Comments Add Comment

साझाको ‘लो फ्लोर बस’ भोलिबाट पाटन अस्पतालदेखि न्युरोसम्म चल्ने


२२ फागुन, काठमाडौं । साझा यातायातले ल्याएको ‘सेमी लो फ्लोर’ बस भोलि बुधबारदेखि लगनखेलस्थित पाटन अस्पतालबाट बाँसबारीको न्युरो अस्पतालसम्म गुड्ने भएको छ ।

यो बस सेवfको उद्घाटन  काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गर्ने तय भएको छ । बिरामीहरुलाई लक्षित गरेर यो विशेष बस सेवा सञ्चालन गर्न लागिएको हो ।

तर,  सर्वसाधाराणले  पनि यसमा सेवा लिन पाउने साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिए ।

यो बसमा अपाङ्गता भएका व्यक्तिलाई चढ्न र ओर्लन अरुको सहयोगको आवश्यकता पर्ने छैन भने साना बालबालिका, गर्भवती महिला वा अशक्त र ज्येष्ठ नागरिकलाई पनि हैरान हुने छैन ।

यो बस चलेपछि अस्पताल जानका लागि होस् वा अन्य ठाउँमा जानका लागि होस् ज्येष्ठ नागरिक अपाङ्ग, अशक्तले कसरी पुग्ने भन्ने चिन्ता हट्ने भएको छ ।

साझा यातायातले केही हप्ताअघि पहिलोपटक होचो (सेमी लो फ्लोर) भएको ल्याएको थियो । साझाले पाटन अस्पताल, निदान हस्पिटल, त्रिपुरेश्वरको आँखा अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल, शिक्षण अस्पताल हुँदै बासबारीको गंगालाल र न्युरो अस्पतालसम्मको रुटमा सेवा दिन लागेको हो ।


साझाले टेडरमार्फत झण्डै ३५ लाख रुपैयाँमा भित्राएको यो बसमा ४१ जनाले सिटमै बसेर यात्रा गर्न सक्छन् । भारतीय कम्पनी अशोक लेल्याण्डले सहुलियत दरमा बस ल्याएको यो बस अरु बसको तुलनामा धेरै महँगो पर्छ ।

होचो बस भएकाले यो खाल्डाखुल्डी सडकमा गुड्न सक्दैन । लगनखेलबाट बाँसबारीसम्म सडक तुलनात्मक रुपमा अन्यभन्दा राम्रो भएकाले पनि यो रुटलाई रोजेको हो । साझाका अरु बसमा जस्तै यसमा पनि ७० वर्ष कटेका ज्येष्ठ नागरिकले निःशुल्क रुपमा यात्रा गर्न पाउने छन् ।

बसमा एउटा मात्रै खुडि्कलो हुन्छ ,जसले गर्दा बिरामी र अपाङता भएका व्यक्ति सजिलै उक्लन-ओर्लन सक्छन् । यसमा एक खुडकिलो मात्रै फोल्ड गरिएको र्‍याम छ । यसमार्फत हृविलचेयर पनि सजिलै उक्लन र ओर्लन सक्ने साझाले जनाएको छ ।

यसमा ‘क’ र ‘ख’ वर्गका अपाङ्ग र पाँच वर्षका बालबालिकाले निःशुल्क रुपमा यात्रा गर्न पाउँछन् । साझाले उपत्यकाभित्र चल्ने र बाहिरका लागि गरेर २९ वटा नयाँ बस ल्याउन लागेको छ । २५ वटा सिटी र ४ टा डिलक्स ल्याएपछि साझा बसेको संख्या ७५ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment