Comments Add Comment

संसदको राजनीतिक दृश्य : कोही फकाउने, कोही निदाउने !

कांग्रेसको मन मधेसवादीमा, मधेसीको मन केपी ओलीमा

२२ फागुन, काठमाडौं । सोमबारबाट सुरु भएको प्रतिनिधिसभाको अधिवेशनको दोस्रो दिन मंगलबार दलका शीर्षनेताहरुले रोष्टमबाट सम्वोधन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिने कार्यक्रम थियो ।

तर, प्रधानमन्त्रीलाई धन्यवाद दिने आफ्नो सम्वोधनमै नेताहरुवीच ‘साम-दाम…’ नीतिसमेत प्रयोग गर्ने प्रयासहरु भए ।

संसदमा शीर्षनेताहरुको सम्वोधन सुन्दा अब देशका प्रमुख राजनीतिक दलहरुका एजेण्डा के हुन् भन्ने अनुमान लगाउन सजिलो हुने देखिएको छ ।

सत्तापक्षले सरकार सञ्चालनमा विपक्षीबाट अवरोध नहोस् भन्ने तीव्र चाहना राखेको देखियो भने प्रतिपक्षले चाहिँ ओली सरकारलाई हनिमुनसम्म मनाउन नदिई कडारुपमा प्रस्तुत हुने संकेत गरेको पाइयो । भलै संविधान संशोधन र शान्ति प्रक्रियामा चाहिँ कांग्रेसले वाम सरकारलाई सघाउने बतायो ।

मधेसवादी दलहरुले संविधान संशोधन हुनुपर्ने र सिंहदरबारले आफूहरुलाई पनि सम्झनुपर्ने भन्दै सरकारमा समेट्न मनसाय प्रकट गरेको संकेत नेताहरुको सम्वोधनमा प्रकट भयो ।

रोचक चाहिँ के देखियो भने संसदमा एक अर्कालाई फकाउनका लागि नेताबीच प्रतिस्पर्धा नै चल्यो ।

कांग्रेसले मधेसप्रति एकतर्फी माया देखाएको पाइयो । तर मधेसी नेताहरुले भने कांग्रेसलाई कुनै भाउ दिएनन् । बरु, घुमाई-फिराई उनीहरु प्रधानमन्त्रीलाई खुशी बनाउन र सरकारमा जान तल्लीन देखिए ।

एमालेले विपक्षीबाट रचनात्मक काम हुनुपर्छ भन्दै कांग्रेसलाई फकाउन खोजिरहेको थियो भने कांग्रेसले संविधान संशोधन हुनुपर्छ भन्दै मधेसवादीलाई फकाउने प्रयास गरेको स्पष्टै देख्न सकिन्थ्यो ।

माओवादीले अब हिंसाको बाटोबाट सफल भइन्न भन्दै विप्लव माओवादीलाई सम्झाउने प्रयत्न संसदबाट गरेको देखिन्थ्यो । उता मधेसवादी नेताहरुले चाहिँ प्रधानमन्त्री केपी ओलीलाई राम्रैसँग फकाएको देखियो ।

विपक्षीलाई सम्झाउँदै एमाले

बैठकको सुरुमै सबैभन्दा ठूलो सत्तारुढ दल नेकपा एमालेका तर्फबाट पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसदलाई सम्वोधन गरे ।

सम्वोधनका क्रममा उनले विपक्षीहरुलाई रचनात्मक हुन र सरकारले उठाएका राम्रा कामलाई समर्थन जनाउन आग्रह गरे । विरोधका लागि मात्रै विरोध गर्न भन्दै उनले विपक्षीलाई सम्झाउने प्रयास गरेको देखिन्थ्यो ।

सम्वोधनका क्रममा एमाले नेता नेपालले प्रधानमन्त्रीलाई शक्तिशाली बनाउनुपर्ने र संसदीय समिति, अख्तियार, अनि अदालतले प्रधानमन्त्रीको खुट्टा तान्ने काम गर्न नहुने आशय प्रकट गरे ।

देशमा हुने राम्रा र नराम्रा सबै कामको जश र अपजस सरकारले लिने भएकाले सरकारलाई यसो गर र उसो नगर भनेर अप्ठ्यारो पार्न नहुने नेता नेपालको आशय थियो । एमाले नेता नेपालले अदालत र अख्तियारको नामै लिएर संसदमा बोलेका थिए ।

एमाले नेता नेपालको प्रस्तुती हेर्दा उनीभित्र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस ओली सरकारप्रति आक्रामक रुपमा प्रस्तुत हुने हो कि भन्ने शंसय देखिन्थ्यो ।

सम्वोधनमा निकै समय खर्च गरेका एमाले नेता नेपालले मधेसवादी दलहरुका बारेमा भने खासै धेरै बोलेनन् । बरु उनले डुब्न लागेको देशलाई एउटा माझी चाहिएको र एउटा मान्छेको खोजी भइरहेको भन्दै भावुक भाषण गरे ।

एमाले नेता नेपालले विपक्षी दल नेपाली कांग्रेसलाई आवश्स्त पार्ने प्रयास गर्दै वामपन्थीको सरकार बन्दैमा लोकतन्त्रलाई प्रतिकुल असर नपर्ने बताए ।

कम्युनिष्टहरु लोकपि्रय भएकाले जनताले जिताएको भन्दै नेता नेपालले वामपन्थीहरु लोकतन्त्रप्रति प्रतिवद्ध भएको बताए । उनको यो ‘प्रतिवद्धता’ पनि प्रमुख विपक्षी कांग्रेसलाई फकाउनेतर्फ नै लक्षित थियो ।

संविधान संशोधनमा कांग्रेसको जोड

एमाले नेता माधव नेपालले बोलिसकेपछि संसदमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले मन्तव्य दिए ।

सोमबार संसदीय दलको नेतामा निर्वाचित भएकै दिन देउवाले सरकारलाई सय दिन हनिमुनसमेत मनाउन नदिने बताएका थिए ।

मंगलबार संसदमा सम्वोधन गर्ने क्रममा पनि देउवा सरकारको आलोचना गरे । तर, आफूहरु शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारलाई सघाउन तयार रहेको उनले बताए ।

संसदमा बोल्ने क्रममा देउवाले प्रधानमन्त्री केपी ओलीलाई बधाइ दिए । ‘देउवाले चुनावै गराउँदैन भन्नुहुन्थ्यो, अहिले प्रधानमन्त्री हुनुहभएको छ’ भन्दै उनले ओलीलाई बधाइ दिए ।

आफ्नो सम्वोधनमा कांग्रेस सभापति देउवाले मधेसी दलका नेतालाई फकाउने प्रयास गरे । उनले संविधान संशोधन हुनैपर्ने र सर्वस्वीकार्य बनाइनुपर्नेमा विशेष जोड दिए । देउवाले संविधानमा मधेसीहरुको भावनालाई समेट्न संशोधन गर्न सरकार तयार रहेको भन्दै खुशी प्रकट गरे ।

देउवाले संविधानका आधारभूत संरचनाहरु परिवर्तन नगर्न, अदालतलाई नधम्क्याउन र प्रेसलाई नतर्साउन सरकारलाई चेतावनीसमेत दिन भ्याए ।

तर, यससँगै देउवाले संविधानका आधारभूत संरचनाहरु परिवर्तन नगर्न, अदालतलाई नधम्क्याउन र प्रेसलाई नतर्साउन सरकारलाई चेतावनीसमेत दिन भ्याए ।

सरकारमाथि कांग्रेस सभापति देउवाले लगाएका आरोपहरु यस्ता थिए कि सरकार अदालत र प्रेसलाई तर्साइरहेको छ अनि संविधानका आधारभूत संरचनाहरुलाई भत्काइरहेको छ ।

शेरबहादुर देउवाभन्दा पछाडि संसदलाई सम्वोधन गरेका सत्तारुढ दलका नेता प्रचण्डले विपक्षी दलका नेताका आरोपहरुको कुनै खण्डन गरेनन् । बरु, संविधान संशोधन हुनुपर्ने देउवाको भनाइमा हाँमा हाँ मिलाउँदै प्रचण्डले आफू मध्यविन्दूको नेता भएको दाबी गरे ।

माओवादीः मध्युविन्दुमा बसेर विप्लवलाई सम्झाउँदै

एकाध महिनामा एमालेसँग पार्टी एकता गर्न लागेको नेकपा माओवादी केन्द्रका नेता प्रचण्डको संसदको सम्वोधन पनि स्मरण गर्न लायक थियो । उनले आफ्नो सम्वोधनमा माओवादी पार्टी र आफूले खेलेको ऐतिहासिक भूमिकाबारे बोल्न छुटाएनन् ।

अब हिंसाको बाटोबाट कोही पनि सफल नहुने भन्दै प्रचण्डले हिंसात्मक बाटोविनै परिवर्तनलाई संविधानले मार्गप्रशस्त गरेको बताए । उनले सबैलाई हिंसाको बाटो छाडेर प्रतिस्पर्धात्मक बाटोमा आउन आग्रह गरे । उनको यो संकेत विप्लव समूहतिर लक्षित थियो ।

सम्वोधनका क्रममा प्रचण्डले सबैले मिलेर देशलाई एकतावद्ध बनाउँदै समृद्धिको बाटोमा जानुपर्ने बताए । एकहातले ताली बज्दैन भन्दै उनले शान्ति प्रक्रियामा कांग्रेसले खेलेको भूमिकालाई पनि सम्झे ।

प्रचण्डले आफू सधैं नेपाली राजनीतिको मध्यविन्दु र केन्द्रविन्दुमा रहेको बताउँदै संविधानलाई सर्वस्वीकार्य बनाउन सरकारले संविधान संशोधन गर्नुपर्ने बताए ।

एमाले नेता माधव नेपालले जसरी कांग्रेसलाई सम्झाउने प्रयास गरेका थिए, प्रचण्डले चाहिँ विप्लव माओवादीको नाम नलिई उसलाई सम्झाउने प्रयास गरे ।

सम्वोधनका क्रममा एमाले नेता माधव नेपालले जसरी कांग्रेसलाई सम्झाउने प्रयास गरेका थिए, प्रचण्डले चाहिँ विप्वल माओवादीको नाम नलिई उसलाई सम्झाउने प्रयास गरे ।

संसदमा माओवादी नेताको प्रस्तुति एमाले नेताको भन्दा यसअर्थमा फरक थियो कि प्रचण्डले संविधान संशोधनको वकालत गरे, माधव नेपालले त्यसबारे बोलेनन् ।

ओलीलाई खुशी पार्दै मधेसी नेता

संसदमा राजपा नेता राजेन्द्र महतो र फोरम नेता उपेन्द्र यादवले पनि सम्वोधन गरेका थिए । दुई नेताले बेग्लाबेग्लै भाषामा सम्वोधन गरेका भएता पनि सम्वोधनको भावचाहिँ दुबैको लगभग एउटै थियो ।

मधेस र पहाड सबैलाई सम्वोधन गरेर सरकारले कसैलाई भेदभाव नगरी अघि बढ्नुपर्ने महतो र यादव दुबै नेताको सार थियो ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ । राजपा पनि सरकारमा जाने मुडमा देखिएको छ ।

यो अवस्थामा मधेसवादी दलका नेताले सरकारलाई कांग्रेसले जस्तो कुनै धम्की दिएनन् । उनीहरुले ओली सरकारको आलोचना पनि गरेनन् ।

संविधान संशोधन भएन र मधेसलाई सम्मानजनक व्यवहार भएन भने आन्दोलन र लडाइँँ जारी रहनसक्ने भन्दै ‘सफ्ट’ धम्कीको प्रयोग गर्दै मधेसवादी नेताहरुले ओलीसँगै मिलेर अघि बढ्न तयार रहेको बताए ।

संविधान संशोधन गर्ने र मधेसलाई पनि समेटेर अघि बढ्ने हो भने केपी ओलीलाई साथ दिन आफूहरु तयार रहेको राजपा नेता महतोले बताउँदा प्रधानमन्त्री ओलीले उनको भाषण गम्भीरतापूर्वक सुनिरहेका थिए ।

कांग्रेस र मधेसी दलवीच एकतर्फी प्रेम !

मंगलबारको संसद बैठकमा देखिएको रोचक राजनीतिक परिदृश्य के हो भने कांग्रेसले मधेसप्रति एकतर्फी माया देखाएको पाइयो । तर मधेसी नेताहरुले भने कांग्रेसलाई कुनै भाउ दिएनन् । बरु, घुमाई-फिराई उनीहरु प्रधानमन्त्रीलाई खुशी बनाउन र सरकारमा जान तल्लीन देखिए ।

कांग्रेस नेता देउवाले आफ्नो भाषणमा संविधानलाई सर्वस्वीकार्य बनाइनुपर्ने, मधेसीका मागहरु समेटिनुपर्ने कुरा उठाएर मधेसी दलको ध्यान आफूतिर तान्न खोजेका थिए ।

मंगलबारको संसद बैठकमा विद्रोह र आगो बाल्ने कुरा कमै सुनिए । बरु त्यसको सट्टामा विकास अनि समृद्धिका शब्दहरु बढी सुन्न पाइयो ।

तर, मधेसी नेताहरुले चाहिँ सरकारले मधेसलाई पनि समेट्नुपर्ने भन्दै सरकारमा जान खोजेको स्पष्टै देखिन्थ्यो नेताहरुको अभिव्यक्तिबाट ।

समृद्धिको भाषण !

मंगलबारको संसद बैठकमा विद्रोह र आगो बाल्ने कुरा कमै सुनिए । बरु त्यसको सट्टामा विकास अनि समृद्धिका शब्दहरु बढी सुन्न पाइयो ।

राजपा नेता राजेन्द्र महतोले विगतमा आफ्ना हरेक भाषणमा मधेसले अधिकार नपाएको, आन्दोलन जरुरी रहेको र संघर्ष नगरी मधेसले अधिकार नपाउने आदि पदावलिहरु प्रयोग गर्थे । तर, मंगलबार संसदमा उनी विकासवादी नेताका रुपमा प्रस्तुत भए ।

राजपा नेता महतोले देश धनी भयो भने जनताले अधिकार पाउने र मधेसले पनि अधिकार पाउने बताए । अहिले विवाद बढाउने समय होइन भन्दै महतोले अब मधेस, हिमाल, पहाड सबैतिरका जनताले के चाहन्छन् भन्ने बुझेर समृद्धि एवं विकासतिर लाग्नुपर्ने बताए ।

सम्वोधनका क्रममा उपेन्द्र यादवले पनि स्रोत साधनहरुले सम्पन्न देशलाई समृद्धितर्फ अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

अरुबेला राजनीतिक एजेण्डाहरु र अरुको आलोचनामा मात्रै समय खर्चिने नेताहरुले मंगलबारको सम्वोधनमा विकास र समृद्धिका पक्षमा समय खर्चनुलाई उनीहरुमा आएको सकारात्मक परिवर्तन मान्न सकिन्छ ।

निदाउनेे र भत्ता पचाउने थलो !

बैठकमा भत्ता पचाउनकै लागि हाजिर गरेर बाहिरिने अनि कुर्सीहरु खाली बनाउने रोग पनि प्रतिनिधिसभा बैठकको प्रारम्भबाटै भित्रिएको छ, नयाँ बानेश्वरमा ।

त्यसो त संसदलाई कतिपय राजनीतिशास्त्रीहरुले ‘गफ गर्ने अखडा’का रुपमा पनि आलोचना गर्दैर् आएका छन् । जनताको प्रतिनिधित्व हुने यो थलोलाई कामकाजी बनाउन नसक्दा यस्ता आलोचना हुने गरेका हुन् ।

मंगलबारको बैठकमा पनि केही सांसदहरुले संसद बैठकलाई सुत्ने थलोका रुपमा प्रयोग गरेको देख्न पाइयो ।

बैठकलाई शीर्षनेताहरुले सम्वोधन गरिरहँदा कतिपय सांसदहरु निदाइरहेका थिए । कोही ठूलो मुख बाएर हाई काढिरहेका थिए भने कोही मोबाइल खेलाइरहेका अवस्थामा देखिए ।

बैठकमा भत्ता पचाउनकै लागि हाजिर गरेर बाहिरिने अनि कुर्सीहरु खाली बनाउने रोग पनि प्रतिनिधिसभा बैठकको प्रारम्भबाटै भित्रिएको छ, नयाँ बानेश्वरमा ।

मंगलबारको बैठकमा नेकपा एमालेका तर्फबाट माधवकुमार नेपाल, नेपाली कांग्रेसका शेरबहादुर देउवा, माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय जनता पार्टीका राजेन्द्र महतो र संघीय समाजवादी फोरमका उपेन्ऽ यादवले सम्वोधन गरेका थिए ।

त्यसैगरी राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिङदेनले पनि प्रधानमन्त्री केपी ओलीलाई शुभकामना दिएका थिए । नयाँशक्ति पार्टीका डा. बाबुराम भट्टराई भने संसदमा उपस्थित नभएकाले बोलेनन् ।

यो पनि पढ्नुस् : 

प्रधानमन्त्रीको खुट्टा बाँध्नुहुँदैनः माधव नेपाल

संसदलाई देउवाको सम्बोधन– संविधान संशोधनमा सहयोग गर्छौं

माधव नेपाललाई देउवाको जवाफः प्रधानमन्त्रीलाई खुसी पार्न खोज्नुभो, ठीकै छ !

संसदमा प्रचण्डको प्रश्न- ठग र भ्रष्टाचारीलाई कसले ठेगान लगाउने ?

ओली-प्रचण्डलाई महतोको आग्रह : जनताले ठूलो पार्टी बनाए, मन पनि ठूलो बनाउनुस्

संसदमै झण्डै छुटे राजेन्द्र लिङ्देन !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment