Comments Add Comment

श्रीदेवीसँगको अन्तिम रातबारे बोनी कपुरको बयान

'मृत्यूअघि सायद उनी छट्पटाइनन्'

बलिउड अभिनेत्री श्रीदेवीको ५४ वर्षको उमेरमा गत साता मृत्यू भयो । सुरुमा कार्डिक अरेस्ट कारण मृत्यू भएको बताइए पनि पछि बाथटबमा डुबेर मृत्यू भएको पुष्टि भएको थियो ।

उनको मृत्यूको घटनालाई शंकास्पद मानेर दुबई प्रहरीले अनुसन्धान पनि गर्‍यो । शंकाको सुई श्रीदेवीका पति बोनी कपुरमाथि सोझियो । तर पछि उनी निर्दोष ठहरिए ।

उनै बोनी कपुरले श्रीदेवीसँगको अन्तिम रातबारे एक फिल्म ट्रृेन्ड एनालिस्ट कोमल नाहटासँग वेलिविस्तार लगाएका छन् । नाहाटाले बोनी कपुरको बयानलाई एउटा ब्लगको रुपमा उतारेर आफ्नो टि्वटर पेजमा सेयर गरेका छन् ।

बोनी भन्छन्, ‘२४ फेबु्रअरी बिहान मैले उनीसँग कुरा गरेँ । उनले मलाई भनिन्, पापा -श्रीदेवीले बोनीलाई पापा भनेर सम्वोधन गर्थिन्) म तिमीलाई मिस गरिरहेकी छु । मैले पनि उनलाई खुब मिस गरिरहेको थिएँ । तर, मैले उनलाई भनिनँ कि बेलुकी म दुबईमा उनलाई भेट्नेछु । जान्हवीले मलाई दुबई जान प्रेरित गरेकी थिइन किनकी आमा कतै पनि एक्लै बस्न अभ्यस्त छैनन् र एक्लै हुँदा आफ्नो पासपोर्ट तथा महत्वपूर्ण कागजात हराउँछिन् भन्ने उनलाई डर थियो ।

त्यसपछि मैले दिउसो साढे तीन बजेको दुबई फ्लाइट समातेँ र बेलुकी ६ः२० तिर उनी बसिरहेको होटलमा पुगेँ । अचानक आफ्नो अगाडि मलाई देख्दा उनी अचम्भित भइन् र उनका आँखाहरु ठूल्ठूला भए । हामीले अंकमाल र चुम्बन गर्‍यौं । अनि, करिब १५ मिनेट कुराकानी गर्‍यो । त्यसपछि म फ्रेस भएर आएँ र रोमान्टिक डिनरका लागि बाहिर जाने प्रस्ताव राखे ।

मेरो त्यो प्रस्ताव उनले स्वीकारिन् र प्रसन्न मुद्रामा नुहाउनलाई मास्टर बाथरुम छिरिन् । म लिभिङ रुममा गएर बसेँ । लिभिङ रुममा म साउथ अफ्रिका र इन्डियाबीचको क्रिकेट म्याच र त्यसपछि पाकिस्तान सुपर लिग क्रिकेटको हाइलाइट हेरिरहेको थिएँ । १५-२० मिनेटसम्म पनि उनी बाथरुमबाट ननिस्किएपछि म अली बेचैन भएँ । त्यतिबेला ८ बजिसकेको थियो र शनिबार भएकाले रेस्टरेन्टहरु भरिने डर थियो ।

मैले लिभिङ रुमबाटै चिच्याएर उनलाई बोलाएँ । दुईपटक चिच्याउँदा पनि जवाफ नआएपछि मैले टिभीको भल्यूम सानो गरेँ र कान थापेँ । चाईंचुईं केही सुनिएन । त्यसपछि म उठेर बेडरुममा छिरेँ र बाथरुमको ढोका ढकढक गर्दै उनलाई ‘जान… जान…’ भन्दै बोलाएँ । तर भित्र धाराबाट पानी बगेको आवाज मात्र सुनियो । मलाई डर लाग्न थाल्यो ।

त्यसपछि मैले ढोकालाई धकेलेँ । भित्र चुकुल लागेको रहेनछ । ढोका खुल्नासाथ मैले अकल्पनीय दृष्य देख्न पुगेँ । बाथटब पानीले भरिएको थियो र त्यहाँ उनी शिरदेखि पैतलासम्म चुर्लुम्म डुबेकी थिइन् । मैले अत्तालिँदै उनलाई समाते, तर उनी चट्पटाइनन् । त्यसपछि मेरो हंशले ठाउँ छोड्यो ।

उनी पहिले डुबिन् र त्यसपछि बेहोश भइन् कि पहिले बेहोश भइन् र त्यसपछि डुबिन् भन्ने म जान्दिनँ । सायद मृत्यू हुनुअगाडि उनी धेरै छट्पटाइनन् होला । किनकी छट्पटाएको भए बाथटबबाहिर पानी पोखिएको हुन्थ्यो । तर एक थोपा पनि पानी बाहिर पोखिएको थिएन । यो रहस्य अब सायदै कहिल्यै खुल्नेछ ।’

२१ वर्षमा जान्हबी, जन्मदिन निरस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment