Comments Add Comment

लाप्राकवासीलाई गोलाप्रथाबाट घडेरी, घरको डिजाइन परिवर्तन


२१ फागुन, गोरखा । धार्चे गाउँपालिका–४ लाप्राकस्थित गुब्सिपाखामा बन्दै गरेको एकीकृत नमूना वस्तीको घडेरी छनोटका लागि स्थानीयबासीलाई गोलाप्रथा गराइएको छ ।

आइतवार एनआरएनका अध्यक्ष भुवन भट्टको उपस्थितिमा गोलाप्रथा गरिएको हो । ‘निर्माण भइरहेको नमूना वस्तीलाई १६ वटा ब्लकमा बिभाजन गरेर ‘ए’देखि ‘टी’सम्म नम्वरिङ्ग ग¥यौं,’ एनआरएनका दिपेश सिंले भने, ‘अनि चिठ्ठा थुताएर त्यही नम्वरको आधारमा स्थानीयलाई घडेरी छनोट गराएका हौं ।’

सेतो कार्ड पाएका ५ सय ७३ भूकम्प पीडितहरुलाई घडेरी छनोटका लागि गोलाप्रथा गराइएको सिंले बताए । ‘गोलाप्रथाबाट को कुन ब्लकमा बस्ने भन्ने निश्चित भयो, घर निर्माण भइसकेपछि आफ्नो ब्लकमा रहेको घरमा उहाँहरु बस्नुहुन्छ,’ उनले भने ।

ब्लकपिच्छे घरधुरीको संख्या फरक रहने सिंको भनाइ छ । ‘एउटा ब्लकमा कम्तिमा २० देखि बढीमा ६८ घरधुरी हुन्छ,’ उनले भने ।

अधिकांश घरको गाह्रो लगाउने काम सम्पन्न

एनआरएनका अध्यक्ष भगवान भट्ट, उपाध्यक्ष सपिला राजभण्डारी, एनआरएनका सीईओ हेमन्त दवाडी, कर्नेल चन्दन सिं थापा लगायतको टोली हेलिकप्टर मार्फत आइतबार लाप्राक पुगेर गोलाप्रथा गराएका थिए ।

लाप्राकको पुरानो वस्ती भूकम्प र पहिरोको जोखिममा परेपछि गाउँमाथिको गुब्सीपाखाको सार्वजनिक ठाउँमा नमूना बस्ती निर्माण भइरहेको छ ।

लाप्राकका ५ सय ७३ भूकम्पपीडित घरधुरीका लागि एनआरएनले गुब्सीपाखामा एकीकृत नमूना बस्ती बनाइरहेको छ । हालसम्म चार सय ९० वटा घरको गाह्रो लगाउने काम सम्पन्न भएको छ । बाँकीको गाह्रो लगाउने काम जारी छ ।

घरको मोडेल परिवर्तन हुने

हाल निर्माण भइरहेको एकीकृत नमूना वस्तीका घरहरुको मोडेल केही परिवर्तन हुने भएको छ । भुवन भट्ट अध्यक्ष भएसँगै घरको मोडेलमा केही परिवर्तन गर्न लागिएको एनआरएनले जनाएको छ ।

यसअघि जस्ताको छाना छाउने भनिएपनि त्यसको ठाउँमा बिटुमेन्ट सिट लगाउने तयारी गरिएको एनआरएनका प्राविधिक प्रवन्धकसमेत रहेका सिंले जानकारी दिए । त्यस्तै बाँस र माटो हटाएर काठको फलेक र ब्लक राख्ने तयारी गरिएको उनले बताए । तर एकीन भने नभइसकेको उनको भनाइ छ ।

घर निर्माणका लागि स्थानीयले ढुंगा र काठ आफैं जुटाउनुपर्ने हुन्छ । सामुदायिक वनबाट स्थानीयले ल्याएको काठ चिरानदेखि ढुवानीसम्म एनआरएनले गर्ने धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment