Comments Add Comment

पूजाले उचालेपछि माग्नेले २३ हजारको खसी ढाले

केदार घिमिरे ‘माग्नेबुढा’ को प्रमुख भूमिका रहेको फिल्म ‘राम कहानी’को सुटिङ अहिले पोखराको कालाबाङ भन्ने ठाउँमा भइरहेको छ । सुटिङ युनिटले बिहिबार सिंगै खसी ढालेर होली मनायो । यसको रोचक किस्सा रहेछ ।

‘होली कसरी मनाउने त ?’ भनेर सुरु माग्नेबुढासहित केही कलाकारहरुबीच वातचित सुरु भयो । सबैले अलिअलि पैसा उठाएर खसी काट्ने सल्लाह गरे ।

माग्ने बुढाले भने, ‘ल, ठिक छ म ५ हजार हाल्छु ।’

अर्का कलाकार विल्सन विक्रम राई ‘तक्मेबुढा’ पनि जोशिए । उनले भने, ‘मामा (माग्ने) लाई त मैले कसरी टप्नु, उहाँभन्दा एक रुपैयाँ कम चार हजार नौ सय ९९ रुपैयाँ रुपैयाँ म हाल्छु ।’

सबैले यसरी आ-आफूले दिने रकम बोलिरहेका थिए । यत्तिकैमा नायिका तथा निर्मात्री पूजा शर्मा कड्किइन्, ‘एउटा खसी काट्न पनि केको चन्दा उठाइरहेको ?’

उनले माग्ने बुढालाई ईंगित गर्दै भनिन्, ‘तपाईं १० लाख पारिश्रमिक लिएको मान्छे एक्लै खसी किनेर खुवाउन सक्नुहुन्न ?’

पुजाको कुराले माग्नेबुढालाई च्वास्स भयो । उनले तत्कालै बोले, ‘ल ठिक छ, म एक्लै ढाल्छु खसी ।’

त्यसपछि गाडी चालक प्रजापति गुरु र अर्का एक व्यक्तिलाई खसी किन्न पठाइयो । केही समयमै उनीहरुले घोर्ले खसी लिएर आए ।

‘कति पर्‍यो ?’ माग्ने बुढाले सोधे ।

‘२३ हजार ५ सय’ जवाफ आयो । माग्नेले गोजीबाट निकालेर पैसा दिए । त्यतिबेला उनको अनुहार हेर्न लायक थियो  ।

सुटिङस्पटमै खसी ढालियो । होली पनि मनाइयो ।

‘आज सबैले पेटभरि खायौं, भोलिलाई समेत बाँकी रह्यो,’ माग्नेले सुटिङस्पटबाट अनलाइनखबरलाई भने ।

रामकहानीको सुटिङ गत फागुन १ गतेबाट सुरु भएको हो । करिब ५० प्रतिशत सुटिङ पुरा हुन लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment