Comments Add Comment

अस्पतालले नै किन चाहन्छ पैसाले केस मिलाउन ?


२० फागुन, पोखरा । केही महिनाअघि मुस्ताङको कागबेनीमा जहाज दुर्घटनामा घाइते भएकाहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट पोखराको मणिपाल शिक्षण अस्पताल ल्याइयो ।

अस्पतालका डाक्टर विभिन्न माग राखेर आन्दोलनमा थिए । त्यसैको बाहनामा दुर्घटनाका घाइतेलाई उपचार नगराई फर्काएपछि अस्पतालको आलोचनामात्रै भएन स्थानीय वासिन्दा आन्दोलनमै उत्रिए । स्थानीयले डाक्टरलाई नियन्त्रणमा समेत लिए । स्थानीयकै अगुवाइमा केही दिनपछि बन्द अस्पताल खुल्यो ।

स्वास्थ्य मन्त्रालयले घटनाको छानबिन गर्न चिकित्सा सेवा महाशाखाका प्रमुख डा भोलाराम श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति बनायो । तर, न घटनाको वास्तविकता बाहिर आयो न कसैलाई कारबाही नै भयो । पैसाले यो घटनाको समसया हल नगरे पनि गम्भीर खालको घटना भएर पनि कारबाही भएन ।

केही समयअघि गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा सुत्केरीको मृत्यु भयो । आफन्तहरु डाक्टरको हेलचेक्य्राइँले सुत्केरीको ज्यान गएको भन्दै आन्दोलनमा उत्रिए । हप्तादिनसम्म आफन्तको आन्दोलन प्रहरी कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालयसम्म पुग्यो र आर्थिक लेनदेनमा घटनाको साम्य भयो ।

नेपालमा दिनुहँजसो स्वास्थ्यसँग सम्बन्धित विभिन्न घटना सार्वजनिक भइरहेका हुन्छ । त्यसैको पछिल्लो गम्भीर उदाहरण नर्भिक अस्पतालको घटना हो । जहाँ एउटा खुट्टाको अप्रेसन गर्नुपर्नेमा अर्कै खुट्टाको गरियो । पोखरामात्रै बर्सेनी अस्पातालमा यस्ता घटनाका कारण थुप्रै पटक आन्दोलन हुन्छ ।

खास यस्ता घटनामा कोको दोषी हुन् ? कसरी यस्ता घटना हुन्छन् ? र यस्ता स्वास्थ्यसँग सम्बन्धित घटनाबाट उत्पन्न समस्या कहाँ पुगेर टुंगिन्छ ? यस्तै प्रश्नमाथि आइतबार पोखरामा छलफल भएको छ । छलफलको निश्कर्ष छ, ‘कतिपय घटनामा चिकित्सक दोषी छन्, कतिपय घटनामा सेवाग्राही त कतिपय घटनामा स्वास्थ्य प्रशासनको गल्ती छ । तर, त्यसको टुंगो भने अन्तिममा पैसामै गएर टुंगिन्छ ।’

नेपाल मेडिकल एसोसिएसन गण्डकी च्याप्टरले डक्टर्स डे को अवसर पारेर मेडिकल काउन्सिल, चिकित्सा क्षेत्रका व्यक्ति, मानव अधिकारीकर्मी, उपभोक्ता मञ्च, प्रहरी प्रशासनलाई एकै मञ्चमा राखेर छलफल गराएको हो ।

‘कुनै गल्ती भएका छन् भने त्यसको कारबाहीका तरिका खोज्ने कि पैसाको बार्गेनिङ गर्ने ?,’ मेडिकल काउन्सिल उपाध्यक्ष नारायणविक्रम थापाले भने, ‘हामी अनुसन्धानमा जाँदा कति पैसा घटना त पैसाले मिलाइसकेको हुन्छ ।’

छलफलमा नेपाल मेडिकल एसोसिएसन नेपालका कैन्द्रीय अध्यक्ष मुक्तिराम श्रेष्ठले मेडिकल क्षेत्र र सेवाग्राहीबीच एक खालको ग्याप रहेकाले समस्या कहानेर हो पत्ता लगाउने बेला आएको बताए ।

‘२०६२/०६३ सालपछि स्वास्थ्य क्षेत्रमा बढी समस्या देखिएका छन् । चिकित्सकको गल्ती नै हुँदैन भन्ने होइन तर जे कुरा चिकित्सकलाई नै दोष दिने चलन बढेको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘जस्तोसुकै जटिल केस पनि अन्तिममा किन पैसाका कारण हल हुन्छ ? यो गम्भीर विषय हो ।’

घटनाको कारण होइन, पैसाको बार्गेनिङ खोजिन्छ

मेडिकल काउन्सिलका उपाध्यक्ष नारायणविक्रम थापा कुनै स्वास्थ्य संस्थामा डाक्टरले लापरवाही गरेर कुनै घटना घटे कारबाहीको दायरामा ल्याउनभन्दा पैसाको बार्गेनिङ गर्न एउटा झुन्ड आइपुग्ने बताउँछन् ।

‘कुनै गल्ती भएका छन् भने त्यसको कारबाहीका तरिका खोज्ने कि पैसाको बार्गेनिङ गर्ने ?,’ काउन्सिल उपाध्यक्ष थापाले भने , ‘हामी अनुसन्धानमा जाँदा कति पैसा घटना त पैसाले मिलाइसकेको हुन्छ ।’

उच्च अदालत बार एसोसिएसनका अध्यक्ष अधिवक्ता दयाराम गौतम अस्पतालका घटनामा कोही दोषी देखिए दण्ड, जरिवाना र क्षतिपूर्ति दिलाउने काम अदालतको भए पनि त्यो बाटोमा भरसक हिँड्न नखोजिएको बताए । ‘कानुनी राज्यको अवधारणालाई आत्मसाथ गरौं, दोषी ठहरै नगरी क्षतिपूर्ति दिने तरीका राम्रो होइन,’ अधिवक्ता गौतमले भने ।

गम्भीर र लापरबाही गर्नेलाई कानुनी बाटोमा ल्याउन सहयोग गर्ने जिल्ला प्रहरी प्रमुख एसपी अशोक सिंहले बताए । स्वास्थ्यका कुनै घटना घटे अस्पतालले प्रहरीलाई समयमै खबर नगरिदिने बरु लुकाउन खोज्ने एसपी सिंहले आरोप लगाए ।

अस्पताल नै चाहन्छ पैसाले केस मिलाउन

सानो सहरमै बग्रेल्ती अस्पतालहरु खुलेका छन् । अस्पताल वा कुनै स्वास्थ्य संस्थामा घटना घट्छन्, कारण त परै जाओस् घटनै बाहिर ल्याउन नदिन पहिलो कसरत हुने कार्यक्रमका वक्ताले बताए ।

त्यो घटना बाहिर गयो भने खत्तमै हुन्छ, हाम्रोमा विरामी नै आउँदैनन् भन्ने स्वास्थ्य संस्था प्रशासनलाई सरोकारवालाले आरोप लगाए ।

‘स्वास्थ्य संस्थाका प्रशासन कुनै घटना घट्यो र त्यो घटना बाहिर गयो भने त खत्तमै हुन्छ भन्ठान्छन्,’ मानव अधिकार आयोग क्षेत्रीय प्रमुख नितु गर्तौलाले भनिन्, ‘पैसा लेनदेन गरेर जब घटना लुकाइन्छ त्यसको कारण बाहिर आउने कुरै भएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment