Comments Add Comment

अमेरिकामा के गर्दैछन् डियर कल्याण ?


२० फागुन, न्युयोर्क । कोठामा यत्रतत्र छरिएका थिए रेडियोमा बोल्नुपर्ने कथाका स्क्रिप्टहरु । केही पुराना त केही नयाँ । ती चाङबाट एक स्क्रिप्ट निकाल्छन् कल्याणराज गौतम र कथा भन्न शुरु गर्छन् , ‘…. डियर कल्याण, मेरो नाम शर्मिला हो….. ‘

नेपालमा ५० र ६० को दशकमा निकै नै चर्चित नाम हो-डियर कल्याण । १००० भन्दा बढी अरुको कथा पढिसकेका गौतम अहिले अमेरिकाको न्यूयोर्क शहरको क्विन्समा बस्दै आएका छन् ।

त्यस दिन उनी महोत्तरी जिल्ला निवासी शर्मिला तामाङको कथा पढ्दै थिए, जसले आफ्नो श्रीमान् १० वर्षे सशस्त्र द्वन्द्वमा गुमाएकी थिइन् । शर्मिला अहिले आफ्नो ११ वर्षे छोरालाई काठमाडौं शहरमा संघर्ष गर्दै हुर्काउँदै छिन् ।

४३ वर्षे गौतमले आफ्नो ट्रेडमार्क कार्यक्रम ‘ मेरो कथा ‘ चलाउन थालेको २० वर्षभन्दा बढी भइसक्यो । सन् २०१४ देखि उनी उक्त कार्यक्रमलाई न्युयोर्क शहरबाट नै चलाइरहेका छन् ।

श्रोताले पठाएका जीवनका भोगाइहरुलाई उनी वाचन गरिरहेका छन् रेडियोको तरङ्गमा । यही कार्यक्रमले हो उनलाई रेडियो स्टार बनाएको कुनैबेला नेपालमा ।

‘म अमेरिका आए पनि मेरो रेडियो स्टेशनले मेरो कार्यक्रमलाई हटाउन चाहेन,’ उनले भने, ‘त्यही भएर लामो समयदेखि म यो कार्यक्रम चलाइरहेको छु । अहिले हप्तामा २० वटा जति चिठी रेडियो स्टेशन  (इमेज एफएम) मा आउँंछन् । ‘

कुनैबेला उनको कार्यक्रममा हप्तामै ६०० भन्दा बढी चिठीहरु आउने गर्थे ।

४३ वर्षे गौतमले आफ्नो ट्रेडमार्क कार्यक्रम ‘ मेरो कथा ‘ चलाउन थालेको २० वर्षभन्दा बढी भइसक्यो । सन् २०१४ देखि उनी उक्त कार्यक्रमलाई न्युयोर्क शहरबाट नै चलाइरहेका छन् ।

‘त्यतिखेर सबै पढ्न सम्भव थिएन, त्यही भएर म कथा छानेर पढ्थे,’ उनले भने, ‘ कसैको कथा चित्त बुझ्यो भने उनीहरुलाई फोन गर्थें र साँचो लागेपछि मात्रै म त्यसलाई रेडियोको कार्यक्रममा ढाल्थें ।’

कथाको शुरुवात

‘डियर कल्याण’ उनको चिठीमा उनलाई श्रोताहरुले सम्बोधन गर्ने नाम हो । नेपालमा ५० र ६० को दशकलाई एफएम रेडियोको सुनौलो समय मानिन्छ । त्यही समय एकजना २५ वर्षे ठिटो कल्याणराज गौतमलाई एफएममा कथा भन्ने कन्सेप्ट लिएर गए ।

‘मैले सपनामा पनि सोचेको थिइनँ कि यो कार्यक्रम यति लोकपि्रय हुन्छ भनेर, ‘ उनले भने, ‘मेरो एक ड्रग एडिक्ट (लागुपदार्थ दुर्व्यसनी ) साथी थिए र उनैको जीवनको उतार-चढावलाई कथाको माध्यमबाट भन्ने प्रस्ताव लिएर म एफएममा गाएको थिएँ ।’

गौतमले आफ्नो साथीको नक्कली नाम राखेर सक्कली कथा भने- मार्च २ तारिख १९९८ को दिन । उनले पहिलो कार्यक्रममै आफूलाई ‘डियर कल्याण’ भनेर सम्वोधन गरे ।

‘डियर कल्याण’ सम्बोधन गर्दा रमाइलो सुनिन्थ्यो र श्रोतालाई सम्बोधन गर्न पनि सजिलो थियो, त्यही भएर मैले यसलाई रोजें, ‘ उनले भने ।

र, उनले आफ्नो कार्यक्रमलाई नाम दिए ‘मेरो कथा मेरो गीत ।’

पहिलो कार्यक्रमले नै जादु देखाइसकेको थियो । मानिसहरु उक्त कार्यक्रमबारे चर्चा गरिरहेका थिए ।

‘मेरो साथीले मलाई आएर धन्यवादसमेत दियो,’ उनले भने ।

‘कुनै कार्यक्रममा जाँदा मेरो आवाज सुन्ने बित्तिकै मानिसहरु ‘तपाई डियर कल्याण हैन ?’ भनी सोध्थे ,’ उनले सुनाए, ‘म कल्याणराज गौतमबाट डियर कल्याण भइसकेको थिएँ ।’

उनको लोकप्रियता दिनप्रतिदिन बढिरहेको थियो । यसबीचमा उनले एक एड्भर्टाइजिङ कम्पनी पनि खोले र आफ्नो आर्थिक स्थिति मजबुत बनाउन थाले ।

‘त्यतिखेर म धेरै पैसा कमाउन थालिसकेको थिएँ,’ उनले भने ।

लगातारको सफलतासँगै दाङ जिल्लाबाट राजधानी बसाइँ सराई गरेका गौतमले आफ्नै बलबुँताले काठमाडौंमा घर बनाउन सफल भए ।

‘उपत्यका बाहिरबाट काठमाडौं आउनेको सपना त्यहाँ घर बनाउने हुन्छ,’ उनले भने ।

लेखन करियर

रेडियोको करियरसँगसंँगै उनले आफ्नो लेखन करियरलाई पनि अगाडि बढाए । रेडियो स्टार हुनुअघि उनले केही पुस्तकहरु लेखेका थिए । तर, ती खासै सफल भने भएका थिएनन् ।

जब उनको कार्यक्रम लोकपि्रय भयो, उनले ती कार्यक्रममा प्रशारण भएका १८ वटा कथालाई पुस्तकका रुपमा निकाले । ‘मेरो कथा’ नामक उक्त कथासंग्रह त्यतिखेर १०,००० भन्दा बढी बिक्री भयो । त्यस्तै, उक्त कथासंग्रहका दुई अन्य भागहरुले पनि राम्रो लोकप्रियता कमायो ।

सन् २०१२ मा उनले ‘रेडियो छाप सलाई ‘ भन्ने उपन्यास बजारमा ल्याए । उक्त उपन्यास १५ हजारभन्दा बढी बिक्री भयो ।

‘त्यो उपन्यासले राम्रो व्यापार गर्‍यो,’ उनले भने, ‘विदेशमा पनि यसको माग निकै थियो । ‘

उनको स्टारडमले उपन्यासलाई चर्चित बनाउन मद्दत गरेको थियो । लेखन र रेडियो करियरले उनलाई युरोप, अस्ट्रेलिया, मलेसिया, सिंगापुर, युके, अमेरिका, चीन र बाङलादेश पुर्‍यायो ।

उनीसँग सबैकुरा थियो- नाम, दाम र प्रतिष्ठा ।

छोरीको भविश्य

गौतमका महिला प्रशंसकहरु निकै धेरै थिए त्यतिखेर । धेरैले उनलाई प्रेम र विवाहको प्रस्ताव गर्थे । तर, गौतमको दिल बस्यो उनकी एक प्रशंसकसँग । सन् २००२ मार्च १ तारिखका दिन सञ्जना गिरीलाई उनले आफ्नो जीवनसाथी बनाए ।

‘गर्लफ्रेण्ड पाउन सजिलो छ, तर जीवनसाथी पाउन गाह्रो ।’ उनले भने, ‘म खुशी छु, उनलाई पाएर ।’

कल्याणको जीवनले रफ्तार पक्डिरहेका थियो, तर यो रफ्तारमा त्यतिखेर ब्रेक लाग्यो, जब उनीहरुकी छोरी साम्भवी गौतम १५ महिनाकी भइन् ।

त्यतिखेरसम्म पनि उनी बोल्न सकिरहेकी थिइनन् ।

गौतमले छोरीलाई नेपालका सबै राम्रा अस्पताल र छिमेकी भारतको अस्पतालमा पनि पुर्‍याए । धेरै अस्पतालको चक्कर काटेपछि उनले छोरीको समस्या डाक्टहरुबाट थाहा पाए ।

‘छोरीलाई अटिजम भएको रहेछ’ उनले सम्झिए, ‘डाक्टरले यो सुनाउनेवित्तिकै हामी धेरै नै रोयौं ।’

‘अटिजम स्नायु र नसाको विकासमा आउने ह्रासले उत्पन्न हुने अपाङ्गता हो,’ उनले भने, ‘यसको पूर्ण उपचार सम्भव छैन ।’

विश्व स्वास्थ्य संगठनले अटिजमलाई विश्वव्यापी जनस्वास्थ्य संकटका रुपमा लिएको छ, जसअनुसार विश्वभर १ प्रतिशत मानिसमा अटिजम छ । नेपालमा ३ लाखजति बच्चामा अटिजम रहेको अनुमान गरिएको छ ।

अटिजम किन हुन्छ भन्ने कारण अहिलेसम्म पत्ता नलागे पनि यो बढी मात्रामा वंशाणुगत हुने गरेको पाइएको छ । अटिजम भएका बच्चाहरुलाई सामान्य मानिससरह जिउन गाह्रो हुन्छ ।

गौतमले अटिजमबारे धेरैभन्दा धेरै पुस्तक पढ्न थाले । साथै कसरी आफ्नी छोरीलाई हुर्काउने भन्ने कुराले पनि चिन्तित हुन थाले ।

‘दिनदिनै देशमा बन्द र हड्तालले गर्दा सबैको अवस्था गाह्रो भइरहेको थियो’ उनले भने, ‘छोरीलाई स्कूल पठायो, कतिखेर बाटो बन्द हुन्थ्यो अनि हतारहतार कामसाम छोडेर लिन जानुपर्थ्यो । ‘

यस्तो अवस्थामा सबैको सल्लाह लिएर कल्याणले आफ्नी छोरीको भविश्यका लागि अमेरिका आउने निर्णय गरे ।

‘हाम्रो देशमा यस्ता बच्चालाई समाजले हेर्ने दृष्टिकोण पनि फरक छ, त्यो झन् मैले बताइरहनै पर्दैन,’ उनले भने ।

यसरी सन् २०१० मा उनी अमेरिका बसाइँ सरे । चर्चित कलाकार भएका कारण उनलाई यहाँ ग्रीनकार्ड पाउन गाह्रो भएन ।

दुई वर्षअघि उनले आफ्नो परिवारलाई यहाँ ल्याए ।

डियर कल्याणले अनलाइनखबरसँग भने- ‘मेरी छोरी यहाँ उनीहरु जस्तै बच्चालाई लक्षित गरी खोलिएको स्कुल जान्छिन् । त्यहाँ यस्ता बच्चलाई पर्याप्त माया र सम्मान दिइन्छ । अहिले हामीले उनलाई स्पिच थेरापी पनि दिइरहेका छौं ।

गौतमकी श्रीमती सञ्जनाको पूरा समय अहिले १४ वर्षीय छोरी र ९ वर्षीय छोरा आख्यानको हेरचाहमा बित्ने गर्छ ।

हामीले अन्तरवार्ता लिइरहेको दिन छोरी बेलाबेला रोइरहेकी थिइन् । सञ्जनाले भनिन्- ‘तपाई आएपछि हामीले उनलाई वास्ता नगरेको जस्तो लागेर रोएकी हुन् ।’

छोरीका लागि खाना खुवाउने, लुगा लगाइदिने जस्ता सबै काम आमाले गर्नुपर्छ । बिहान साढे ६ बजे उनलाई लिन स्कूल बस आउँछ र साढे ३ बजे घर पुर्‍याउँछ । त्यतिञ्जेल सञ्जनाले सबैका निम्ति खाना तयार पारिसकेकी हुन्छिन् ।

‘छोरी नै मेरो सबैथोक हो’ उनले भनिन् ।

सन् २०१० मा उनी अमेरिका बसाइँ सरे । चर्चित कलाकार भएका कारण उनलाई यहाँ ग्रीनकार्ड पाउन गाह्रो भएन । दुई वर्षअघि उनले आफ्नो परिवारलाई यहाँ ल्याए ।

खस्किँदो ( ?) स्टारडम

गौतमको शो हरेक हप्ता नेपालको एफएममा प्रशारण भइरहेको छ, यसको अलावा उनको आफ्नै युट्युब च्यानल, मेरा कथा डियर कल्याण पनि छ, जहाँ २२ हजारभन्दा बढी सब्स्क्राइबरहरु छन् ।

उनको एक कार्यक्रमले सरदर २२ हजार भ्युज पाउँछ । उनले यु ट्युब च्यानलबाट महिनाको ५० हजार रुपैयाँ कमाउँछन् ।

तर, आफ्नो लोकप्रियता पहिलेजस्तो नभएको डियर कल्याण स्वीकार्छन् ।

‘हो पहिलेजस्तो लोकपि्रय त म पक्कै छैन, तर यो अर्धसत्य हो’, उनले भने, ‘अहिले पनि मैले मेरो फ्यान पेजमा एउटा फोटो राखें भने १०० भन्दा बढीले सेयर गर्छन् ।’

उनको फेसबुक फ्यान पेज, डियर कल्याणमा ४५ हजारभन्दा बढीले लाइक्स गरेका छन् भने उनको व्यक्तिगत फेसबुकमा फलो गर्नेको संख्या २५ हजारभन्दा बढी छ ।

अबको बाटो

गौतमको बेडरुममा लुगा कम, किताब बढी थिए । किताबको थाकमा चीनको इतिहास, माउत्सेतुङ्गको जीवनीलगायत चीनसँग सम्बन्धित किताब पनि भेटिए ।

गौतम अमेरिकामा अहिले अंग्रेजीमा लेखन करियरलाई अगाडि बढाउन खोजिरहेका छन् । एक प्राइभेट कम्पनीमा पार्ट टाइम काम गरिरहेका गौतम न्युयोर्कमा रहेका दुई चिनियाँ व्यक्तिहरुमाथि उपन्यास लेखिरहेका छन् ।

‘एकजनाले त भर्खरै आत्महत्या गर्‍यो’, उनले भने, ‘शायद डिप्रेसन थियो उसलाई ।’

डियर कल्याण जीवनप्रति आशावादी हुँदै भन्छन्- ‘मलाई लाग्छ, मैले यहाँको बजारमा मेरो लेखन क्षमतालाई अगाडि बढाउन सक्छु । यसका लागि म सक्दो रिसर्च गरिरहेका छु ।’

उनले यसो भनिरहँदा छोरीलाई सम्झिए र भने- ‘मेरो पहिलो प्राथमिकता मेरी छोरी हुन्, त्यसपछि उपन्यास ।’

डियर कल्याणको छोटो भिडियो कथा यहाँ हेर्न सक्नुहुन्छ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment