Comments Add Comment

पाँच बुँदे सहमतिपछि गजेन्द्रनारायण सिंह अस्पतालको तनाव अन्त्य


१७ फागुन, सप्तरी । गर्भवती महिलाको मृत्युलाई लिएर राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा शुरु भएको तनाव साम्य भएको छ ।

प्रसुती गराउन अस्पताल भर्ना भएकी विष्णुपुर गाउँपालिका १ पर्साहीकी अनिता यादवको ज्यान गएपछि बिहीबार बिहानैदेखि अस्तालमा तनाव उत्पन्न भएको थियो ।

गत १५ फागुनमा अस्पताल भर्ना भएकी २४ वर्षीया उनलाई बुधबार राति व्यथा सुरु भएको थियो । तर, स्वास्थ्यकर्मी र चिकित्सक अस्पतालमा नहुँदा अनिताको मृत्यु भएको उनका पति रमेशले बताएका छन् ।

अनिताको मृत्युपछि आफन्तहरुले दिनभर अस्पताल प्रांगणका साथै राजविराजमा प्रदर्शन गरे । अस्पतालभित्रै टायर बालेर प्रदर्शन गरेपछि दिनभर अवस्था तनावपूर्ण बनेको थियो ।

स्थानीय प्रशासनको पहलमा भएको वार्तामा पाँचबुँदे सहमति भएपछि तनावको अन्त्य भएको छ । मृतकका परिवार, अस्पताल प्रशासन र सुरक्षा अधिकारीबीच भएको छलफलमा पाँच बुँदे सहमति भएपछि मृतकको आफन्तले आन्दोलनका कार्यक्रमहरु स्थगित गरेका छन् ।

अस्पताल प्रशासनले मृतकको काजकिरियाका लागि एक लाख प्रदान गर्ने, मृतकका छोरा र छोरीलाई राजविराज नगरपालिका र विष्णुपुर गाउँपालिकाले शिक्षा दिलाउने र मृतकका पति रमेशलाई दैनिक ज्यालादारीमा अस्पतालमै जागिर दिने सहमति भएको छ ।

यस्तै घटनाको वास्तविकता छानबिन गरी कारवाहीका लागि सिफारिस गर्ने र १० लाख रुपैयाँ क्षतिपूर्तिका लागि सरकारसँग माग गर्ने सहमति भएको छ । छानविनका लागि राजविराज नगरपालिकाका मेयरको संयोजकत्वमा ११ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment