Comments Add Comment

द्रुतमार्गमा सेनासँगै मिसिए ठेकेदार पनि


२१ फागुन, काठमाडौं । काठमाडौं–तराई द्रुतमार्ग (फस्ट ट्रयाक) निर्माण लागि तत्कालै २२ ठेकेदार कम्पनी पनि फिल्डमा जाने भएका छन् । त्यसमध्ये ८ वटा कम्पनीले ठेक्काको लागि सम्झौता गरिसकेका छन् भने १४ वटा कम्पनीलाई ठेक्का ‘अवार्ड’ गर्न प्रक्रिया अघि बढाइएको छ ।

यो सँगै फास्ट ट्रयाकमा अब सेनासँगै ठेकेदार कम्पनीले पनि काम सुरु गर्ने भएका छन् । सेनासँग भएको सम्झौताअनुसार उनीहरुले विभिन्न खण्डमा तोकिएको निर्माणका काम थाल्नेछन् ।

सेनाले आफूसँग उपलब्ध स्रोत साधन र प्रविधिले मात्रै अत्याधुनिक फास्ट ट्रयाक निर्माण गर्न नसकिने भन्दै स्वदेशी/विदेशी ठेकेदारहरुबाट पनि काम गराउन लागेको हो ।

‘सेनाले पनि काम गरिरहेको छ । अब कन्ट्रयाक्टरहरु पनि काममा खटिनेछन्,’ नेपाली नेसाका प्रवक्ता गोकुल भण्डारीले भने,‘अब द्रुतमार्ग निर्माण्को काम अझै तीव्र गतिमा अघि बढ्छ ।’

विभिन्न कामको जिम्मा

नेपाली सेनाले टेण्डरमार्फत विभिन्न साइटमा कामका लागि नेपाली ठेकेदारलाई काम दिएको हो । सेनाले आवश्यक्ताअनुसार थप कामका लागि पनि लोकल कन्ट्रयाक्टरलाई जिम्मेवारी दिन सक्ने प्रवक्ता भण्डारीले बताए ।

सेनाले अहिले मकवानपुरको बुदुने क्षेत्रमा रुख कटान गरिरहेको छ । रुख कटान सकिएका क्षेत्रमा सेनाले ट्रयाकलाई विस्तार गर्ने काम पनि अघि बढाएको छ ।

सेनाले इक्विपमेन्टमा भाडामा लिनेसहित विभिन्न २८ वटा ठेक्काको प्रक्रिया एकैसाथ अघि बढाएको थियो ।

सेनाले ठूला पुलर सुरुङ लगायतका संरचनाका लागि विदेशी ठेकेदार नियुक्ति गर्ने बताएको छ । तर, नेपाली ठेकेदारले भने ट्रयाक कटिङ, फिलिङ, रिटेनिङवाल बनाउने लगायतका काम गर्नेछन् । सेनालले भिन्न–भिन्न खण्डमा भिन्न ठेकेदारलाई यस्तो कामको जिम्मेवारी दिँदैछ ।

‘सजिलो प्रविधिमा हुने किसिमका कामहरु नेपाली ठेकेदारले नै गर्न सक्छन् भनेर ठेक्का लगाएका हौं,’ प्रवक्ता भण्डारीले भने,‘हामी द्रुतमार्गको निर्माण समयमै सकियोस् भने कामलाई गम्भिरतापूर्वक अघि बढाउँदैछौं ।’

सेनाले फास्ट ट्रयाकको विस्तृत परियोजना प्रतिवेदन निर्माण गर्न पनि प्रक्रिया अघि बढाएको जनाएको छ । त्यसका लागि विभिन्न प्राविधि पक्षको अध्ययन भइरहेको प्रवक्ता भण्डारीले बताए ।

सेनाले यसअघि नै ट्रयाकलाई विस्तार गर्नेसहितका प्रारम्भिक कामहरु डीपीआर नभएकै कारण नरोकिने बताइसकेको छ । उसले भारतीय कम्पनी इन्फ्रास्ट्रक्चर लिजिङ एण्ड फाइनान्स सर्भिसेज लिमिटेडले तयार गरेको डीपीआर नकिन्ने निर्णय गरिसकेको छ ।

४ क्याम्प थपिए

द्रुतमार्ग निर्माणका लागि ५ स्थानमा निर्माण बेस क्याम्प खडा गरिसकेको सेनाले हालै ४ वटा बेसक्याम्प पनि स्थापना गरेको छ ।

निजगढ, राजदमार, ठिंगन र खोकनमा नयाँ निर्माण बेक क्याम्प स्थापना गरिएको हो । यो सँगै सेनाले ९ वटा बेसमार्फत एकैसाथ फास्ट ट्रयाक निर्माण गरिरहेको छ । अब एउटा बेस क्याम्प पनि थपिने भण्डारीले बताए ।

काठमाडौं–तराई फास्ट ट्रयाक ललितपुरको खेकनाबाट काठमाडौंको चाल्नाखेल हुँदै दक्षिणकाली–इपा–गढी–छतिवन–धियाँल हुँदै बाराको रतनपुरी लालगाउँ भएर निजगढमा पूर्वपश्चिम राजमार्गमा जोडिन्छ ।

कुल ७६.२ किलोमिटरको यो द्रुतमार्गले पहाडी क्षत्रेमामा २३ मिटर र तराईमा २५ मिटर चौंडाइको हुनेछ । यो मार्गमा साना ठूला ९९ वटा पुल पनि बन्नेछन् ।

मकवानपुरको ठिंगनमा डेढ किलोमिटरको २ मुखे सुरुङ पनि निर्माणको प्रस्ताव गरिएको छ छ । यो मार्ग बनेपछि काठमाडौंबाट १ घण्टामा पुग्न सकिने सरकारको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment