Comments Add Comment

‘हक्की खेलाडी’ कसरी बने नेपाली क्रिकेटका गुरु ?

२० फागुन, काठमाडौं । मंसिर २०७२ मा जब पुवुदु दशानायकेले नेपाल क्रिकेटलाई बाईबाई गरे, धेरैलाई चासो थियो, अब कसले सम्हाल्ला नेपाली टोली ? कस्तो प्रशिक्षक आउलान् ?

तर, एकातिर क्रिकेट संघको निलम्बन, अर्कोतर्फ तदर्थ समितिको विवादका कारण क्रिकेट खेलाडी र प्रशिक्षक छायाँमा परे । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियासँग काठमाडौंमा खेल्नुअघि हतारमा जगत टमाटालाई प्रशिक्षकको जिम्मा दिइयो ।

प्रशिक्षक बन्दै गर्दा टमाटाका सामू प्रश्न थियो, दशानायकेको बिडो थाम्न सक्लान् ?

उनको नेतृत्वमा नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा रहन सकेन । हङकङसँग हारेपछि डिभिजन टूमा घटुवा भयो । तर, नामिबियामा भएको डिभिजन टूमा सनसनीपूर्ण प्रदर्शन गर्दै फेरि नेपाल विश्वकप छनोटमा पुगेको छ ।

टमाटाकै नेतृत्वमा नेपालले आजबाट सन् २०१४ को टी–२० विश्वकपपछि ठूलो अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिँदैछ । नेपाली टोलीले यो प्रतियोगितामा गर्ने प्रदर्शनले देशमा क्रिकेट खेलको भविष्यमा दुरगामी प्रभाव पार्नेछ ।

नेपालले प्रतियोगितामा राम्रो खेलेमा त्यसको धरै जस टमाटामाथि जानेछ भने आशा अनुसार प्रदर्शन गर्न नसके अपजस पनि उनले व्यहोर्नु पर्नेछ ।

को हुन् ‘जगत गुरु’ ?

नेपाली क्रिकेटका ‘जगत गुरु’ को काठमाडौँदेखि जिम्बाब्वेसम्मको यात्रा त्यति पूर्वनिर्धारित भने थिएन । तर, सहि समयमा सहि ठाउँमा हुनु र आफूले पाएको मौकाको राम्रो सदुपयोग गरेर अघि बढ्ने सक्ने क्षमताले गर्दा नै उनले यो यात्रा तय गर्न सकेका हुन् भन्ने बुझाई उनीसँगै क्रिकेट प्रशिक्षण शुरु गरेका कोचहरूको छ ।

टमाटाका अनुसार उनले पहिलोपटक क्रिकेट ब्याट र बल समाउन भारतको मुम्बईमा सिकेका थिए । कैलालीको टीकापुर घर भएका टमाटा पारिवारिक कामको सिलसिलामा त्यहाँ पुगेका थिए ।

‘सन् १९७९ तिरको कुरा हो, मैले मुम्बईको माटुङ्गामा रहेको दयानन्द विद्यालयबाट आफ्नो क्रिकट करियर शुरु गरेँ । सन् १९८२ मा अलराउण्डरको रुपमा स्कूल क्रिकेट टिमको कप्तान भएँ’ टमाटा सम्झन्छन् ।

१९९० को दशकमा नेपाल फर्केका टमाटालाई १९९५ मा फेरि भारत जाने मौका जुर्‍यो, तर क्रिकेट होइन अर्कै खेलका लागि ।

‘धेरैलाई थाहा नहोला, तर १९९५ मा भारतको मद्रासमा भएको सातौं दक्षिण एसियाली खेलमा मैले नेपालका लागी हक्की पनि खेलेको थिएँ’ उनी आफ्नो विगत सम्झन्छन् । चार टोली सम्मिलित प्रतियोगितामा नेपाल चौथौ स्थानमा परेको थियो ।

हक्की उनको करियर थिएन । क्रिकेटको रस परिसकेको थियो । जब १९९६ मा नेपालले आईसीसीको असोसिएट सदस्यता पाएपछि पहिलो प्रतियोगिता एसीसी ट्रफी खेल्ने भयो ।

टिम तयार पार्ने क्रममा टमाटा पनि छानिए । टमाटाका त्यति बेलाका प्रशिक्षक सुनोज भट्टराइ भन्छन्, ‘त्यति बेलाका खेलाडीहरूको क्षमता उस्तै उस्तै थियो । तर, जगतमा एउटा विशेषता थियो । खेलाडीहरू ब्याटिङ र बलिङ गर्ने बेलामा मिहिनेत गर्छन् तर, शारीरिक व्यायाम गर्ने बेला प्रशिक्षकहरूको आँखा छल्न खोज्छन् । तर जगतले शारिरिक व्यायाम पनि मन लगाएर गर्थे ।’

प्रतियोगिताको ५ खेल खेलेको नेपाली टोली २ खेल जित्दै घर फर्कियो । फेरि अर्को अन्तराष्ट्रिय प्रतियोगिताको तयारी शुरु गर्नु थियो, त्यसैले क्याम्प बोलाइयो । जगत पनि परे तर क्यानका उच्च पदाधिकारी टीबी शाहले ‘जगतलाई त अब खेलमा होइन, प्रशिक्षणमा लगाउनु पर्छ’ भने । अनि भयो पनि त्यस्तै ।

मुम्बईमा क्रिकेटसम्बन्धी राम्रो ज्ञान बटुलेका टमाटाले अरू खेलाडीहरूको पनि खेल स्तर उकास्ने शाहको ठम्याई थियो । ‘टीबी दाइले जगतसँगै अरु १०–१२ जनालाई प्रशिक्षकको रुपमा अघि सार्नु भएको थियो’ टमाटासँगै प्रशिक्षण शुरु गरेका राजकुमार दास भन्छन् ।

केही वर्षको दौरानमा टमाटा राष्ट्रिय खेलकुद परिषदका सहायक क्रिकेट प्रशिक्षकमा छानिए । भारतको पटियालामा एक वर्षे प्रशिक्षण लिएर आएपछि उनको करियरले थप गति लियो । शुरुमा रुपन्देही, त्यसपछि भैरहवा, पोखरा अनि काठमाडौं, राखेपको प्रशिक्षकका रुपमा उनले विभिन्न जिल्लालाई आफ्नो कार्यथलो बनाए ।

सन् २००१ मा श्रीलङ्काका लागि टेष्ट क्रिकेट खेलिसकेका रोय डायस नेपालका प्रमुख प्रशिक्षक नियुक्त भए ।

नेपालका तत्कालिन प्रशिक्षक सुनोज भट्टराइले डायसको सहायक भएर काम गर्न नमानेपछि क्रिकेट एशोसिएसनले आफ्ना सहायक कोचहरूलाई पालैपालो डायसको सहायकको भूमिका निभाउने व्यवस्था मिलायो । सन् २०११ मा अर्का श्रीलङ्काली पुबुदु दशानयके नेपालको प्रशिक्षकमा नियुक्त हुने बेलासम्म यो क्रम जारी रहेको थियो ।

सन् २००१ मा लेभल १ कोचिङ कोर्स पुरा गरेका टमाटाले २००४ मा लेभल २ सके र २०११ मा लेभल ३ कोर्स पनि गरे ।

टमाटाकै प्रशिक्षणमा नेपाली यू–१९ टोली २०१२ ना विश्वकपका लागि छनौट हुनपुगेको थियो । त्यसपछि पुवुदुले टमाटालाई छाडेनन्, बरु आफू सँगसँगै प्रशिक्षकका रुपमा अघि बढाए ।

टमाटा डायस र पुबुदुसँग काम गर्न पाउनु आफ्नो करियरको महत्वपूर्ण क्षण भएको मान्छन् । ‘डायसको क्रिकेट भनेको क्लासिक क्रिकट हो । पुबुदुको चाहीँ मोडर्न । मैले दुवैबाट सिकेका कुराहरूको समिश्रण गरेर खेलाडीहरूलाई दिन्छु’ उनी भन्छन् ।

पुबुदु दसानयकेको कार्यकाल सन् २०१५ को नभेम्बरमा सकिँदै गर्दा क्रिकेट संघमा विवाद चुलिइसकेको थियो । नेपालले अर्को विदेशी प्रशिक्षक ल्याउने अवस्था रहेन ।

त्यसपछि स्वभाविक छनोट बने टमाटा । क्यानलाई निलम्बन गरेको आईसीसीले टमाटालाई राष्ट्रिय टोलीको जिम्मेवारी दियो । प्रशिक्षण मात्र नभएर सेलेक्टरको भूमिका पनि पाए ।

टमाटा प्रमुख प्रशिक्षक भएपछि नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा १० खेल खेल्दा ४ खेलमा जित निकाल्यो । तर, डिभिजन २ मा घटुवा भएको नेपालले नामिबियामा हालै सम्पन्न प्रतियोगितामा उनैको प्रशिक्षणमा ६ खेलमा ४ जित हात पा¥यो ।

टमाटाको सफलताको रहस्य ?

टमाटासँगै प्रशिक्षण सुरु गरेका राजकुमार दास भन्छन्, ‘नेपालमा सबै प्रशिक्षकहरूको स्तर लगभग उस्तै हो तर, जगतले खेलाडीहरूसँग समय बिताउने र अन्तराष्ट्रिय टूरहरूमा गइरहने मौका पाए । त्यसैले उनले धेरै कुरा सिक्ने मौका पाए ।’ यही नै उनको हालै देखिएको सफलताको कारण भएको दासको ठम्याई छ ।

टमाटा भने नेपाली टोलीले पाएको सफलताको श्रेय खेलाडीहरूले गरेको मिहिनेत र उनीहरूको आत्मविश्वासलाई दिन्छन् । ‘करण (केसीले क्यानडाविरुद्ध गरेको प्रदर्शन (१४४/९ हुँदा ५१ रन चाहिएको थियो, जुन करणले सन्दिपसँग मिलेर पुरा गरे) हजारौं खेलहरु मध्ये एक मा देख्न पाइन्छ’ टमाटा भन्छन् । उनी जस्ता खेलडीका कारण नेपाली क्रिकेट यहाँसम्म आइपुगेको छ ।

क्रिकेटका जानकारहरू के पनि भन्छन् कि टमाटाले सम्हालेको टिम आफैंमा बलियो टिम हो किनकी यसमा अनुभवी र युवा जोश भएका खेलाडीहरुको राम्रो समिश्रण छ । उसो त पुबुदुले गरेको मिहिनेतको फल टमाटाले पाएको मान्नेहरु पनि छन् ।

तर, नेपाली टिमले पाएको सफलतामा मुम्बईको स्कूल टिमका पूर्व कप्तानको भूमिकालाई नजरअन्दाज गर्न सकिँदैन ।

‘यसपालिको प्रदर्शन कस्तो रहला त गुरु ?’ जिबाब्वे जानु अघि उनलाई सोधेका थियौं । प्रश्नकर्ताको आँखामा गहिरिएर हेर्दै उनले भने, ‘नेपालका लागि जित्नु अब ह्याबिट भइसकेको छ । त्यसैले यो टिमले केही गर्छ जस्तो लागेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment