरक छ त ? आफ्नो ठाउँबाट हेर्दा त हामी ५० वर्षदेखि अलग धारबाट आएका छौं । तर, समाजको विकास त फेरि नयाँ चरणमा पुगेको छ ।

हामीले अहिले नयाँ जनवाद, एक्काइशौं शताब्दिको जनवाद, बहुदलीय जनवाद भन्दै जाने होला, तर समाज हिजो एउटा परिस्थितिमा थियो, अहिले सामन्तवाद, राजतन्त्रको अन्त्य भएको छ । समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रमा देश पुगेको छ ।

यो हिजोको लेनिनका पालाको संसदको उपयोगको नीति अन्तरगत पनि आएको होइन, हामी आफैंले त्याग तपस्या बलिदान गरेर प्राप्त गरेको उपलब्धि हो । त्यसैले यसको कार्यान्वयन गर्ने कुरा हो । यसको उपयोगको कुरा होइन । त्यसो भएको हुनाले हामी एउटा नयाँ ठाउँमा आएका छौं । त्यसैले एकबतावद्ध भएर अगाडि बढ्दाखेरि सजिलो हुन्छ भन्ने सबैलाई लागेको हो ।

उही ठाउँमा, आफ्नो-आफ्नो ठाउँमा रहेर हेर्‍यो भने त हामी फरक जस्तो देखिन्छौं । तर, नयाँ ठाउँमा, नयाँ कार्यदिशाको विकास गरेर नयाँ ढंगले अगाडि बढ्ने हो भने एकता गरेर जानु नै स्वाभाविक, वस्तुगत र वैज्ञानिक हुन्छ ।

उसोभए माओवादीभित्र रहेका हिजोका सबैखाले धार वा विचारसमूहका मानिसहरुमा अब एमालेसँगको एकताबारे कुनै अस्पष्टता छैन भनेर बुझ्दा हुन्छ ? तपाईहरु एक ढिक्का भएरै एमालेसँग एकता प्रक्रियामा सहभागी हुन तयार हुनुभएको हो ?

विल्कुलै । एकताको प्रस्ताव अध्यक्ष प्रचण्डले असोज १६ गते हाम्रो पार्टी कार्यालयको टीममा ल्याउनुभएको थियो । त्यहाँ अलिकति प्रश्न उठाउने, अब के हुन्छ भनेर जिज्ञासा राख्ने साथीहरु त हुनुहुन्थ्यो ।

तर, ठ्याक्कै असहमत छु भन्नेचाहिँ कोही थिएनन् । तर, जिज्ञासा राख्ने, आशंका समेत पनि राख्ने साथीहरुचाहिँ हुनुहुन्थ्यो । तर, विस्तारै छलफल हुँदै जाँदा र निर्वाचनको प्रक्रियाबाट अगाडि बढ्दै यहाँसम्म आइपुग्दाखेरि ठूलो पंक्ति क्लियर भयो ।

शुरुमा दुईतीन दिन त हाम्रो बीचमा यो ठूलो चुनौतीको विषय थियो । तर, पोलिटब्यूरो सदस्यको, ५/६ सय नेतृत्वको टीम लिएर हामीले राष्ट्रिय सभागृहमा दिनभरि कोच गरेपछि यो टीम क्लियर भयो ।

त्यसपछि निर्वाचनमा सहकार्य भयो । त्यो सहकार्यले तल असाध्यै सहज गरिदियो । माथिबाट निर्णय भयो, तल निर्वाचनले एकैचोटि सतहत्तरै जिल्लाका वडा तहसम्म सहकार्य गर्दैजाँदाखेरि दुईवटा पार्टी भनेजस्तो भइदिएन ।

तपाई एमाले र माओवादी दुबै पार्टीका नेताहरुको सम्मिलित साझा दस्तावेज निर्माण गर्ने कमिटीको सदस्यसमेत हुनुहुन्छ । दुई पार्टीवीच नमिलेका जबज, माओवाद लगायतका विषयलाई अब कसरी मिलाउनुहुन्छ ?

असोज १७ को घोषणा, निर्वाचनको साझा घोषणापत्र, पार्टी एकता संयोजन समितिले निर्णय गरेर जारी गरेको परिपत्र अनि पछिल्लो ७ बुँदे समझदारीले अलिकति मार्गप्रशस्त गरिदिएको छ ।

एकातिर माओवाद र एक्काइशौं शताब्दीको जनवाद छ भने अर्कोतिर बहुदलीय जनवाद छ । यी हामीले जाने-मानेर अपनाएका आ-आफ्ना कार्यदिशा, कार्यक्रमहरु हुन् । तर, हामी नयाँ स्टेप चालेर यी विषयहरुभन्दा अलि माथि जाँदैछौं । हामी नयाँ चरणमा आएका छौं । त्यसैले समाजवादका आधार तयार पारेर समाजवादमा जाने नयाँ कार्यदिशा तयार पार्नुपर्छ ।

यी अहिले जाने-मानेका कार्यदिशालाई आन्तरिक छलफल, बहस, अध्ययन र अनुसन्धान गर्दै एकता महाधिवेशनमा समझदारीद्वारा आवश्यक परिमार्जन र विकास गर्ने भनेर सात बुँदेमा लिपिवद्ध गरिएको छ ।  अहिले समाजवादको आधार तयार गर्ने र मार्क्सवाद-लेनिनवादलाई मार्गनिर्देशक सिद्धान्त बनाउने भन्नेबाट हामी जान्छौं ।

९९ सदस्यीय केन्द्रीय समिति बनाउन पनि हामी तयारै भएका हौं । यसमा ९९ हुन सक्छ, १५१ वा १९९ पनि हुन सक्छ । यसमा समस्या हुँदैन ।

अहिले हामी दुबैतिरका डकुमेन्ट पढ्दैछौं । अहिले हामीले अध्ययनका सामाग्री मात्रै संकलन गरेका छौं । यसका आधारमा विषयवस्तु के बनाउने भनेर खाका तयार पार्नका लागि एउटा उपसमिति बनाएका छौं ।

हाम्रो मुख्य उद्देश्य एकता हो । त्यसो भएको हुनाले मिल्ने कुराबाट अगाडि बढौं र नमिलेका कुरामा अध्ययन गरौं भन्नेबाट हामी अगाडि जाँदैछौं । नमिलेका विषयहरु महाधिवेशनसम्म छलफलमा जान्छन् ।

माओवादीको केन्द्रीय समिति नै ४ हजार जनाको छ भन्ने सुनिन्छ, एमालेमा दुईसयको हाराहारीमा छन् । यस्तो अवस्थामा केन्द्रीय कमिटीलाई कसरी मिलाउनुहुन्छ ?

यसबारे हाम्रो संगठन सम्बन्धी अर्को कार्यदल छ । राजनीतिक र सांगठानिक दुईवटा कार्यदलहरु बनाएका छौं । एकदमै आवश्यक मान्छे, क्रियाशील मान्छे, बरिष्ठता सबै चिज मिलाएर कत्रो बनाउने भन्ने भइसकेपछि दुईवटा पार्टीबाट मिलाएर जान्छौं । यसमा धेरै ठूलो समस्या छैन ।

तर, कार्यदलभन्दा पहिले माओवादी पार्टीले त  आफ्ना केन्द्रीय सदस्यहरु कति भन्ने संख्या टुंगो लगाउनुपर्दैन ?

माओवादीको अस्ति साउनतिर बसेको बैठकबाट यस्तो बनाइनुहुँदैन भनेर एउटा निश्कर्षमा पुगेका थियौं । छरिएर रहेका माओवादी, वामपन्थी, देशभक्तहरुलाई केन्द्रित गर्दाखेरिको एउटा विशिष्टतामा जो-जो जुन तहमा बस्छन्, ठीक छ भनेर केन्द्रित गर्‍यौं । तर, अब यसलाई व्यवस्थित गर्ने र ९९ जनाको मात्रै केन्द्रीय कमिटी बनाउने वीरगञ्जमा बसेको सचिवालय बैठक अगावै निर्णय गरेका छौं । वीरगञ्ज बैठकभन्दा पहिल्यै साउनमै बसेको बैठकले ९९ सदस्यीय बनाउने भनेको थियो । तर, वीरगञ्ज बैठकसम्म पुग्दा रामचन्द्र झा लगायतका साथीहरु थपिनुभयो ।

हाम्रो जम्मा ८२ जनाको सचिवालय हो । त्यसमा प्लस-माइनस गर्दाखेरि ९९ पुग्थ्यो, त्यसमा हामी तयार भएका हौं । तर, यहीवीचमा अर्को पार्टी एकताको प्रक्रिया जोडियो । फोरम लोकतान्त्रिकबाट रामेश्वर रायहरु आउनुभयो ।

नयाँशक्तिबाट विभिन्न चरणमा गरेर रामचन्द्र झा, देवेन्द्र पौडेलहरु आउनुभयो । विप्लव माओवादीबाट पारसमणिहरु, जीवनहरु आउनुभयो । किरण कामरेडहरुबाट पनि केही साथीहरु आउनुभयो । यही कारणले हामीले वीरगञ्ज बैठकको निर्णय लागू गरिसकेका थिएनौं ।

हामी मंसिरको चुनावपछि यसलाई लागू गर्ने पक्षमा थियौं । यसमा ९९ बाट अलिकति बढ्थ्यो होला । तर, निर्वाचनको तयारी हुँदाहुँदै फेरि एमालेसँग पार्टी एकताको प्रक्रिया अगाडि बढ्यो । यसले गर्दा वीरगञ्ज बैठकको निर्णय अहिलेसम्म थाती राखिएको छ ।

उसोभए अब ९९ जना केन्द्रीय सदस्य रहने वीरगञ्ज बैठकको त्यही निर्णय नै कार्यान्वयन हुन्छ माओवादीमा ?

हामी सामुहिक ढंगले बसेर कत्रो केन्द्रीय समिति भन्ने समहति गर्छौं र त्यसपछि आएर आ-आफ्नो पार्टीमा टुंगो लगाउँछौं । यो ठूलो कुरो हुँदैन । हामी त कहिले ९३, कहिले झरेर २७, त्यसपछि ३५, त्यसपछि १७५, अनि विभाजन, अनि एकता यस्तै गर्दै यहाँसम्म आएका हौं ।

९९ सदस्यीय केन्द्रीय समिति बनाउन पनि हामी तयारै भएका हौं । यसमा ९९ हुन सक्छ, १५१ वा १९९ पनि हुन सक्छ । यसमा समस्या हुँदैन ।

अहिले फेरि राम्रो के छ भने  हिजो एउटा केन्द्रीय समिति थियो, अहिले ७ वटा त प्रदेश कमिटीहरु हुन्छन् । ती करिब-करिब केन्द्रकै समकक्षी कमिटीहरु हुन्छन् । धेरै साथीहरु सांसद हुनुहुन्छ, तल स्थानीय तहमा हुनुहुन्छ । अन्तरराष्ट्रिय कमिटी पनि हुन्छ । व्यवस्थापन गर्न गाह्रो छैन । सकिन्छ ।

अब तपाईलाई मन्त्रीका रुपमा देख्न पाइएला ?

पार्टीले गर्ने निर्णय हो । मलाई पार्टीले टिकट दियो । मैले निर्वाचन जितें । अब जार्टीले जे जिम्मा दिन्छ, त्यो हार्दिकतापूर्वक स्वीकार गर्छु र काममा अगाडि बढ्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment