Comments Add Comment

यसरी शुरु भयो बजार घट्नः करको त्रासमा मारवाडी समुदाय, धमाधम सेयर बिक्री !

२१ फागुन, काठमाडौं । पछिल्लो समय बजारमा मारवाडी समुदायले लगानी गर्न छाडेको हल्ला व्यापक छ । बजार घट्यो भन्नासाथ मारवाडी समुदाय सेयर बजारबाट बाहिरिनुलाई कारण बताइने गर्छ ।

यसमा परस्पर विपरित तर्क बजारमा नदेखिएका होइनन् । आफ्नो समुदायले मात्र बजार घटाएको आरोपसँग सेयर ब्रोकर नन्दकिशोर मुन्धडा सहमत छैनन् । समग्र बजारमा १० प्रतिशत लगानीकर्ता मात्र आफ्नो समुदायका रहेको उनी बताउँछन् । भन्छन्, ‘अहिले बजार घट्दो क्रममा छ । अन्य ठूला लगानीकर्ताले पनि कारोबार घटाएका छन् ।’

उनको जस्तै तर्क छ, सोही समुदायका ब्रोकर नितेशकुमार अग्रवालको पनि । बैंकहरूमा पुँजी अभावको समस्या कायम रहेकाले बजारमा हकप्रद र एफपीओ (नयाँ सेयर) बिक्री हुन छाडेको प्रभाव बजारमा देखिएको मुन्धडा र अग्रवाल दुवैको विश्लेषण छ ।

करिब डेढ सय वर्षअघि विसं १९३० को दशक (सन् १८७३ यता) मा नेपाल भित्रिएको हो, मारवाडी समुदाय । त्यसयता नेपालको औद्योगिक र व्यापारिक क्षेत्रको विकासमा उक्त समुदायको मुख्य योगदान रहँदै आएको छ । २००७ सालमा राणा शासन हटाउन मात्र होइन, त्यसयताका हरेक राजनीतिक परिवर्तनमा उक्त समुदायको योगदान उल्लेख्य मानिन्छ ।

करको डर, धमाधम सेयर बिक्री !

एक लगानीकर्ता कम्पनीका अधिकारीका अनुसार मारवाडी समुदायबाट सेयर बिक्री बढेको भने सत्य हो । ‘कारोबारका पछिल्ला आँकडाले पनि त्यही देखाउँछन्,’ उनी भन्छन् ।

बजार घट्ने अन्य कारण कायम रहँदा उक्त समुदायमा भने करको आतंक देखिएको उनको विश्लेषण छ । उनको भनाइमा सेयर बजार अन्यभन्दा कम नियमन भएको क्षेत्र हो । र, कर वा नियमनका कुरा आउँदा बजार घट्ने गरेको छ ।

उनी भन्छन्, ‘कालो धन रोक्ने वा बजारमा त्यसबारे अध्ययन गर्ने घोषणा नियामक निकायले गर्दा बजार ओरालो लाग्नु र लगानीकर्ताहरू आतंकित देखिनु यसको उदाहरण हो ।’

उक्त समुदायका करिब ४० प्रतिशत व्यक्तिगत लगानीकर्ता रहेको मान्ने गरिएको छ । बजारमा कुनै कम्पनीले दुई सञ्चालक माग गर्दा एक जना मारवाडी समुदायकै हुने गरेका छन् । अधिकांश वाणिज्य बैंक र पुराना बीमा कम्पनीहरूमा उक्त समुदायको राम्रो लगानी पकड छ ।

कर तिर्न कम इच्छुक देखिने भएकाले उक्त समुदायबाट सेयर बिक्री बढेको आरोपसमेत लगाइने गरेको छ । त्यस्तै आरोप लगाउनेमध्येका एक लगानीकर्ता मारवाडी समुदायमा करका त्रास रहेको उल्लेख गर्छन् ।

अल्प र दीर्घकालीन कर लगाइने हल्ला

‘अहिले कर संकलन सुधारका लागि सरकारले विद्युतीय प्रणालीको प्रयोग बढाइरहेको छ,’ कमोडिटी एक्सचेन्जमा समेत संलग्न ती लगानीकर्ता भन्छन्, ‘सेयर बजारमा पनि अल्प र दीर्घकालीन लगानीमा अलग–अलग कर लगाउने सुनिन थालेको छ ।’

धितोपत्र बोर्डले भने हाल कर व्यवस्थामा परिमार्जनको कुनै विषय नउठेको बताउँदै आएको छ । तर, यो नीतिमा जानुपर्ने यसअघिदेखिकै सोच भएको बोर्डका अधिकारीहरू स्वीकार्छन् ।

‘दीर्घकालीन लगानीकर्ताले अल्पकालीनभन्दा बढी लाभ पाउनु पर्छ भन्ने हाम्रो सोच हो,’ धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी भन्छन्, ‘यसलाई हामीले प्राथमिकतामा राख्दै आए पनि नीति बनिसकेको छैन ।’

त्यस्तो व्यवस्था आएमा मारवाडी मात्र होइन, अल्पकालीन लगानी गर्ने अन्य समुदायले पनि लगानी घटाउने सम्भावना उनी औंल्याउँछन् । अर्थमन्त्री डा। युवराज खतिवडाको ‘सेयर बजारको खेलोफड्को नियन्त्रण गर्ने’ अभिव्यक्तिलाई अलग–अलग कर लगाउने आशयका रूपमा बुझेका छन्, लगानीकर्ताहरूले ।

 

याे पनि हेराैंः १४ सय मुनि आयो बजार, मारवाडी कनेक्सनदेखि व्याज दर प्रभाव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment