Comments Add Comment

प्रधानमन्त्री ओलीले भने- एमाले मुसो होइन, जो फ्याट्ट पासोमा परोस्

कम्युनिष्टलाई फुटाउँछु भन्नु सपनामा चकलेट खाएजस्तै !


२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतामा कुनै शंका नरहेको बताएका छन् । उनले केही प्रतिक्रियावादीहरुले पार्टी एकताको विरोध गरिरहेको बताएका छन् ।

पञ्चायती सरकारले ०२० साल फागुन २१ गते झापा र इलामको सीमानामा पर्ने सुखानीको जंगलमा हत्या गरेका कम्युनिष्ट योद्धाहरुको सम्मानमा आयोजित ४५ औं शहीद स्मृति दिवसका अवरमा सोमबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देश निर्माणका लागि दुवै पार्टीका नेताहरु आफ्नो स्वार्थ त्याग्न तयार रहेको बताए ।

प्रधानमन्त्री ओलीले भने- केही प्रतिक्रियावादीहरु एमालेका नेता पार्टी एकता गर्न मानेका छैनन् भनेर कुप्रचार गर्दैछन् । तर, एमालेमा सबै अनुभवी र खारिएका नेता भएकोले त्यस्ता प्रचारको कुनै अर्थ छैन ।

प्रधानमन्त्रीले अगाडि भने, ‘एमाले त्यस्तो मुसा होइन जो प्रतिक्रियावादीले थापेको पासोमा फ्याट् परोस् ।’

‘एमाले त्यस्तो मुसा होइन जो प्रतिक्रियावादीले थापेको पासोमा फ्याट् परोस् ।’

कम्युनिष्टहरुलाई फुटाएर फेरि आफ्नो राज स्थापना गर्न सकिन्छ कि भनेर कसैले सोच्नु सपनामा चकलेट खाएजस्तो मात्र हुने प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘सपना चकलेट खाएको देख्यो, व्युझिँदा मुख गुलियो हुँदैन’, ओलीले भने,’ कम्युनिष्टलाई फुटाएर आफ्नो शासन चलाउन सकिन्छ भन्ने कसैले सोचेको छ भने त्यसको हविगत सपनाको चकलेट जस्तै हुन्छ ।’

वाम गठबन्धनको बहुमतको सरकार देखेर केही मानिसहरु आत्तिएको बताउदै प्रधानमन्त्री ओलीले यसलाई विभिन्न वहानामा कमजोर पार्ने कोशिसहरु असफल हुने बताए ।

प्रधानमन्त्री ओलीले नेकपा एमाले पहिलो पार्टी, कम्युनिष्ट पार्टीको सरकार, कम्युनिष्ट पार्टीको प्रदेश र स्थानीय सरकार भन्ने बानी बसाउनुपर्ने बताए ।

सुखानीका शहीदहरुको बलिदानको स्मरण गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि शहीदहरुले देखाएको बाटोबाट आफू कहिल्यै विचलित नहुने प्रतिवद्धता जनाए ।

पञ्चायती शासकले हत्या गरेका सुखानी ५ जनाका साथै शहीद दुर्गानन्द झा, भीमदत्त पन्त लगायतलाई शहीद घोषणामा विगतका सरकारले कञ्जुस्याइँ गरेको ओलीले बताए । उनले भने- ‘दुईबर्ष अघि म प्रधानमन्त्री भएको बेला मात्र उहाँहरुलाई राज्यको तर्फबाट शहीद घोषणा गरियो ।’

तत्कालीन शासकले पञ्चायती व्यवस्थाका विरुद्ध आन्दोलन गरेको आरोपमा पक्राउ गरेका पाँच झापाली योद्धाहरु रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई सुखानीको जंगलमा लगेर गोली हानी हत्या गरेका थिए ।

एमालेले उनै योद्धाहरुको सम्झनामा प्रत्येक फागुन २१ गते शहीद स्मृति दिवस मनाउने गरेको छ ।

प्रधानमन्त्री ओलीले शहीदहरुको भावनाको उच्च कदर गरेर काम गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment