Comments Add Comment

प्राथमिक विद्यालयमा एक जना मात्रै शिक्षक !

एउटै कोठामा राखेर पढाउँछन्


२१ फागुन, उदयपुर । सामान्यतया प्राथमिक विद्यालय सञ्चालनका लागि कम्तीमा ५ शिक्षक आवश्यक हुन्छ । तर उदयपुरमा एउटा यस्तो प्राथमिक विद्यालय छ, जहाँ मात्रै १ शिक्षक छन् ।

जिल्लाको कटारी नगरपालिकाको वडा नम्बर ८, सिरिसे आहालेमा रहेको रुपैरानी आधारभूत विद्यालयमा शिक्षक अभाव भएको हाे । आवश्यक शिक्षक नहुँदा २ वर्षदेखि एकजना शिक्षकले पठन–पाठन सञ्चालन गरिरहेका छन् ।

विद्यालयमा २ जना शिक्षकको दरबन्दी भए पनि शिक्षक अरविन्द कुमार मिश्रलाई स्थायी शिक्षण अनुमतिपत्र सम्बन्धी मद्दा परेपछि विद्यालयका प्रधानाध्यापक राजकुमार सुनरैत एक्ला शिक्षक भएका छन् ।

२०४७ सालमा स्थापना भएको उक्त विद्यालयमा आफू एक्लैले अध्यापन गराउनु पर्ने बाध्यता रहेको गुनासाे विद्यालयका प्रधानाध्यापक सुनरैतले गरे । ‘एक्लैले कक्षाहरुमा पढाउनु र प्रशासनिक काम गर्नुपरेको छ’ सुनरैतले शिक्षक अभावको गुनासो गर्दै भने ।

विद्यालयमा ३५ जना विद्यार्थी अध्ययनरत भए पनि शिक्षक अभावमा दैनिक १२ देखि १५ जना सम्म मात्र उपस्थित हुने गरेको प्रअ सुनरैतले बताए ।

विद्यालयमा गुणस्तरीय शिक्षण नहुँदा विद्यार्थी कम आउने गरेको अभिभावकहरुको भनाइ छ ।

प्रधानाध्यापक सुनरैत कुनै दिन बिदा बसेमा कार्यालय सहयोगी महिमान मगरले विद्यालयको ढोका खोल्ने गरे पनि पठनपाठन भने ठप्प रहने गरेको छ ।

विद्यालयमा आवश्यक पूर्वाधारको समेत अभाव  छ । विद्यालयको बोर्डसमेत छैन । भवन पनि जीर्ण अवस्थामा छ । विद्यार्थीहरुलाई अलग कक्षाको समेत अभाव भएका कारण एउटै कक्षाकोठामा राखेर पढाइने गरिएको छ ।

वडा नम्बर ८ का वडा अध्यक्ष कमल श्रेष्ठले आफूहरुले शिक्षक व्यवस्थापनको लागि पहल गरिरहेको बताए । शिक्षक मिश्रको मुद्दा फैसला भएपछि अर्को शिक्षक ल्याउन सहज हुने उनको भनाइ छ । साथै सिरिसेबाट चुनढुँगा उत्खनन सुरु गरेको सौर्य सिमेन्ट प्रालिसँगको सहकार्यमा शिक्षक राखिने विषयमा पनि छलफल भइरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment