Comments Add Comment

समृद्धि बहसः विदेशी लगानीले दलाल पुँजीवाद मात्रै सप्रिन्छ

वाम सरकारमा फरक विश्लेषणको खाँचो

देश समृद्धिको नारामा डुबेको छ । जनता पनि समृद्धिप्रति आशावादी छन् । अहिलेको चुनावमा झन्डै दुई तिहाइ मत ल्याएर जित्न सफल वामपन्थि गठबन्धनले यो जनचाहनालाई राम्रोसंग ‘क्यास’ गरेको देखिन्छ । तर गठवन्धनले अंगिकार गरेको र जनताले चाहेको सम्वृद्धिको परिभाषा, तरिका र खोजेको उपलव्धि एउटै छैन । यो सत्यतालाई विचार गरिएन भने अधोगति र असन्तुष्टि सिर्जना हुनेछ र देशमा झन् ठूला संकटहरु आईपर्नेछन् ।

ठूला परियोजनाहरु सन्चालन गर्ने र बन्द ब्यापार बढाउने र यसरी बढेको ब्यापारले आर्थिक बृद्धि हुन्छ, जसले गर्दा देशमा समृद्धि सिर्जना हुन्छ भन्ने बुझाइ छ । आर्थिक वृद्धि नै समृद्धि हो भन्ने बुझाइले समाजमा पैसा नै सबै भन्दा ठूलो चिज हो भन्ने भावना विकास भएको छ । यो बुझाइले समाजमा पैसा नै सबै भन्दा ठूलो चिज हो भन्ने भावना विकास भएको छ ।

जसरी पनि पैसा कमाउनु पर्छ भन्ने सोचाइले अहिलेको युवापुस्ता कि शहर पस्दैछ कि विदेशिएको छ । कुनै उपाय नै नभएर मात्रै युवा विदेशिएका होइनन् । गाऊँघरमा समेत सरसापट, अ‍ैचोपैंचो हराउँदै गए र एक आपसमा पैसा कमाउन प्रतिस्पर्धा बढ्यो ।

जीवनका महत्वपूर्ण पक्षहरु, जस्तै भाइचारा, सहअस्तित्व, सरसहयोग, गुजाराका साधनको सहज उत्पादन, वातावरण, शान्त समाजजस्ता कुराहरु ओझेलमा परेका छन् । जनताको सम्वृद्धिभित्र यी सबै कुराहरु पर्दछन् भने राज्यको समृद्धिभित्र देशको आर्थिक वृद्धि मात्रै परेको देखिन्छ । आर्थिक वृद्धि भए पछि यीअन्य पक्षहरु स्वतः उपलब्ध हुन्छन् भन्ने बुझाइले अहिलेको समृद्धिको खाका निर्देशित छ ।

टेलिफोन कम्पनी एनसेल गत वर्षको मुनाफा ५० अर्ब आफ्नो देशमा लैजाने क्रममा छ । त्यो ५० अर्ब पनि नेपालको आर्थिक वृद्धिको सूचाङ्कमा पर्छ । तर, त्यो पैसा नेपालमा रहँदैन

पश्चिमा पुँजीवादले आत्मासात गरेको यस्तोखालको सम्वृद्धिको बुझाइ नेपालमा लामो समय देखि समाज परिर्वतनको सिद्धान्त बनेको छ । विकासका आयोजनाहरु, गैह्रसरकारी संस्थाहरु, बजार विस्तारको अभियान, ब्यापार, आदिको माध्यमबाट यो अवधारणा जनस्तरसम्म पुर्‍याइएको छ । वाम गठवन्धनको आर्थिक वृद्धि पनि यिनै पश्चिमा पुँजीवादको समाज परिर्वतनको व्याख्याबाट प्रभावित छ ।

वाम गठवन्धनको बुझाइ नेपालको समाज सामन्तवादबाट अब पुँजीवादमा प्रवेस गरिसक्यो, त्यसकारण पुँजीवादी आर्थिक क्रान्ति गरेर समाजवाद उन्मूख आर्थिक प्रणाली निर्माण गर्न आर्थिक वृद्धिमा जोड दिनुपर्छ भन्ने छ । अहिलेको नेपाली अवस्थामा आर्थिक वृद्धि गरेर मात्रै समाजवादी आर्थिक प्रणालीको प्रारुप तयार पार्न सम्भव छैन । नेपाली समाजको मूख्य स्वरुप पुजीँवादी चरित्रको बनिसकेको व्याख्या सही हो ।

उत्पादनका साधनहरुमा पुँजीपति वर्गको नियन्त्रण छ र नेपालको राज्य प्रणाली पुँजीपति वर्गको स्वार्थ अनुकुलको छ । तर, आर्थिक वृद्धिलाई नै समृद्धिको सूचक मान्ने हो भने पनि अहिलेको नेपालको पुँजीवादी संरचनामा नेपालको राष्ट्रिय पुँजी र जनताको आर्थिक वृद्धि सम्भव छैन । यसको लागि नेपालको अहिलेको पुँजीवाद कस्तो हो भनेर हेरिनुपर्छ ।

समाजको पुँजीवादी रुपान्तरण दुई ढंगबाट हुन्छ । पहिलो, देशभित्र पुँजीवादी विकास हुनु भन्दा पहिलाका आर्थिक प्रणालिहरुले उपयोग गर्दै आएका उत्पादनका साधनहरुलाई अत्याधिक उपयोग गरी समाजभित्रबाटै अधिक पुँजी (नाफा) उत्पादन गर्दै समाजलाई पुजीँवादीप्रणालीतिर रुपान्तरित गर्नु हो ।

दोस्रो, देशभित्र अधिक पुँजी नहुदा वाह्य पुजीँको विस्तार गरेर देश भित्र पुँजीनिर्माण गर्ने तर अधिक पुँजीमा वाह्य नियन्त्रण कायम राखी गरिने पुँजीवादी रुपान्तरण हो । नेपालको पुँजीवादी रुपान्तरण दोस्रो तरिकाबाट भइरहेको छ । लगानीका क्षेत्रअनुसार नेपालको उत्पादनमा ६० देखि ९० प्रतिसत विदेसी लगानी छ । उत्यादनका साधनहरुमा विदेशी लगानीकर्ताको नियन्त्रण छ ।

नेपालको अहिलेको अवस्था दलाल पुँजीवादी अवस्था हो, जहाँ देशका उत्पादनका साधनहरुमा राष्ट्रिय पुँजीपतिवर्गको खास पहुच र नियन्त्रण छैन । यस्तो अर्थतन्त्रमा आर्थिक वृद्धि हँुदा देशको र राष्ट्रिय पुँजीपतिवर्गको आर्थिक वृद्धि हुँदैन । दलाल पुँजीपतिवर्गको हुन्छ र त्यो वृद्धि भएको पुजी विदेसिन्छ । अहिलेको दलाल पुँजीवादमा आर्थिक वृद्धिले न देशको सम्पतिमा वृद्धि हुन्छ न जनताको सम्वृद्धि प्राप्त हुन्छ ।

राष्ट्रिय पुँजीवादको निर्माण गर्नराष्ट्रिय पुँजीपतिवर्ग रश्रमिकवर्गको योगदान हुन्छ । नेपालमा यि दुवै वर्ग विकसीतभई सकेका छैनन् । राष्ट्रिय पुँजीपतिवर्गले उत्पादनको प्राथमिकता निर्धारण गर्न सक्दैन, लगानीको नेतृत्व लिन सक्दैन, यो वर्गको उत्पादनका साधनमा नियन्त्रण छैन, श्रम बजार परिचालनगर्न सक्दैन, जसका कारण झण्डै ३० प्रतिसत उत्पादनसिल श्रम शक्ति विदेशिएको छ । त्यसकारण यो वर्ग दलाल पुँजीपति वर्गको एजेन्टमात्र हो ।

त्यसै गरी राष्ट्रिय पुँजी निर्माण गर्ने श्रमिक वर्ग पनि विकसित छैन । नेपालको श्रमिक वर्ग पुँजी निर्माण गर्ने श्रमिकका सहायक वा ‘हेल्पर’ मात्रै हो । नेपालका उद्योग क्षेत्रमा काम गर्ने श्रमिकहरु प्राय भारतबाट आएका छन् । त्यस्तै ठूला निर्माणका श्रमिकहरु चिनबाट आएका छन् । नेपालका श्रमिकलेउत्पादनको श्रम क्षेत्रको नेतृत्व लिन सकेकै छैन ।

राष्ट्रिय पुँजीपति वर्ग र श्रमिकवर्ग पुर्णरुपमा विकसित नभएको हालको अवस्थामा राष्ट्रिय पुँजी निर्माण हुनै सक्दैन । राष्ट्रिय पुँजीपतिवर्गले उत्पादनको नेतृत्व गरेको भए आर्थिक वृद्धिबाट प्राप्त नाफा पुनःआफ्नै देशमा लगानी हुने थियो र आर्थिक वृद्धिको निरन्तरताको आधार बन्ने थियो । तर दलाल पुँजीको आर्थिक वृद्धिबाट प्राप्त नाफा सोही ठाउँमा पुनःलगानी हुँदैन ।

उदाहरणका लागि टेलिफोन कम्पनी एनसेल गत वर्षको मुनाफा ५० अर्ब आफ्नो देशमा लैजाने क्रममा छ । त्यो ५० अर्ब पनि नेपालको आर्थिक वृद्धिको सूचाङ्कमा पर्छ । तर, त्यो पैसा नेपालमा रहँदैन ।

त्यसकारण वृद्धिदरले मात्रै दलाल पुँजीवादमा आर्थिक सम्वृद्धिको वास्तविक अवस्था देखाउँदैन । श्रम र ज्यालासमेत नेपालमा रहँदैन ।

गत वर्ष भारतमा वैदेशिक रोजगारीबाट प्राप्त हुने आम्दानी आउने देशहरुमध्ये नेपाल चौथो ठूलो देश बन्न पुग्यो ।नेपालको भौगोलिक अवस्था जमिन भत्काएर उत्खनन गर्नु पर्ने योजनाहरु तथा ठुला खालका खानीजन्य उद्योगहरु सञ्चालन गर्न उपयोगी छैन । यदि त्यस्तो गरिएको खण्डमा दीर्घकालीन समृद्धिमा नकारात्मक असर पर्नुका साथै कालान्तरमा देशको अस्तित्व नै संकटमा पर्न सक्छ । विशेष गरी पहाडी क्षेत्रमा उपलब्ध जमिनहरु कि भिराला पाखा छन्, कि त खोला किनारमा साना फाँटहरु छन् ।

यी ठाउँहरुमा ठूलोखाले औधोगिक संरचनाहरु निर्माण गर्नु अत्यन्त जोखिमपूर्ण र खर्चिला हुन्छन् । बढ्दो मौसम परिर्वतनको प्रभावले पहाडमा पानीको अभाव ठूलो संकटका रुपमा देखापरिसकेको छ भने तल्लो भूभागहरु बाढीको जोखिममा छन् । गत वर्ष पहाडमा खसेका अत्यधिक पहिरोहरु र तराईमा आएको विकराल बाढीको समस्या पहाडतिर संचालित ‘डोजर आतंक’ र तराईमा सञ्चालित गिटी उद्योगहरु यसमा जिम्मेवार छन् ।

राज्य संरचना कमजोर भएको हालको अवस्थामा बाह्य पुँजी कर्मचारीतन्त्र र राजनैतिक नेतृत्वमा प्रभाव जमाउन सफल हुन्छ । देशमा भित्रिएको दलालपुँजीलाई ‘विकास’ भनेर अर्थ्याउने गरिएको छ

हाल सामान्य बाटाघाटा निर्माण गर्न हजारौं डोजरहरु दैनिकरुपमा पहाडहरु भत्काउँदैछन् र त्यति गर्दा नै पनि बाढी पहिरोले बर्सेनी अरबौंको क्षति हुने गरेको छ । यदि समृद्धिका लागि ठूलाखालका योजनाहरु सञ्चालन गरियो भने त्यसपछिको अवस्था के होला ? आर्थिक वृद्धि गर्ने नाममा कलिला पहाडहरु भत्काउनु दीर्घकालीन समृद्धिको विरुद्ध हुन्छ ।

दलाल पुँजीवादलाई यस्ता भौगोलिक, वातावरणीय र दीर्घकालीन असरहरुका बारेमा खास चासो हुँदैन । यस्तो पुँजीले तत्कालीन नाफा घाटाको मात्रै हिसाब राख्छ । नेपालको राज्य संयन्त्र दलाल पुँजीको पृष्ठपोषण गर्नेखालको छ ।

चूडामणि शर्माजस्ता भ्रष्टाचारका काण्डहरु दलालपुँजीको संरक्षण गर्न केन्द्रित भएका देखिन्छन् । राज्य संरचना कमजोर भएको हालको अवस्थामा बाह्य पुँजी कर्मचारीतन्त्र र राजनैतिक नेतृत्वमा प्रभाव जमाउन सफल हुन्छ । देशमा भित्रिएको दलालपुँजीलाई“विकास”भनेर अथ्र्याउने गरिएको छ ।

जबसम्म कर्मचारीतन्त्र र राजनैतिक तहमा दलालपुँजीको वोलवाला रहन्छ, तबसम्म राष्ट्रिय पुँजीपति वर्गको स्वतन्त्र अस्तित्व विकास हँुदैन, यो वर्ग बाहिरी पुँजीको एजेन्टका रुपमा मात्र रहिरहन्छ ।

दलाल पुँजीवादी अर्थतन्त्रमा आर्थिक बृद्धि केन्द्रित समृद्धिले जनताका बहुआयामिक समृद्धिका चाहनालाई पूरा गर्दैन । झन् गरिबी बढ्छ, असमानता बढ्छ, स्रोतमा जनताको पहुँच घट्छ, जिविकोर्पाजनका साधन महंगिन्छन् र सामाजिक द्वन्द्व बढेर जान्छ ।

अहिलेको आवश्यकता भनेको समृद्धिको नेपाली परिवेशको व्याख्या गर्नु हो । । नेपाली राष्ट्रिय पुँजी निर्माण हुने आधार तयार नभई विदेशी लगानीलाई बढाएर देशको उत्पादनका साधनमा आफ्नो नियन्त्रण गुमाउदा बृहतर समृद्धिको आधार कमजोर बन्छ । बेलायतको उपनिवेश हुँदा नै भारतमा दलाल पुँजीवादको विकास भएको थियो । तर, त्यो पुँजीवादले भारतमा समृद्धि आएन ।

अफ्रिकाको औद्योगिक विकास पनि धेरै पुरानोे छ । तर, स्वाभिमान र समृद्धि आएन । देशको वास्तविक आर्थिक अवस्था विश्लेषण गर्ने र बहुआयामिक खाका तयार पार्ने नै आउने सरकारको पहिलो काम हुनु पर्छ । समृद्धिको नया परिभाषा दिन आवश्यक छ ।

गौतम बुद्धको देशमा बुद्धका मूर्ति बनाउँदै बेचेर पैसा कमाएर मात्रै समृद्धि आउँछ भन्ने सोच राख्नुभन्दा बरु बुद्धको ज्ञानलाई बहुआयामिक आवश्यकता पूरा गर्न प्रयोग गरियो भने वास्तविक समृद्धि निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment