Comments Add Comment

प्रेस रिभ्यूः संघीय संसदले अाजबाट काम थाल्दै, यस्तो छ कार्यसूची

तीन विषयले लम्बियो सरकार–फोरम सहमति

२१ फागुन, काठमाडौं । राजधानीबाट आज प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा संघीय र राष्ट्रियसभाका सांसद्हरुले बुधबार लिएको शपथको विषय परेको छ । पत्रपत्रिकाहरुले आज विभिन्न शीर्षकमा सांसदहरुको शपथको समाचार लेखेका छन् ।

संघीय संसदको पहिलो बैठक आज बस्न लागेकोलाई पनि पत्रपत्रिकाहरुले नछुटाइकन छापेका छन् । पत्रपत्रिकाका अनुसार, सोमबार ४ बजेबाट औपचारिक रुपमा सुरु हुने बैठकले सभामुख चयन, प्रधानमन्त्रीले विश्वासको मत लिने र राष्ट्रियसभाका अध्यक्ष चयनको औपचारिक मिति तय गर्नेछ ।

त्यसबाहेक पाकिस्तानी प्रधानमन्त्री नेपाल आउन लागेको, कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुन लागेको, फोरमसँग मन्त्रालय भागबण्डा नमिल्दा सरकार विस्तारमा ढिलाई भइरहेका समाचारले पनि प्राथमिकता पाएका छन् ।

संघीय संसदले काम थाल्दै, यस्तो छ कार्यसूची

निर्वाचन सकिएको झन्डै तीन महिनापछि संघीय संसद्ले औपचारिकता पाएको समाचार कान्तिपुरले छापेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले आइतबार ज्येष्ठ सदस्यबाट शपथ लिएका छन् । यससँगै सोमबारट संसदले औपचारिक रुपमा काम थाल्दैछ ।

प्रतिनिधिसभाका लागि गत मंसिर १० र २१ गते दुई चरणमा चुनाव भए पनि परिणाम घोषणाका लागि कानूनी अड्चनका कारण संघीय संसदले औपचारिक काम सुरु गर्न झन्डै तीन महिना लागेको हो ।

सोमबार ४ बजेबाट औपचारिक रुपमा सुरु हुने संसदको पहिलो बैठकले सभामुख चयन, प्रधानमन्त्रीले विश्वासको मत लिने र राष्ट्रियसभाका अध्यक्ष चयनको औपचारिक मिति तय गर्नेछ ।

संसद सचिवालयका अनुसार दुवै सदनको पहिलो बैठकको कार्यसूची करिब तय भएको छ । दुवै सदनको पहिलो बैठकमा आ–आफ्ना सभाको बैठक सञ्चालनसम्बन्धी अन्तरिम कार्यविधि प्रस्तुत हुनेछ । त्यसपछि संसदको बैठक आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाउने, प्रधानमन्त्री नियुक्तिको पत्र पढेर सुनाउने कार्यसूची रहेको कान्तिपुरको समाचारमा उल्लेख छ ।

दुई दशकपछि द्विसदनात्मक सदन

गोरखापत्र दैनिकले दुई दशकपछि द्विसदनात्मक सदन शीर्षकमा आजदेखि संसदको पहिलो अधिवेशन शुुरु हुन लागेको विषयलाई मुख्य समाचार बनाएर छापेको छ । समाचारमा लेखिएको छ, ‘जनआन्दोलन र राजनीतिक परिवर्तनपछि निर्वाचित संस्था संविधानसभा एक सदनात्मक थियो र संविधानसभाले नै संसदको पनि कामकारवाही गर्दै आएको थियो । फेरिएको राजनीतिक पृष्ठभूमिका संघीय संरचनामा प्रदेशसभा पनि कार्यान्वयन आएर अधिवेशन सुरु भइसकेको छ । संघीय संसदको पहिलो अधिवेशन भने औपचारिक रुपमा सोमबार सुरु हुँदैछ ।’

समाचारमा थप लेखिएको छ, ‘२०४७ को संविधानले द्विसदनात्मक संसदको व्यवस्था गरेको थियो । तर, २०५८ मा प्रतिनिधिसभा विघटनका लागि सिफारिस भएपछि उक्त अभ्यासमा ब्रेक लागेको थियो ।’

तीन विषयले लम्बियो सरकार–फोरम सहमति

संघीय समाजवादी फोरमलाई सरकारमा ल्याएर मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री केपी ओलीको प्रयास लम्बिएको छ ।

नयाँ पत्रिकाका अनुसार, फोरमसँग पटक–पटक वार्ता भए पनि ठोस सहमति जुट्न सकेको छैन । आइतबार पनि दुई चरणमा शीर्ष तहमै छलफल भयो । तर, सहमति निस्किएन । सांसदहरूको शपथका कारण छलफल प्रभावित भए पनि सोमबारसम्म ठोस निष्कर्षमा पुर्याउन दुवै पक्ष घनीभूत रूपमा लागेका छन् ।


समाचार अनुसार तीन विषयले छलफल लम्बिएको छ । सरकार र फोरमबीच दुईबुँदे राजनीतिक सहमतिको मस्यौदामा १७ फागुनमै करिब करिब समझदारी भइसकेको हो । तर फोरम अध्यक्ष यादवले मस्यौदाको पहिलो बुँदामा दुवै पक्षलाई मान्य हुनेगरी संविधान संशोधनका लागि भाषा स्पष्ट रुपमा उल्लेख हुनुपर्ने अडान राखेका छन् ।

फोरम अध्यक्ष उपेन्द्र यादवको वरीयता विषयले पनि बिलम्ब भइरहेको छ । समाचार अनुसार प्रधानमन्त्री केपी शर्मा ओली कसैलाई पनि उपप्रधानमन्त्री बनाउने पक्षमा छैनन् । यादव भने आफू दुईपटकसम्म उपप्रधानमन्त्री भइसकेको र दोस्रो पार्टीको अध्यक्ष भएकाले सरकारमा सहभागी हुँदा दोस्रो मर्यादामा रहने गरी उपप्रधानसहित मन्त्रालय पाउनुपर्ने दाबी गरिरहेका छन् । मन्त्रालय भागबन्डामा कुरा मिल्न सकेको छैन ।

चिठ्ठा थुतेर घर लिए लाप्राकका भूकम्पपीडितले

१२ वैशाख ०७२ को गोरखा भूकम्पबाट विस्थापित भएका लाप्राकका भूकम्पप्रभावितलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले चिठ्ठा थुतेर घर जिम्मा लगाएको छ ।

५७३ वटा घर पुनर्निर्माण गरिरहेको एनआरएनएले निजी आवास पुनर्निर्माणमा सहजता ल्याउन र स्थानीय बासिन्दालाई आफ्नो घरप्रति अपनत्व बढाउन आइतबार चिठ्ठा थुतेर घर जिम्मा दिएको जनता पोस्ट दैनिकमा खबर छ ।

समाचार अनुसार एनआरएनएले लाप्राकको गुप्सीपाखास्थित भूमे सामुदायिक वनमा लाप्राकीका भूकम्प प्रभावितलाई बसोबासको प्रबन्ध मिलाउन नमूना बस्ती पुनर्निर्माण गर्दैछ । सरकारले यहाँ बस्ती पुनर्निर्माण गर्नका लागि १८.३१ हेक्टर क्षेत्रफलको जग्गा भोगचलनको अधिकारसहित उपलब्ध गराएको थियो । सोही जग्गामा घडेरी सम्याएर एनआरएनएले नमूना बस्ती पुनर्निर्माण गर्दै आएको छ ।

अर्थमन्त्रीको अभिव्यक्तिले सेयर बजारमा पहिरो

सेयर बजारप्रति नकारात्मक धारणा बनाउँदै आएका अर्थमन्त्री युवराज खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्र भन्दै त्यस्तो क्षेत्रमा लगानी गर्नु अर्थहीन भएको अभिव्यक्ति दिएपछि सेयर बजारमा ठूलो गिरावट आएको छ ।

नागरिक दैनिकका अनुसार साताको पहिलो दिन आइतबार नेप्से ४१.५६ बिन्दुले घट्दा लगानीकर्ताले एकै दिन ४८ अर्ब गुमाउन पुगे ।

खतिवडा अर्थमन्त्रीमा नियुक्ति भएदेखि नै सेयर बजार निरन्तर ओरालो लाग्दै आएको छ । चार कारोबार दिनमा करिब ५५ बिन्दुले नेप्से घट्न पुगको छ ।

औषधि व्यवस्था विभाग खारेज गर्ने तयारी

स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभाग खारेज गर्ने विषयमा छलफल थालेको छ । विभागमा पर्याप्त कर्मचारी नभएको कारण देखाउँदै मन्त्रालय खारेज गर्ने निष्कर्षमा पुगेको समाचार नयाँ पत्रिकामा छ ।

स्रोतका अनुसार स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले औषधि व्यवस्था विभागको कुनै काम नभएको भन्दै स्वास्थय सेवा विभाग मातहत महाशखाको रुपमा राख्नुपर्ने धारणा राखेकी थिइन् । औषधिको गुणस्तर मापन र अनुगमनजस्ता कार्य गर्ने विभागलाई मन्त्रालयले सेवाजस्तो ठानेको विभागका अधिकारीहरुको आरोप छ ।

श्रीमती वेश्वावृत्तिमा लगाउनेलाई ११ वर्ष कैद

चितवनमा श्रीमतीलाई वेश्यावृत्तिमा लगाउने एक व्यक्तिलाई अदालतले ११ वर्ष कैद सजाय सुनाएको छ। माडी नगरपालिका–६ का राजु काफ्लेले श्रीमतीलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाएको भन्दै परेको मुद्दामा चितवन अदालतले आइतबार ११ वर्ष कैद सजाय सुनाएको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले कैद सजायसँगै काफ्लेसँग ५५ हजार रुपैयाँ जरिवाना असुल गर्न र २५ हजार रुपैयाँ श्रीमतीलाई क्षतिपूर्ति भराउनुपर्ने आदेश दिएको छ।

श्रीमानले आफूलाई होटलमा राखी यौनसम्पर्क गराउन बाध्य पारेको भन्दै ती महिलाले १७ साउनमा जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएकी थिइन्। पीडित महिलाको पक्षमा मुद्दा लडेकी अधिकारकर्मी अघिवत्ता फूलमाया रानाभाटले मानव बेचबिखन तथा ओसारपसारऐन २०६४ को दफा ४ (ख) बमोजिम मद्दा दर्ता भई ऐनको दफा १५ (ख) बमोजिम ११ वर्षको कैद सजाए भएको जानकारी दिइन्।

डेढ दिन बिराएर बिजुली

एसईई परीक्षा नजिकै आइसक्दा पनि बझाङका विद्यार्थीले बिजुली अभावमा पर्याप्त तयारी गर्न सकेका छैनन् । यहाँ डेढ दिन बिराएर बिजुली आउँछ र त्यो पनि जम्मा एक घन्टा ।

कान्तिपुर दैनिकका अनुसार जयपृथ्वी नगरपालिका र आसपासका करिब ३ हजार घरधुरीलाई विद्युत्त सेवा उपलब्ध गराइरहेको सुर्मा देवी विद्युत्त प्रालिले एसईईको मुखैमा लोडसेडिङ अवधि बढाएर ३६ घन्टा पुर्याएको छ ।

विद्युत्तगृहमा पानीको मात्रा घटेर पर्याप्त विद्युत्त उत्पादन हुन नसकेकाले लोडसेडिङ अवधि बढाइएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment