Comments Add Comment

पाकिस्तानी प्रधानमन्त्री आज नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका

२१ फागुन, काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासी दुईदिने नेपाल भ्रमणको क्रममा सोमबार काठमाडौं आउँदैछन् । ३० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अब्बासी सोमबार अपरान्ह सवा तीन बजे नेपाल आउन लागेका हुन् ।

पाकिस्तानी प्रधानमन्त्रीको आकस्मिक नेपाल आगमनलाई कुटनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । उनले नेपालमा करिव २० घण्टा बिताउनेछन् र यसबीचमा राजनीतिक भेटवार्ता पनि गर्नेछन् ।

आफ्नै विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने अब्बासीलाई अर्थमन्त्री डा. युवराज खतिवडाले स्वागत गर्नेछन् ।

विमानस्थलबाट उनी सीधै ह्यात होटलमा जानेछन् । त्यसपछि सैनिकमञ्च टुँडिखेल पुग्नेछन् जहाँ उनको सम्मानमा नेपाली सेनाको टोलीले ‘गार्ड अफ अनर’ प्रदान गर्नेछ । साँझ साढे ५ बजे गार्ड अफ अनरको समय निर्धारण गरिएको सैनिक प्रवक्ता गोकुल भण्डारीले अनलाइनखबरलाई जानकारी दिए ।

सो सम्मान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमेतको सहभागीता रहनेछ ।

यसअघि विशिष्ट अतिथिलाई त्रिभुवन विमानस्थलभित्रै गार्ड अफ अनर प्रदान गरिन्थ्यो तर आज सैनिकमञ्चमा दिन लागिएको नेपाली सेनाका प्रवक्ता भण्डारीले जानकारी दिए ।

होटल याक एण्ड यतीमा ओली-अब्बासी भेटवार्ता

त्यसपछि पाकिस्तानी प्रधानमन्त्री अब्बासी पुनः होटल याक एण्ड यतीमा फर्किने छन् । उनको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोही होटलमा आयोजना गरेको रात्रीभोज सहभागी हुनेछन् । सोही होटलमा ओली र अब्बासीबीच भेटवार्तासमेत हुनेछ । भेटवार्ताको समय एक घण्टा निर्धारण गरिएको छ ।

भेटमा अब्बासीले ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाइ दिने र द्विपक्षीय हितका विषयमा छलफल हुने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।

नेपालस्थित पाकिस्तानी दूतावासले जारी गरेको विज्ञप्तिमा पनि प्रधानमन्त्री अब्बासीले नेपालमा प्रजातान्त्रिक प्रक्रियाबाट नयाँ सरकार बनेको र केपी शर्मा ओली नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाइ दिने उल्लेख छ ।

दूतावासको विज्ञप्तिअनुसार भेटवार्तामा आगामी सार्क सम्मेलन आयोजनाका विषयमा छलफल हुने उल्लेख छ ।

२०७१ मंसिरमा नेपालमा सार्क सम्मेलन आयोजना भएपछि अर्को सम्मेलन पाकिस्तानमा आयोजना गर्ने निर्णय भएको थियो । तर, भारत र पाकिस्तानबीचको द्वन्द्वका कारण सम्मेनल अन्तिम समयमा स्थगित गरिएको थियो । पाकिस्तान आगामी सार्क सम्मेलन आयोजक राष्ट्र भएकाले त्यसलाई आयोजना गर्नका लागि नेपालको सहयोगको अपेक्षा अब्बासीबाट हुने अनुमान गरिएको छ ।

साथै द्विपक्षीय व्यापार, पर्यटन, शिक्षा, रक्षालगायतका विषयमा पनि ओलीसँगको भेटमा छलफल हुने पाकिस्तानी दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपतिलाई भेटेर स्वदेश फिर्ती

गत वर्ष नेपालबाट बेपत्ता बनाइएका पाकिस्तानी पूर्वकर्णेलको विषयलाई पनि अब्बासीले उठाउने अनुमान गरिएको छ ।

उनले मंगलबार बिहान १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितलनिवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्तापछि उनी स्वदेश फर्किनेछन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति र प्रधानमन्त्री बाहेक अन्य नेताहरुसँग अब्बासीको भेटवार्ता तय भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment